८ करोडको डिफेन्डरमा घरदैलोः बालेन्द्र साहको ‘नयाँ राजनीति’को ढोंग र जनता माथिको अपमान

दमक– झापा–५ बाट प्रतिनिधि सभा चुनावमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरिरहेका बालेन्द्र साह (बालेन) अहिले केवल चुनावी एजेन्डा र घोषणामा सीमित छैनन्। उनको महँगो सवारी साधन र सार्वजनिक जीवनशैलीले ‘नयाँ राजनीति’ र जनताप्रतिको भरोसा माथि गम्भीर प्रश्न उठाएको छ।

बालेन चुनाव प्रचारका क्रममा पूर्वी झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङको पाथीभरा पुगे। यस क्रममा उनले प्रयोग गरेको बागमती प्रदेश नम्बर ०१–०३३ च ४३४३ को ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट नेपाली बजारमा करिब दुई करोडदेखि आठ करोडसम्म पर्ने बताइन्छ। स्रोतका अनुसार गाडी उद्योगपति नितेश मालपानीको नाममा दर्ता छ, जो करेन्ट चाउचाउ कम्पनीका मालिक कमल मालपानीका छोरा हुन्। केही महिनाअघि मात्र नेपाल भित्रिएको यो गाडी सीमित धनाढ्य व्यक्तिहरूको पहुँचमा मात्र रहेको छ।

सोसल मिडियामा यसको भिडियो सार्वजनिक भएपछि आलोचना तीव्र भयो। ‘नयाँ राजनीति’, गरिब र मध्यमवर्गीय जनता, खाद्य असुरक्षा र बेरोजगारीको पक्षमा उभिने दाबी गर्ने उम्मेदवार स्वयं यति महँगो गाडी चढेर प्रचारमा निस्किनु आफैमा विवादित बनेको छ। राष्ट्रिय तथ्यांक अनुसार कोशी प्रदेशमा करिब १७ प्रतिशतभन्दा बढी जनसंख्या गरिबी रेखामुनि छ। त्यही भूगोलमा आठ करोडको गाडी प्रयोग गर्नु केवल विलासी चुनावी प्रदर्शनी मात्र नभई जनताको पीडामाथि तामझाम प्रदर्शनको रूपमा देखिएको छ।

विवाद केवल गाडीमा सीमित छैन। गाडी जोडिएको उद्योगिक पृष्ठभूमि पनि प्रश्नको घेरामा छ। करेन्ट चाउचाउ कम्पनीको सीईओ हाल रघुनाथ सापकोटा रहेका छन्, जो पूर्व अर्थमन्त्री जनार्दन शर्माको कार्यकालमा मध्यराति करको दर हेरफेर गरी राज्य संयन्त्रको दुरुपयोग गर्ने प्रकरणसँग जोडिएका थिए। बालेनले यस्तो उद्योगीको गाडी प्रयोग गर्नुले राजनीति र नैतिकताको बीचमा गम्भीर विरोधाभास देखाएको छ।

साथै, बालेनले लगाएको एडिडास टेरेक्स ज्याकेटको मूल्य करिब ३५ हजार रुपैयाँ पर्नुले पनि आलोचना थपेको छ। ‘गरिबको चमेली बोलदिने कोही छैन…’ भन्दै गीत गाएर भाईरल भएका उम्मेदवारको सार्वजनिक जीवनशैली र राजनीतिक अभिव्यक्तिबीच बढ्दो अन्तर स्पष्ट देखिएको छ।

गम्भीर प्रश्न भनेको गाडीको स्वामित्व, प्रयोग र नैतिकता हो। बालेनले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। आलोचकहरूको मतमा यस्तो महँगो गाडी प्रयोग गर्नु राजनीतिक दावी र विश्वासको विपरीत सन्देश हो। समर्थकहरूले यसलाई शुभेच्छुकको सहयोग मात्र भने पनि, विरोधीहरू यसलाई पुरानै शक्ति, पैसा र प्रभावको राजनीतिमा नयाँ अनुहार प्रवेशको संकेत मानिरहेका छन्।

पुराना दलका नेताहरू ओली, प्रचण्ड वा देउवाले समेत प्रयोग नगरेको गाडी नयाँ पुस्ताका उम्मेदवारले प्रयोग गर्नुले ‘परिवर्तन’ र ‘सामाजिक न्याय’को नारामाथि गम्भीर प्रश्न उठाएको छ। जनता अब केवल नारा र भाषणमा होइन, जीवनशैली, व्यवहार र निर्णयमार्फत नै नेताको चरित्र मूल्यांकन गर्ने अवस्थामा पुगेको छ।

बालेनको यो प्रदर्शनले राजनीतिक दृष्टिकोण मात्र होइन, जनतासँगको संवेदनशीलता र उत्तरदायित्वको अभाव पनि स्पष्ट देखाएको छ। गरिबी, खाद्य असुरक्षा, स्वास्थ्य र शिक्षा जस्ता ज्वलन्त विषयमा जनताको पीडा बोक्ने दाबी गर्ने उम्मेदवारले आफ्नै विलासी जीवनशैलीले विश्वास घटाउँछ भन्ने बहस चुलिएको छ।

झापा–५ को चुनाव अब केवल व्यक्ति र दलको प्रतिस्पर्धा मात्र होइन। यो नेतृत्वको चरित्र, जीवनशैली, नैतिकता र नयाँ राजनीतिक संस्कृतिको परीक्षण गर्ने मञ्च बनेको छ। आठ करोडको डिफेन्डरमा घरदैलोले देखाएको सन्देशले मतदातामा गम्भीर बहस सुरु गरिसकेको छ। जनता अब भाषणमा होइन, कार्य र व्यवहारमा मात्र नेताको मूल्यांकन गर्ने अवस्थामा पुगेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट