सप्तरीमा एकै घरका दुई दाजुभाइ एकैपटक बेहोसः भाईको मृत्यु, दाजुको उपचार हुँदै

राजविराज— सप्तरीको शम्भुनाथ नगरपालिका–१ मा एकै घरका दाजुभाइ अचानक बेहोस भएपछि एकजनाको मृत्यु भएको छ भने अर्काको उपचार भइरहेको छ। आकस्मिक रूपमा सिकिस्त बनेका शम्भुनाथ नगरपालिका–१ निवासी किसुनदेव यादवका छोरा १३ वर्षीय राकेश यादवको उपचारको अवसर नै नपाई मृत्यु भएको हो। उनका १६ वर्षीय दाजु रुपेश यादव भने अहिले लहानस्थित एक अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार घटना शनिबार बिहानको हो। ‘राकेश बिहान क्रिकेट खेलेर घर फर्किएका थिए, रुपेश घरमै रहेछन्,’ पुरीले भने, ‘आमाले खाना खान बोलाउनुभएपछि दुवै छोराले तयारी गर्दै गर्दा अचानक राकेश ढलेछन्। केही क्षणमै दाजु रुपेश पनि बेहोस भएर लडे।’

बेहोस भएका दुवैलाई तत्काल छिन्नमस्ता अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले राकेशलाई मृत घोषणा गरेका थिए। रुपेश भने उपचारपछि क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

दुवै दाजुभाइ एकैपटक कसरी बेहोस भए र यसरी अवस्था बिग्रियो ? भन्ने कारण खुल्न बाँकी छ। ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता खुल्छ,’ डीएसपी पुरीले भने, ‘हामी घटनाको कारण पहिचान गर्न थप अनुसन्धान गरिरहेका छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट