चुनाव नजिकिएपछि जसपाले सम्झियो मुद्दा र मागः देशभर विरोध प्रदर्शन र धर्नाको आयोजना

राजविराज— चुनाव नजिकिएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पार्टीले निर्वाचन र सडक सङ्घर्षलाई समानान्तर रूपमा अघि बढाउने घोषणा गरेको हो।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले चुनावी तयारीलाई सडक कार्यक्रमसँगै जोडेर सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए। बस्नेतका अनुसार जसपाले मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछ।

त्यसपछि मंसिर ११देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका सहर–बजारमा विरोध कार्यक्रम, कोणसभा र जनपरिचालन सञ्चालन गरिनेछ। मंसिर १९ देखि २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना हुनेछ।

त्यसपछि मंसिर २७ देखि पुस ४ सम्म देशभर जिल्लास्तरीय विरोधसभा र जनसभा आयोजना गर्ने योजना छ। जसपाले प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोधसभाको तालिका पनि सार्वजनिक गरेको छ। कार्यक्रमअनुसार पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते नेपालगञ्ज र भैरहवामा वृहद जनप्रदर्शन आयोजना हुनेछन्।

बस्नेतका अनुसार पार्टीले विगतदेखि उठाउँदै आएका माग–मुद्दामा सरकार कुनै पनि रूपमा सकारात्मक नदेखिएकाले जसपालाई सडक सङ्घर्षमा जान बाध्य हुन परेको हो। आवश्यकता परेमा सम्बन्धित जिल्ला र प्रदेश समितिले स्थानीय आवश्यकताअनुसार थप विरोध कार्यक्रम निर्णय गरी सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको जसपाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट