सिरहामा दिनदहाडै गोली हानेर खेत जोत्दै गरेका प्रेमनाथ यादवको हत्या
लहान— सिरहाको सिरहा नगरपालिकामा अज्ञात समुहले दिनदहाडै गोली हानी एक किसानको हत्या गरिएको छ। सिरहा नगरपालिका–१ निवासी ४५ वर्षीय प्रेमनाथ यादवलाई शुक्रबार दिउँसो करिब पौने ४ बजे गोली हानी हत्या गरिएको हो।
यादव सिरहा नगरपालिका–७ स्थित मैनावती (मैनाबत्ती) खोला किनार नजिकैको आफ्नै खेतमा ट्याक्टरले जोत्ने काम गरिरहेका बेला अज्ञात व्यक्तिले नजिकैबाट गोली प्रहार गरेको स्थानीयले बताएका छन्।
गोली लागेपछि यादव ढलेका थिए र उनलाई बचाउने मौका नै नपाई घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनाको खबर पाएलगत्तै स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी घटनास्थल पुगेका थिए।
वडा अध्यक्ष महेश कुमार यादवले खेतमा काम गरिरहेका बेला गोली प्रहार गरी हत्या गरिएको जानकारी आफूले पाएको बताए। ‘घटनाबारे सुनेपछि म पनि अस्पतालतर्फ जाँदै छु, थप विवरण बुझ्ने क्रममा छु,’ उनले प्रतिक्रिया दिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानबाट गोली हानी हत्या गरिएको पुष्टि भएको जानकारी दिए। उनका अनुसार घटनास्थलको अवस्था हेर्दा लक्षित रूपमा गोली प्रहार गरिएको देखिन्छ। तर हालसम्म कसले र किन यादवमाथि गोली चलायो भन्ने विषय खुल्न सकेको छैन।
घटनापछि प्रहरी टोली घटनास्थलमै खटिएको छ भने आसपासको क्षेत्र सिल गरी अनुसन्धान अघि बढाइएको छ। संभावित शंकास्पद ब्यक्ति, घटनाको कारण र आक्रमणकारीको खोजीका लागि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। चुनाव आउनै लाग्दा सिरहामा खुलेआम भएको यो गोलीकाण्डले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

