मधेशमा एमालेको साख ध्वस्त हुने क्रम जारीः २ पूर्वसांसदसहित १२ नेता–कार्यकर्ताको सामूहिक राजिनामा
लहान– मधेशमा गहिरो राजनीतिक संकटको सामना गरिरहेको नेकपा (एमाले)लाई अर्को ठुलो झट्का लागेको छ। अध्यक्ष केपी शर्मा ओलीका विवादित अभिव्यक्तिहरू र पार्टी सचिव महेश बस्नेतद्वारा मधेशी समुदायसँग सम्बन्धित ‘छौरा’ शब्दको अपमानजनक प्रयोगले पार्टीको छवि ध्वस्त बनाएको छ।
पछिल्लो पटक सिराहाबाट आएका समाचारले यो संकट अझ गहिरिँदै गएको स्पष्ट बनाएको छ। पार्टीका दुई पूर्वसांसद जानकी देवी राम र सम्झना थपालियासहित १२ जना अनुभवी नेता÷कार्यकर्ताले सामूहिक रूपमा एमाले परित्याग गरेका छन्। उनीहरूले पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी निर्णयशैली, आन्तरिक लोकतन्त्रको क्षय र सुधारका लागि उठाइएका आवाजलाई बेवास्ता गरिएको भन्दै राजनीतिक सम्बन्ध पूर्ण रूपमा तोडेको बताएका छन्।
पूर्वसांसद जानकी देवी २०७४ सालको निर्वाचनपछि रिक्त पदमा समानुपातिक सांसद भएर संसद प्रवेश गरेकी थिइन् भने थपालिया २०७९ को निर्वाचनमा समानुपाति सांसद बनेकी हुन्। अन्य राजीनामा दिने नेताहरूमा जिल्ला कमिटी सचिवालय सदस्य फुलेन्द्र नायक, उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य, नेपाल उद्योग व्यवसायी महासंघ सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्ष्मण यादव, वडा नं. ९ कमिटी सदस्य वीरेन्द्र झा लगायत छन्।
उनीहरूले करिब ३५ वर्षसम्म संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र जनसेवामा योगदान दिँदै आएका भए पनि नेतृत्वबाट सुधारका पहललाई बेवास्ता गरिएपछि पार्टी परित्याग गर्न बाध्य भएको उल्लेख गरेका छन्।
मधेशमा एमालेको संकट केवल नेता मात्र नभई कार्यकर्ता तहसम्म फैलिएको छ। झापामा बालेन्द्र साहलाई लक्षित गर्दै अध्यक्ष ओलीले गरेको विवादित टिप्पणीहरूले मधेशमा पार्टीको सामाजिक दबाब बढाएको छ। कार्यकर्ताहरू पार्टीमा आवद्ध रहनु नै ‘अपमान’ जस्तो महसुस गरिरहेका छन्।
सप्तरी–१ का उम्मेदवार सुमन प्याकुरेलले सामाजिक सञ्जालमार्फत आफू पहाडी नभएको स्पष्ट पार्नुपरेको घटना यसैको प्रमाण हो। विश्लेषकहरू भन्छन्, मधेशमा एमालेको संकट केवल व्यक्तिगत असन्तुष्टि होइन, नेतृत्व र स्थानीय संगठनबीचको अविश्वासको परिणाम हो। पार्टीभित्रै सुधारका प्रयासलाई बेवास्ता गर्ने, आलोचनालाई दबाउने र स्वेच्छाचारी निर्णयशैली अपनाउने प्रवृत्तिले संगठनको जग कमजोर बनाएको छ।
चुनाव नजिकिँदै गर्दा एमालेले मधेशमा केवल समर्थन कायम राख्ने होइन, आफ्नो अस्तित्व जोगाउने चुनौती पनि सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यो घटनाक्रमले स्पष्ट पार्छ–मधेशमा पार्टी नेतृत्व र स्थानीय संगठनबीचको अन्तरले राजनीतिक स्थायित्व र मतदाता समर्थनमा निर्णायक भूमिका खेल्छ।
कार्यकर्ताको असन्तोष र स्थानीय जनमतलाई नजरअन्दाज गर्दा पार्टीको राजनीतिक प्रभाव कमजोर हुने खतरा बढ्छ। एमालेले तत्काल आत्मसमीक्षा नगरेमा मधेशमा आफ्नो उपस्थिती केवल नाम मात्रमा सीमित हुने खतरा देखिएको छ।

