भारतीय वैशाखीमा सत्ता जोगाउने उपेन्द्रको दाउः पाँचौँपटक क्षेत्र फेरेका यादवको सप्तरी–३ पलायन र शैलेन्द्र झा कनेक्सन
राजविराज– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मैदानमा उत्रिएका छन्। यो उनको पाँचौँ निर्वाचन क्षेत्र परिवर्तन हो। ०७९ को निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लज्जास्पद हार व्यहोरेका यादव पुनः पराजयको डरले सुरक्षित स्थान खोज्दै अर्को क्षेत्र छिरेको राजनीतिक वृत्तको बुझाइ छ।
पटक–पटक मन्त्री र सांसद बनेका यादव मधेश पछाडि पर्नुको दोष ‘खस–पहाडे शासन’ माथि थोपर्ने गर्छन्। तर, उनको व्यवहार र राजनीतिक अभ्यास भाषणसँग मेल खाँदैन। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिलान्यास गरिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान त्यसको स्पष्ट उदाहरण हो। त्यतिबेला स्वास्थ्य मन्त्री स्वयं यादव थिए। चाहेको भए काम अघि बढाउन सकिने अवस्था हुँदाहुँदै पनि प्रतिष्ठान अलपत्र पारियो। कालान्तरमा एमाले नेता सुमन प्याकुरेल र स्वयं उपेन्द्र यादवको राजनीतिक असक्षमताले परियोजना अघि नबढेको आरोप छ। यो एउटा नमुना मात्र हो—यस्तै ‘चाहेर पनि नगरेका’ दर्जनौँ काम यादवको खातामा छन्।
यादवको राजनीति शैली पुराना कांग्रेस–एमाले नेताहरूभन्दा भिन्न देखिँदैन। जसरी उनीहरू मार्क्सवाद, लेनिनवाद वा बीपीको सिद्धान्त सुनाएर जनतालाई अल्मल्याउँछन्, यादवले पनि ‘मधेश र मधेशी’ को नारा दोहोर्याएर सत्ता यात्रा तय गर्ने गरेको भन्दै आलोचना हुन्छ। यदि राजनीति साँच्चै जनमुखी र परिणाममुखी हुन्थ्यो भने एकपटक जितेको क्षेत्रमा पुनः हार र त्यसपछि क्षेत्र नै छोडेर भाग्ने अवस्था आउँदैनथ्यो।
मधेशी अधिकारका नाममा आक्रोश भड्काएर चुनाव जित्ने, पदमा पुग्ने र फेरि उही चक्र दोहोर्याउने यादवको फण्डा पुरानै हो। तर, यसपटक दृश्य झन् विवादास्पद बनेको छ। मधेश र मधेशीका कुरा गर्ने यादव अहिले भारतीय नागरिकको ‘वैशाखी’ टेकेर भोट माग्न घरदैलोमा निस्किएको आरोप लागिरहेको छ।
वैशाखी बनेका छन—किर्ते नेपाली नागरिकता बनाएर नेपाली बनेका भनिएका भारतीय नागरिक शैलेन्द्र मोहन झा। स्रोतका अनुसार यादवको चुनावी खर्च ठूलो मात्रामा झाले नै बेहोर्दै आएका छन्। त्यसको बदलामा यादवले झाको शिक्षा, स्वास्थ्य लगायतका व्यवसायिक हितलाई राजनीतिक संरक्षण दिने गरेको आरोप छ।
राजविराज केन्द्र बनाएर दशकौँदेखि प्रभाव जमाइरहेका शैलेन्द्र मोहन झाले किर्ते गरेर नेपाली नागरिकता लिएको खुलासा यसअघि नै भइसकेको छ। उनले आफूलाई सप्तरीको स्थायी बासिन्दा दाबी गरे पनि वास्तविक स्थायी ठेगाना भारत, बिहारको सितामढी आसपासको कुसहर गाउँ भएको स्रोतको दाबी छ। उनका पारिवारिक सम्बन्धहरू पनि मुख्यतः भारतमै केन्द्रित छन्।
झाले ०५३ कात्तिक १८ गते सुनसरीको तत्कालीन नरसिंह गाविस–५ बाट ‘वंशज’ का आधारमा नेपाली नागरिकता लिएको देखिन्छ। सहायक प्रमुख जिल्ला अधिकारी भरतमणि भट्टराईको हस्ताक्षरमा जारी उक्त नागरिकतामा जन्मस्थान नरसिंह गाविस उल्लेख छ, जुन झुटो भएको दाबी गरिएको छ। कानुनतः १६ वर्षमै नागरिकता लिन सकिने प्रावधान हुँदाहुँदै उनले ३२ वर्षको उमेरमा नागरिकता लिएको तथ्य आफैंमा शंकास्पद छ।
झाले आफ्ना बुबाको नागरिकताका आधारमा आफूले नागरिकता लिएको दाबी गरे पनि त्यसको प्रमाण सार्वजनिक गर्न सकेका छैनन्। स्रोतका अनुसार उनका बुबा रघुनाथ झा केही समय सर्लाहीमा शिक्षण पेशामा संलग्न भए पनि नेपाली नागरिकता लिएको कुनै रेकर्ड भेटिएको छैन। शैलेन्द्र मोहन भारतमै विवाह गरेका हुन्, उनको ससुराली परिवार भारतमै छन्। श्रीमतीको नेपाली नागरिकता छैन, तर छोराछोरीको भने बनाइएको छ—यो पनि प्रश्नको अर्को घेरो हो।
नागरिकता विवाद दबाउन उनले पत्रकारिता क्षेत्रलाई समेत ढाल बनाएको आरोप छ। नेपाल पत्रकार महासंघको सदस्यता लिएर सञ्चारमाध्यम सञ्चालन गर्दै आएका झाले नागरिकता प्रकरण उठाउने पत्रकारलाई ‘म पनि पत्रकार हुँ’ भन्दै धम्क्याउने गरेका छन्। स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दलहरू यो प्रकरणबारे जानकार हुँदाहुँदै पनि राजनीतिक संरक्षण र पहुँचका कारण अनुसन्धान अघि नबढेको आरोप गम्भीर छ।
झाले एकपटक नागरिकताको प्रतिलिपि समेत निकालिसकेको तथ्य खुलेको छ। यस प्रकरणमा यसअघि उजुरी परेको भए पनि ‘किनारा लागेको’ दाबी स्वयं झाले गर्दै आएका छन्। यसरी हेर्दा, उपेन्द्र यादव मधेश र मधेशीको अधिकारका लागि नभई मधेशीकै अधिकार खोस्ने भारतीय नागरिकको संरक्षणमा लागेको देखिन्छ।
अर्कोतर्फ उनको सप्तरी–३ यात्रा कुनै वैचारिक पुनर्जागरण होइन, हारबाट बच्न र सत्ता जोगाउन खोजिएको अर्को राजनीतिक पलायन जस्तो देखिन्छ। मधेशको नाममा राजनीति गर्ने नेता भारतीय नागरिकको वैशाखीमा उभिएर चुनाव लड्दैछन—यही विरोधाभासले यसपटकको निर्वाचनलाई अझ विस्फोटक बनाउने देखिएको छ।
यस विषयमा यादवसँग वुझन खोज्दा उनले शैलेन्द्र मोहन झा भारतीय नागरिक नभएको दाबी गरे। उनले झालाई भारतीय भएको पुष्टि गर्न चुनौती पनि दिए। यादवले भने– ‘शैलेन्द्र मोहन पक्का भारतीय नागरिक हो ? तपाईसँग प्रमाण छ ? छ भने प्रकाशित गर्नोस त्यसपछि म वहाँलाई साथमा राख्न छोडौंला। त्यसपछि तपाईसँग कुरा गरौंला।’
यो पनि,
- किर्ते नागरिक शैलेन्द्रमोहनको राष्ट्रविरुद्धको अपराधः आन्दोलन चर्काउने नाममा विदेशी हस्तक्षेप गराएर राष्ट्रिय स्वाभिमानमाथि प्रहार (श्रृंखला–५)
- किर्ते नेपाली शैलेन्द्र मोहन झा र मौन जसपाः नेपालको राजनीतिमा भारतको छायाँ
- ‘किर्ते नेपाली’ शैलेन्द्रमोहनलाई उपेन्द्र यादवको आशीर्वादः यस्तो छ भारतीय नागरिकले चलाएको नेपाली राजनीति
- किर्ते नागरिकता र भारतीय सेटिङमा अर्बौको साम्राज्यः यस्तो छ शैलेन्द्रमोहन झाको संरक्षित जालो
- किर्ते नागरिकता लिएका भारतिय नागरिक शैलेन्द्रमोहनको दशकौँदेखि नेपालमा प्रभुत्व, प्रशासन बेखबर!

