‘छौरा’ शब्दले हल्लिएको एमालेः केन्द्रको एक बोलीले मधेशमा भूकम्प, किन डराए सुमनराज प्याकुरेल ?

राजविराज — राष्ट्रिय स्वतन्त्र पार्टीले गत सोमबार जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर तथा झापा–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन)ले प्रयोग गरेको एउटा शब्द अहिले राष्ट्रिय राजनीतिमा तरंग बनेको छ। मैथिली भाषामा बोलेको ‘मधेशिया छौरा’ भन्ने अभिव्यक्तिले भाषिक बहस मात्र होइन, राजनीतिक ध्रुवीकरणसमेत जन्माएको छ।

मैथिली भाषामा ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘छोरो’ वा ‘केटो’ भन्ने सामान्य र स्नेहपूर्ण शब्द हो। तर नेकपा एमालेका सचिव महेश बस्नेतले उक्त शब्दलाई तोडमोड गर्दै ‘छाउरा’ भनी व्याख्या गरेपछि विवाद चुलियो। ‘छाउरा’ शब्दको नेपाली अर्थ ‘कुकुरको बच्चा’ हुने भन्दै आलोचकहरूले बस्नेतको टिप्पणीलाई मधेशी समुदायप्रति अपमानजनक र घृणात्मक करार दिए।

यसपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रतिक्रिया देखियो। मधेशी समुदायको भाषिक पहिचानमाथि प्रहार भएको भन्दै बस्नेतविरुद्ध आक्रोश पोखियो। कतिपयले कानुनी कारबाहीको मागसमेत उठाए। मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्तले सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै चुनावको मुखमा यस्ता गैरजिम्मेवार अभिव्यक्ति नगर्न चेतावनी दिए। ‘भाषिक संवेदनशीलता नबुझ्नु या बुझेर पनि बंग्याउनु दुवै गम्भीर विषय हुन्,’ उनको टिप्पणी थियो।

डा. अभिषेकराज सिंहले पनि बस्नेतको अभिव्यक्तिको कडा आलोचना गर्दै माफी माग्न आग्रह गरे। ‘मैथिली भाषामा छौरा शब्द नेपालीको छोरा सरह सामान्य र सन्दर्भअनुसार प्रयोग हुने शब्द हो। यसलाई अपमानजनक अर्थमा घिसार्नु भाषिक विविधताप्रतिको अज्ञानता र पूर्वाग्रह दुवै हो,’ सिंहको भनाइ थियो।

दबाब चुलिएपछि अन्ततः महेश बस्नेतले सामाजिक सञ्जालमार्फत माफी मागे। फेसबुकमा स्पष्टिकरण लेख्दै उनले आफूले बालेनको भनाइको सन्दर्भमा मैथिली भाषामा त्यसको अर्थबारे जिज्ञासा मात्र राखेको दाबी गरे। ‘केही व्यक्तिले नियोजित रूपमा गलत प्रचार गरे,’ भन्दै उनले मधेश, मैथिली भाषा र संस्कृतिप्रति सधैं सम्मान रहेको उल्लेख गरे। ‘अनजानमा कसैको मन दुखेको भए क्षमायाचना गर्दछु,’ भन्ने वाक्यसहित बस्नेत त विवादबाट जोगिए।

तर बस्नेतको माफीसँगै विवाद सकिएन। मधेशमा एमालेविरुद्ध एक प्रकारको बहिष्कार अभियान नै सुरु भएको देखियो। सामाजिक सञ्जालमा एमालेप्रति आक्रोश बढ्दै जाँदा मधेशका एमाले नेता तथा कार्यकर्ता असहज अवस्थामा पुगे। यसको प्रत्यक्ष उदाहरण बने—सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले नेता सुमनराज प्याकुरेल।

प्याकुरेलले फेसबुकमा ३ मिनेट ११ सेकेन्डको भिडियो सन्देश पोस्ट गर्दै आफू र पार्टीको बचाउ गरे। उनले एमाले मधेशविरोधी नभएको दाबी गर्दै महेश बस्नेतको अभिव्यक्तिले भ्रम सिर्जना भएको तर्क गरे। आफू मधेशमै जन्मिएको, यहीँको माटोमा हुर्किएको र मधेशी जनताबीच लोकप्रिय रहेको लामो पृष्ठभूमि प्रस्तुत गर्दै उनले अरूको गल्तीको सजाय आफूहरूलाई नदिन आग्रह गरे।

भिडियोको प्रस्तुति हेर्दा प्याकुरेल आत्मविश्वासभन्दा बढी डराएको देखिन्छ भन्ने टिप्पणी सामाजिक सञ्जालमा व्यापक छ। ‘मेरो जन्मथलो यहीँ हो, मेरो जीवन यहीँको सेवामा बितेको छ,’ भन्दै उनले आफूलाई कसैले पनि ‘पहाडे’ भनेर नहेर्ने तथा नहेर्न आग्रह गरे। कतिपय नेताको अभिव्यक्तिले कसैको मन दुखेको भए त्यसप्रति क्षमायाचना गर्ने र सांप्रदायिक गन्ध आउने भाषा नबोल्न नेताहरूलाई चेतावनी दिने प्रयास पनि उनले गरे।

तर उनको अर्को भनाइले झन् आलोचना निम्त्यायो। ‘सुमन प्याकुरेल तपाईंहरूको छोरा हो, भतिजा हो, काका हो, हजुरबुबा हो,’ भन्दै उनले मतदातासँग नाता जोडेर आत्मरक्षा गर्न खोजे। गाउँघरमा कसैले काका, कसैले हजुरबुबा, कसैले दादा भनेर बोलाउने गरेको विवरण सुनाउँदै आफूले कहिल्यै विभेद नगरेको दाबी गरे।

यही शैलीलाई धेरैले ‘ड्यामेज कन्ट्रोल’ मात्र होइन, स्पष्ट राजनीतिक डरको संकेतका रूपमा व्याख्या गरेका छन्। केन्द्रका नेताले बोलेको एक शब्दको मूल्य मधेशमा कति भारी पर्न सक्छ भन्ने कुरा प्याकुरेलको भिडियोले झन् प्रष्ट पारेको छ। बालेनको एउटा मैथिली शब्दबाट सुरु भएको बहस अहिले एमालेको मधेश सम्बन्ध, भाषिक संवेदनशीलता र चुनावी रणनीतिमाथि गम्भीर प्रश्न बनेर उभिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट