एयरपोर्टको फोटो फेसवुकमा हालेर ‘म अमेरिका पुगेँ’ भनेका ढुंगेलले काठमाडौँमा रगतको होली खेलेपछि…
काठमाडौँ– श्रीमतीलाई जापान पठाएको ११ लाख ऋण नतिर्न २ दिनभित्र जेठानसहित २ जनाको हत्या गर्ने सिन्धुलीका देवराज ढुंगेल घरपरिवार र आफन्तलाई ‘म अमेरिका पुगेँ’ भन्दै काठमाडौँमा बसेको खुलासा भएको छ।
ढुंगेल वास्तवमा काठमाडौँमै पुरेत्याइँ (पण्डित्याइँ) गरेर बसिरहेका थिए। योजनावद्ध रुपमा आफ्नै जेठानसहित दुई जनाको निर्मम हत्या गरेको सनसनीपूर्ण तथ्य सहित प्रहरीले उनको विदेश गएको नाटक र सामाजिक सञ्जालको दुरुपयोग गरी छलकपट गरेको तथ्य पनि सार्वजनिक गरेको हो।
सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय ढुंगेल श्रीमतीलाई जापान पठाउने क्रममा लागेको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि आपराधिक बाटो रोज्न पुगेका थिए। उनले जेठान सिन्धुलीकै गोलन्जोर गाउँपालिका निवासी २५ वर्षीय केशवराज हायुसँग ६ लाख र भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राईसँग ५ लाख गरी ११ लाख रुपैयाँ ऋण लिएका थिए।
केशवराजले फार्म हाउस बिक्री गरेर पाएको रकम ढुंगेललाई दिएका थिए भने पारुहाङ पनि सोही फार्म हाउसका साझेदार थिए। विदेश जाने तयारी थालेपछि केशवराजले ढुंगेलसँग रकम फिर्ता माग्न थाले। त्यसपछि ढुंगेल दबाबमा पर्न थाले। तर ऋण फिर्ता गर्ने क्षमता र इच्छादुवै कमजोर हुँदै गएपछि उनले ऋण तिर्ने होइन, ऋणदाता नै सिध्याउने योजना बनाएको प्रहरीको निष्कर्ष छ।
उनले निकै अघिदेखि नै आफू ‘अमेरिका गएको’ झूटो कथा बनाएका थिए। २०८१ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तस्बिर फेसबुकमा पोस्ट गर्दै उनले अमेरिका उडेको नाटक गरे। त्यसपछि परिवारसँग सिधा फोन सम्पर्क तोडे र सामाजिक सञ्जालमार्फत मात्र संवाद गर्न थाले। गाउँ र आफन्तमा उनी विदेशमै भएको भ्रम फैलियो।
तर वास्तविकता फरक थियो—ढुंगेल काठमाडौँ र ललितपुर क्षेत्रमै बसेर पुरेत्याइँ गर्दै जीवनयापन गरिरहेका थिए। यसैक्रममा पैसाको दबाब पर्न थालेपछि उनले आफ्ना बाल्यकालका साथी, सुनकोशी गाउँपालिकाकै २० वर्षीय जयराम अधिकारीलाई ललितपुर बोलाए। जयराम पनि आर्थिक समस्यामा थिए। २ लाख ऋण तिरिदिने आश्वासन दिएपछि उनलाई योजनामा सामेल गराइएको प्रहरीको भनाइ छ।
मंसिर २४ गते ‘घुम्न र रक्सी खान जाने’ बहानामा ढुंगेलले आफ्नै जेठान केशवराजलाई ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगल लगे। मदिराले लठ्याएपछि उनको मुख टेपले बाँधेर ह्याम्मरले टाउकोमा प्रहार गरी हत्या गरिएको अनुसन्धानमा खुलेको छ।
पहिलो हत्या सफल भएपछि ढुंगेल ६ लाख ऋणबाट मुक्त भए। तर पारुहाङसँग लिएको ५ लाख रुपैयाँ अझै बाँकी रहेकाले भोलिपल्ट दोस्रो हत्या गर्ने निर्णय गरियो। मंसिर २५ गते पारुहाङलाई पनि सोही जंगल क्षेत्रमा बोलाएर मदिरा सेवन गराइयो र त्यसपछि उनको पनि ह्याम्मरले प्रहार गरी हत्या गरियो।
शवहरू बोरामा प्याक गरेर जंगल र इनारमा फ्याँक्दै प्रमाण लुकाउने प्रयास गरिएको थियो। हत्या पछि पारुहाङको मोबाइल प्रयोग गरी नयाँ फेसबुक आइडी बनाएर उनकी दिदीलाई ‘म भारत गएको छु, एक वर्षपछि फर्किन्छु’ भन्ने सन्देश पठाइयो। यसले उनीहरू जीवितै छन् भन्ने भ्रम सिर्जना गर्ने प्रयास भएको प्रहरी अनुसन्धानमा देखिएको छ।
उता केशवराज बेपत्ता भएपछि शंका बढ्न थाल्यो। ढुंगेल झस्किन थाले। सुरुमा जंगलमै छाडिएको शव फेला पर्न सक्ने डरले पछि इनारमा फ्याँकिएको तथ्य पनि अनुसन्धानमा खुलेको छ। पुस २ गते ललितपुरको लुभुस्थित तरकारी फार्मको इनारमा शव भेटिएपछि घटनाले नयाँ मोड लियो।
घटनास्थल नजिक भेटिएका चप्पल, भिडियो फुटेज, ढुंगेलको अचानक डेरा परिवर्तन र उनको कोठाबाट बरामद रगत लागेको कपडा, ह्याम्मर र टेपले प्रहरीको शंका बलियो बनायो। सुरुमा सबै आरोप अस्वीकार गरेका ढुंगेल अन्ततः प्राविधिक प्रमाण र सहयोगी जयरामको बयानपछि जघन्य अपराधको केन्द्रमा देखिए।
प्रहरीले देवराज ढुंगेल र जयराम अधिकारीलाई नियन्त्रणमा लिएर दोहोरो हत्याको अभियोगमा अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमै घटना पूर्ण रूपमा योजनाबद्ध, आर्थिक स्वार्थबाट प्रेरित र प्रमाण लुकाउने उद्देश्यसहित गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ।
अमेरिका गएको नाटक, सामाजिक सञ्जालको दुरुपयोग र पुरेत्याइँको आडमा लुक्दै हिँडेको जीवन अन्ततः अपराधकै बोझले च्यापिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ। ऋण, झूट र लोभको श्रृंखलाले कसरी आफ्नै नातासम्बन्ध र निर्दोष जीवनसमेत समाप्त गरिदिन्छ भन्ने भयावह उदाहरणका रूपमा यो घटना समाज अगाडि उभिएको छ।

