चुनावी रणभूमि झापा ५ः ओलीको लोकप्रियतामा चुनौती बन्दै कार्की र थापाको पारिवारिक सिन्डिकेट
दमक— आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मुलुककै राजनीतिक केन्द्रबिन्दु बनेको छ। चार पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)बीचको प्रतिष्पर्धाले यस क्षेत्रलाई अहिले राष्ट्रीय बहसको केन्द्रमा राखेको छ।
तर यो प्रतिष्पर्धा केवल दुई दलबीचको मात्रै होइन, भित्री राजनीतिक संरचना र पार्टीभित्रको शक्ति सन्तुलनसँग पनि जोडिएको छ। झापा ५ का मतदाता अध्यक्ष ओलीसँग रिसाएका छैनन। बरु ओलीको वरिपरि बसेका केही परिवार केंद्रित नेताहरूको ‘जञ्जाल’ले जनतालाई असन्तुष्ट बनाएको छ।
यो क्षेत्र एमालेको सबैभन्दा बलियो गढ मानिन्छ। पछिल्लो महाधिवेशनमा झापा ५ बाट १४ जना नेताहरू केन्द्रीय कमिटी र अनुशासन आयोगमा निर्वाचित भएका थिए। तर त्यही उपलब्धि अहिले गलपासो बनेको छ। ती १४ मध्ये पाँच जना केवल दुई परिवार हिक्मत कार्की र थापा दाजुभाइ (होमबहादुर र गोविन्द) को कब्जामा छन्। हिक्मत कार्की एमालेका सचिव र कोशी प्रदेशका मुख्यमन्त्री हुन्। उनका दाजु दीपक कार्की केन्द्रीय सदस्य छन् भने दीपककी पत्नी लीला कट्टेल कार्की अनुशासन आयोगको सदस्य हुन्।
यस्तै, थापा परिवारका होमबहादुर र गोविन्द थापा दुवै केन्द्रीय सदस्य हुन्। यस क्षेत्रको राजनीतिक संरचनामा त्रिकोणात्मक पारिवारिक जालो छ। कार्की, थापा र रोमनाथ ओलीको परिवारले झापा ५ को राजनीति ‘हाइज्याक’ गरेको स्थानीय कार्यकर्ताहरूको गुनासो छ। मतदाताहरू भन्छन्, ‘हामीलाई ओली मन पर्छ, उनका काम मन पर्छ, तर उनलाई भेट्न कार्की र थापा परिवारको अनुमति लिनुपर्छ।’
यही समस्याका कारण अध्यक्ष ओलीले अहिले आफ्नो चुनावी रणनीति बदल्दै सोझै टोल–टोलमा पुग्ने र मतदातासँग संवाद गर्ने उपाय अपनाएका छन्। घरदैलो अभियानका क्रममा उनले स्थानीय समस्याहरू सुनेर समाधानका लागि ‘दोस्रो विकल्प’को रूपमा देवेन्द्र दाहाललाई अघि सारेका छन्। स्थानीय कार्यकर्ताहरूले यसलाई सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्।
तर, वास्तविक चुनौती भनेको डिजिटल र भौतिक राजनीतिबीचको भिन्नता हो। अध्यक्ष ओली सामाजिक सञ्जालमा सक्रिय छन्, दैनिक पोस्ट र स्टाटस मार्फत आफ्नो प्रभाव कायम राख्ने प्रयास गरिरहेका छन्। तर धरातलमा कार्की र थापाको पहुँचले बनाएको पर्खाल अझै कायम छ।
स्थानीय मतदाताहरू र पुराना कार्यकर्ताहरूका अनुसार ओलीले गरेका विकासका काम उत्कृष्ट छन्, तर उनको नेतृत्व प्रत्यक्ष पहुँचको अभावले कमजोर देखिन्छ। कार्यकर्ताहरूको बुझाइमा यदि कार्की र थापाको प्रभावको सञ्जाल टुटेन भने यस निर्वाचनमा ओलीको व्यक्तिगत लोकप्रियता पर्याप्त नहुन सक्छ।
झापा ५ को वर्तमान परिदृश्यले स्पष्ट देखाउँछ—उच्च पदस्थ नेतृत्व र स्थानीय संरचनाबीचको असन्तुलनले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्न सक्छ। अध्यक्ष ओलीको लोकप्रियता र डिजिटल सक्रियताले मतदानमा असर पार्न सकेन भने मतदाताले आफ्नै निर्णय गर्न सक्नेछन्। जुन पारिवारिक सिन्डिकेटको विरुद्धमा पनि हुन सक्छ।
यो क्षेत्रको निर्वाचनले केवल दुई पार्टीबीचको प्रतिस्पर्धा मात्र होइन, पार्टीभित्रको शक्ति संरचना, पारिवारिक प्रभुत्व र नेतृत्वको प्रत्यक्ष पहुँचको महत्वलाई पनि परख गर्ने छ। झापा ५ ले स्पष्ट बनाएको छ—नेता लोकप्रिय भए पनि संगठन र स्थानीय पहुँच कमजोर भएमा जनताको समर्थन स्थायी हुँदैन, र लोकतान्त्रिक प्रक्रियाले पारिवारिक जालो र सिन्डिकेटको वास्तविक प्रभाव उजागर गर्छ।
