विराटनगरका सरकारी कार्यालय आगजनीमा संलग्न पूर्वसांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ

विराटनगर– जेन–जी आन्दोलनकाका क्रममा भदौ २४ गते मोरङका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी प्रकरणमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन्। प्रहरीले अन्सारीसहित पाँचजनालाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको जनाएको छ।
मोरङ प्रहरीका अनुसार पक्राउ परेकामध्ये ताजिम अन्सारीसँगै महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पनि छन्। यी सबैलाई मोरङ जिल्ला अदालत, विराटनगर महानगरपालिका र अन्य सरकारी संरचनामा आगजनी तथा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो।

ताजिम अन्सारी विघटित प्रतिनिधिसभामा माओवादी केन्द्र (हाल नेकपा)का सांसद अमनलाल मोदीका स्वकीय सचिवका रूपमा काम गरेका व्यक्ति हुन्। मोदी मन्त्री रहेका बेला पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थिए। आन्दोलनका क्रममा अन्सारी प्रत्यक्ष संलग्न रहेको प्रमाणस्वरूप विभिन्न भिडियो सामग्री सार्वजनिक भइसकेका छन्।

ती भिडियोमा अन्सारी नेपाल प्रहरीको टोपी लगाएर कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडमा सहभागी देखिन्छन्। प्रहरी स्रोतका अनुसार आइतबार पक्राउ परेका पाँचै जनाको मोरङका अदालत तथा महानगरपालिकाका भवनमा मात्र नभई विराटनगरका अन्य सरकारी संरचनामा गरिएको आगजनीमा पनि संलग्नता देखिएको छ।

सुरक्षा निकायले अन्सारी समूहले आन्दोलनमा घुसपैठ गर्दै युवाहरूलाई अराजक गतिविधिमा उक्साएको आरोप लगाएको छ। मोरङमा भएको आगजनी प्रकरणमा यसअघि नै २१ जना पक्राउ परिसकेका छन्।

घटनाबारे पूर्वसांसद अमनलाल मोदीले अन्सारीसँग अहिले कुनै औपचारिक सम्बन्ध नरहेको दाबी गरेका छन्। उनले भने, ‘म मन्त्री हुँदा उ स्वकीय सचिव थियो। तर अहिले छैन। अहिले विनोद सिंह छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट