सप्तरी–३ मा काका–भतिज आमने–सामने, दल बदल्ने उम्मेदवारको लर्को, कस्तो वन्दैछ राजनीतिक नक्सा ?

राजविराज — आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ। मतदाता सामु उम्मेदवारहरूले आफ्ना चुनावी प्रतिबद्धता प्रस्तुत गरिसकेका छन् भने केही उम्मेदवार प्रचार अभियानको तयारीमै छन्।

विशेषगरी काका–भतिज आमने–सामने भएपछि यो निर्वाचन क्षेत्र राजनीतिक रूपमा निकै संवेदनशील बनेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव यस क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन् भने पूर्वसांसद ताराकान्त चौधरी र उनका भतिज अमरकान्त चौधरी पनि मैदानमा छन्।

ताराकान्तले नेकपा एमालेको झण्डा बोकेका छन् भने अमरकान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी प्रतिस्पर्धामा छन्। अमरकान्तका पिता चन्द्रकान्त चौधरी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट विजयी भएका थिए। चन्द्रकान्तको गत पुस २६ मा निधन भएपछि अमरकान्तले राजनीतिक उत्तराधिकारको रुपमा उम्मेदवारी दर्ता गरेका हुन्।

सप्तरी–३ को गत चुनाव परिणामले प्रतिस्पर्धाको तस्वीर स्पष्ट पार्छ। २०७४ मा ताराकान्तले ११ हजार १ सय ८८ मत ल्याए, त्यतिबेला अमरकान्तका पिता चन्द्रकान्तले २२ हजार ५ सय ८४ मत ल्याएर निर्वाचित भएका थिए। नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत पाएका थिए। २०७९ को निर्वाचनमा यादवले २६ हजार १ सय ६६ मत लिएर निर्वाचित भएका थिए, त्यसै चुनावमा ताराकान्तले २२ हजार ३ सय मत प्राप्त गरेका थिए। सो समयमा चौधरी परिवारलाई जसपा नेपालले पनि समर्थन गरेको थियो।

यो निर्वाचन सप्तरीमा केवल परम्परागत प्रतिस्पर्धा मात्र नभई दल परिवर्तन गर्ने उम्मेदवारहरूको भिडन्तले राजनीतिक नक्सा फेरिएको छ। कुल १०५ उम्मेदवारले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। केही उम्मेदवारहरूले दल परिवर्तन गरेर आफ्नो चुनावी अवसर सुनिश्चित गर्ने रणनीति अपनाएका छन्।

उदाहरणका लागि, उमेश कुमार यादव यसपटक सप्तरी–२ बाट जनता समाजवादी पार्टीको झण्डा लिएर चुनावी मैदानमा छन्। उनी २०७९ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए। त्यस वेला सीके राउतले बाजि मारे।

त्यस्तै, रञ्जु झा (ठाकुर) यसअघि जसपा नेपालबाट समानुपातिक सांसद थिइन्। अहिले उनी नेपाल जनता पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। पूर्व मुख्यमन्त्री सतिश सिंह पनि जनमत पार्टी परित्याग गरी स्वाभिमान पार्टीबाट सप्तरी–२ बाट उम्मेदवार बनेका छन्।

सिताराम साह, नेपाली कांग्रेसका पूर्व नेता र सप्तरी–४ का सभापति, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। २०७९ को निर्वाचनमा प्रदेश सभा र मेयर पदमा पराजित भएकाले उनले पार्टी परिवर्तन गरेर प्रतिनिधि सभा चुनावमा आफ्नो राजनीतिक संभावना खोजेका हुन्।

अनिस अन्सारी, जसले २०७९ मा सप्तरी–३ बाट जनमत पार्टीको झण्डा बोकेका थिए, यसपटक राष्ट्रिय मुक्ति पार्टीबाट क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा छन्। अमरकान्त चौधरी पनि दल परिवर्तन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट