आसेपासे र सुरक्षागार्डबाटै अख्तियार प्रमुखको हत्या गराउने इजीएनको रणनीति, २ करोड इनामको घोषणा

काठमाडौँ— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको हत्या गर्ने धम्की दिएको ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (इजीएन)’ ले आफुले धम्की पुरा गर्न नसकेपछि उनकै आसेपासे र सुरक्षा गार्डबाट हत्या गराउने रणनीति अख्तियार गरेको छ।

इजीएनले यसअघि आयोगको आधिकारिक इमेलमा राईलाई मार्ने धम्की पठाइएको थियो। यसपटक सामाजिक सञ्जालमार्फत राईको हत्याका लागि उनकै आसपासका ब्यक्तिलाई उक्साईएको छ। आफूलाई ‘इजीएन’को चेयरम्यान बताउने प्रकाश पाठकले आईतबार सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गर्दै राईको टाउकोमा गोली ठोक्ने व्यक्तिलाई दुई करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

उनले विशेषतः राईको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गर्दै हत्या गर्न उक्साएको देखिन्छ। पाठकले स्ट्याटसमा लेखेका छन्, ‘राईको वरिपरि खटिएका सुरक्षाकर्मी साथीहरू, यदि तपाईं सच्चा देशभक्त हुनुहुन्छ भने प्रेम राईको टाउकोमा गोली ठोक्नुहोस्, अनि ‘इजीएन’को नाम लिएर सरेन्डर गर्नुहोस्। तपाईंको परिवारलाई दुई करोड इनाम दिइनेछ। हाम्रो अनुकूलको सरकार भएकाले धेरै समय जेल बस्नुपर्दैन।’

उनले प्रमुख आयुक्त राई सुरक्षाको घेरामा ढुक्कले बसे पनि ‘ढिलोचाँडो मारिनै पर्ने’ भन्दै खुला धम्की दिएका छन्। सार्वजनिक रूपमा हत्या गर्न आह्वान गर्दै पुरस्कार घोषणा गरिनु राज्यको कानुनी शासनमाथि नै चुनौती भएको सुरक्षा विज्ञहरूको टिप्पणी छ।

यसअघि सोही समूहले अख्तियारको इमेलमा धम्की पठाउँदै राईसहित १० जनालाई मार्ने योजना बनाएको उल्लेख गरेको थियो। उक्त इमेलमा ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ, त्यसमा तपाईंको नाम पनि छ। १० दिनभित्र राजीनामा दिनुहोस्, अन्यथा अन्तिम इच्छा पूरा गर्न तयार रहनुहोस्,’ भनेर लेखिएको थियो।

लगातार सार्वजनिक रूपमा ज्यान मार्ने धम्की आउँदा पनि सम्बन्धित निकायबाट अहिलेसम्म औपचारिक धारणा सार्वजनिक भइसकेको छैन। यता, उच्च तहका संवैधानिक पदाधिकारीमाथि खुला हत्या आह्वान हुनु गम्भीर आपराधिक विषय भएको भन्दै सुरक्षा सतर्कता बढाउनुपर्ने आवाज बलियो बन्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट