ओलीका विवादित अभिव्यक्ति र ‘छौरा’ राजनीतिले मधेशमा एमाले संकटग्रस्त, सिराहामा १२ नेता–कार्यकर्ताको सामूहिक बहिर्गमन

राजविराज– मधेशमा नेकपा एमालेप्रति जमेको असन्तुष्टि अब सतहमै देखिन थालेको छ। अध्यक्ष केपी शर्मा ओलीका पटक–पटकका विवादित अभिव्यक्ति, मधेशी समुदायप्रति अपमानजनक ठानिएका टिप्पणी र पार्टी सचिव महेश बस्नेतले ‘छौरा’ शब्दलाई नै राजनीतिक व्यंग्यको अस्त्र बनाउँदै दिएको सन्देशले एमालेको छवि गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ।

परिणामस्वरूप, मधेशका मतिपय गाउँ/ठाउँमा एमालेको नाम लिनसमेत कार्यकर्तालाई असहज हुने अवस्था सिर्जना भएको छ। मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर मधेशी युवाहरू मारिँदा ओलीले ‘दुई–चार वटा आँपका दाना झर्छन भनेका’ भन्दै फैलिएको हल्ला मधेशले कहिल्यै बिर्सिएको छैन। त्यसलाई धेरैले मधेशी जनजीवन र पीडाप्रति असंवेदनशीलता मात्र होइन, अपमानकै रूपमा बुझे।

त्यसमाथि झापा–५ मा उम्मेदवारी दिएका पूर्वमेयर बालेन्द्र साहलाई लक्षित गर्दै ‘झापालाई पनि मधेशजस्तै गुहिठा र गोबरको फोहोर बनाउने होला’ भन्ने शैलीका टिप्पणीहरूले आगोमा घ्यु थप्ने काम गर्यो। यी अभिव्यक्तिहरूले मधेशमा ओली र एमालेप्रतिको धारणा झन् नकारात्मक बनायो।

यति मात्रै होइन, बालेन्द्र साहले आफूलाई ‘मधेशको छौरा’ भनेर परिचित गराएको विषयलाई पार्टी सचिव महेश बस्नेतले जिस्क्याउने र राजनीतिक व्यंग्यको विषय बनाउँदै अतिरञ्जित ढंगले प्रस्तुत गरेपछि मधेशमा एमाले कार्यकर्तामाथि नै सामाजिक दबाब बढ्न थाल्यो। स्थानीय तहमा एमालेमा आवद्ध हुनु नै ‘अपमान’ जस्तै बन्न थालेको गुनासो कार्यकर्ताहरूले गर्न थाले। कतिपय उम्मेदवारहरू त चुनावी मैदानमा उत्रिन नै डराउन थालेका छन्। मधेशमा एमाले भनेर चिनिनु आफैंमा बोझ बन्न थालेको स्थिति देखिएको छ।

स्थिति यस्तोसम्म पुगेको छ कि सप्तरी–१ का एमाले उम्मेदवार सुमन प्याकुरेलले सामाजिक सञ्जालमार्फत आफू पहाडी नभएको स्पष्ट पार्दै भिडियो सन्देश दिनुपर्ने अवस्था आयो। एमालेको केन्द्रीय सदस्य तहसम्म पुगेका नेताले नै आफ्नो पहिचान बचाउन स्पष्टीकरण दिनुपरेको यो घटना स्वयं पार्टीभित्रको मनोवैज्ञानिक दबाबको संकेत हो। उनले पछिल्लो अन्तर्वार्तामा बस्नेतसँग फोनमार्फत माफी माग्न लगाएकोसम्म उल्लेख गरेका छन्। यदि केन्द्रीय तहका नेताको अवस्था यस्तो छ भने सामान्य कार्यकर्ताको हालत कस्तो होला भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

यिनै घटनाक्रमको बीचमा सिराहाबाट आएको समाचारले एमालेभित्रको संकटलाई थप उजागर गरेको छ। जिल्लाको गोलबजार नगरपालिकामा पार्टीका विभिन्न तहमा सक्रिय १२ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा एमाले परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण राजनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन्। वर्षौंदेखि संगठन निर्माणमा खटिएका अनुहारहरू एकैसाथ बाहिरिनु सामान्य असन्तुष्टि होइन, गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

राजीनामा दिनेहरूले पार्टी नेतृत्वमाथि स्वेच्छाचारी शैली अपनाएको, निर्णय प्रक्रिया केही व्यक्तिमा सीमित भएको र संगठनलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाइएको आरोप लगाएका छन्। जनताको नाममा राजनीति गर्ने नारा दिइए पनि व्यवहारमा इमानदार कार्यकर्तालाई पन्छाउने, आलोचनालाई दबाउने र सुधारका सुझावलाई बेवास्ता गर्ने प्रवृत्ति हाबी भएको उनीहरूको निष्कर्ष छ। पार्टीभित्रै बसेर सुधार खोज्दा पनि नेतृत्वले गम्भीरता नदेखाएपछि बाध्य भएर अलग्गिनु परेको उनीहरूको भनाइ छ।

सामूहिक राजीनामा दिनेहरूमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, बुद्धिजीवी तथा शिक्षक जनसंगठनका प्रदेश सदस्य भीमबहादुर थापा, धनराज यादव, तेजकुमार लामा, तुलसीप्रसाद उपाध्याय, प्रमोदकुमार लामा, पूर्व वडा कमिटी अध्यक्ष राजकरण साह, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा, नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतो छन्। यी सबैजना लामो समयदेखि एमालेसँग जोडिएका अनुभवी कार्यकर्ता हुन्।

विश्लेषकहरूका अनुसार यो केवल सिराहाको घटना होइन, मधेशभरि फैलिएको अविश्वासको प्रतिध्वनि हो। केन्द्रका नेताहरूको बोली र व्यवहारको मूल्य स्थानीय संगठनले चुकाइरहेको छ। भाषणमा राष्ट्रियता र एकताको कुरा गर्ने तर व्यवहारमा समुदायको सम्मान नगर्ने राजनीतिले एमालेको जग कमजोर बनाउँदै लगेको छ।

चुनाव नजिकिँदै जाँदा एमालेका लागि मधेश झन् कठिन भूगोल बन्दै गएको देखिन्छ। मतदाता टाढिँदै छन्, कार्यकर्ता निराश हुँदै छन्, र संगठन भित्रैबाट चिरा परिरहेको छ। यदि नेतृत्वले आत्मसमीक्षा र व्यवहारमा परिवर्तन नगर्ने हो भने मधेशमा एमालेको उपस्थिति केवल नाममा सीमित हुने खतरा बढ्दो छ। अहिलेको अवस्था हेर्दा मधेशमा एमालेले समर्थन होइन, आफ्नै अस्तित्व जोगाउने लडाइँ लड्नुपर्ने चरणमा प्रवेश गरिसकेको स्पष्ट देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट