विराटनगरका क्यासिनोमा मध्यराति प्रहरीको छापाः व्यवस्थापकसहित २० जना पक्राउ

विराटनगर— नेपालमा क्यासिनोहरू नेपालीका लागि निषेधित क्षेत्र मानिन्छन्। तर यही कानुनी बन्देजलाई बेवास्ता गर्दै विराटनगरका क्यासिनोहरुमा लामो समयदेखि खुलेआम नेपाली नागरिक प्रवेश गराइँदै आएको खुलासा भएपछि प्रहरीले कडा कदम चालेको छ।

आइतबार मध्यराति गरिएको विशेष अपरेशनमा विराटनगरका दुई ठूला क्यासिनोबाट व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगरस्थित बिग होटलभित्र सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’ र रत्ना होटलभित्र सञ्चालित ‘गोल्डेन क्यासिनो’ मा एकैसाथ छापा मारेको थियो।

छापामन क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका एसपी कबित कट्वालले जानकारी दिए। पक्राउ पर्नेहरूमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम समेत छन्।

प्रहरीले उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ। प्रहरीका अनुसार क्यासिनोमा नेपाली प्रवेश निषेध हुँदाहुँदै पनि विराटनगरका यी क्यासिनोहरूमा नेपालीको सहज आवतजावत भइरहेको थियो। यही कारण पटक–पटक झगडा, कुटपिट र आपराधिक गतिविधि भएको तथ्य पनि प्रहरीको अनुसन्धानमा देखिएको छ।

यसअघि पनि क्यासिनोभित्रका विवादले हिंसात्मक रूप लिएका उदाहरण छन्। गत चैत ३ गते रत्ना होटलको क्यासिनो परिसरमा अभिषेक गिरीको समूह र किरण लामा तथा रोनाल कँडेलको समूहबीच कुटाकुट हुँदा तीन जना घाइते भएका थिए। त्यसैगरी, २०८० पुस २८ गते बिग होटलको क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवाद बाहिरसम्म फैलिँदा दुई समूहबीच खुकुरी हानाहान भएको थियो।

उक्त घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल गम्भीर घाइते भएका थिए। बारम्बारका झडप, नेपाली नागरिकको अवैध प्रवेश र व्यवस्थापन तहकै संलग्नताले विराटनगरका क्यासिनोहरू नियमनभन्दा बाहिर गएको देखिएको छ। प्रहरीको पछिल्लो कारबाहीले क्यासिनो सञ्चालनमा रहेको बेथिति र कानुनको खुला उल्लङ्घनमाथि प्रश्न उठाएको छ।

प्रहरीले अब क्यासिनोहरूको सञ्चालन, प्रवेश व्यवस्था र व्यवस्थापन तहको भूमिकामाथि थप अनुसन्धान अघि बढाउने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट