मादक पदार्थ सेवनपछि श्रीमतीको निर्मम हत्या, श्रीमान् आफैं पुगे प्रहरी कार्यालयमा
काठमाडौँ— ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा घरेलु विवादले भयावह रूप लिँदा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन्। हत्या गरेपछि ती युवक आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरेका हुन्। घटना शुक्रबार बिहानको भएको र हत्या पश्चात् विनोद टिकाभैरवस्थित प्रहरी चौकीमा पुगेर ‘मैले श्रीमतीको हत्या गरेँ’ भन्दै आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेको खुलेको छ। मदिरा सेवनकै क्रममा पतिपत्नीबीच विवाद सुरु भएको र विवाद चर्किँदै जाँदा विनोदले श्रीमतीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ।
प्रहरी वृत्त चापागाउँकी डीएसपी शीला चापागाईंका अनुसार विनोदले श्रीमतीमाथि चिर्पट तथा धारिलो वस्तु प्रयोग गरी प्रहार गरेका थिए। गम्भीर चोट लागेपछि कोपिलाको घटनास्थलमै मृत्यु भएको पाइएको छ।
हत्या पश्चात् शव खाटमै राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। विनोदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृतक दम्पतीको दुई वर्षीया छोरी छिन्। अत्यधिक मादक पदार्थ सेवनका कारण पारिवारिक सम्बन्ध बिग्रिँदै गएको र उनीहरू केही समयदेखि छुट्टै डेरा लिएर बस्दै आएको तथ्य पनि अनुसन्धानका क्रममा खुलेको छ।

