सिराहामा ३० बिगहामा लगाएको करोडौंको उखु खरानीः यो दुर्घटना हो कि किसानमारा अपराध!
लहान– सिराहाको लहान नगरपालिका–१३, घलेटोलमा सोमबार दिउँसो भएको भीषण आगलागीले २५ किसानको पसिना, परिश्रम र आशा एकैचोटि खरानी भएको छ। काट्न तयार अवस्थामा रहेको करिब ३० बिघा क्षेत्रफलको उखु खेतको मध्यभागबाट अचानक सल्किएको आगोले केही घण्टामै सबै नष्ट भएको छ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईका अनुसार दिउँसो करिब १ बजे आगलागीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो र स्थानीयको सहयोगमा आगो मानवबस्तीमा फैलिनबाट रोकेको थियो। तर आगो निभाउन पुगेको लहान नगरपालिकाको बारुणयन्त्रको मोटर नै बिग्रिएपछि अवस्था झनै जटिल बन्यो।
अन्ततः गोलबजार नगरपालिकाबाट आएको अर्को दमकलले करिब ४ बजेतिर आगो नियन्त्रणमा लिए पनि तबसम्म किसानको करोडौँको लगानी जलेर खरानी भइसकेको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुमानमा करिब एक करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। तर किसानहरूको हिसाब अझ डरलाग्दो छ।
प्रतिकट्ठा ३०–३५ क्विन्टल उब्जनी हुने हिसाबले ३० बिघामा करिब १८ हजार क्विन्टल उखु उत्पादन हुने अनुमान छ। चिनी उद्योगलाई प्रतिक्विन्टल ६२० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी ६९० रुपैयाँका दरले बिक्री गर्दा करिब एक करोड २४ लाख २० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा थियो। त्यो सम्पूर्ण सम्भावित आम्दानी एकैदिन धुवाँमा उडेको छ।
घटनास्थलको अवस्थाले आगो नियतवश लगाइएको हुन सक्ने शंका जन्माएको छ। उखुबारीको बीचबाट आगो सल्किएको तथ्यले कसैले चुरोट वा बिँडीको ठुटो फालेर लापरबाही गरेको वा योजनाबद्ध रूपमा आगजनी गरिएको हुन सक्ने आशंका बलियो बनाएको छ। यदि यो नियोजित आगजनी हो भने यो केवल आगलागी होइन, प्रत्यक्ष रूपमा ‘किसानमारा अपराध’ हो।
पीडित किसान विष्णु यादव भन्छन्, ‘उखु बेचेर घरको ऋण तिर्ने योजना थियो, अब त लागतसमेत डुब्यो।’ अर्का किसान रामलखन मण्डलको आक्रोश झनै तीव्र छ—‘जसले आगो लगाएको भए पनि पत्ता लगाएर हदैसम्मको कारबाही हुनुपर्छ।’ मलखाद, सिँचाइको अभाव, बढ्दो लागत, ढिलो भुक्तानी र अनिश्चित बजारसँग जुध्दै आएका किसानहरूका लागि यो आगलागी केवल प्राकृतिक विपत्ति होइन, राज्य संयन्त्रको कमजोरी र सुरक्षाको अभावको परिणाम पनि हो।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको आपत्कालीन संयन्त्रको लाचारी हो। स्थानीय दमकल बिग्रिनु र अर्को नगरपालिकाबाट सहयोग माग्नुपर्ने अवस्था स्वयंमा गम्भिर विषय हो। किसानको करोडौँको बाली जोगाउन राज्य कति सक्षम छ? अनुसन्धान सुरु भएको प्रहरीले जनाएको भए पनि किसानहरूका लागि अहिले प्राथमिकता न्याय मात्र होइन, तत्काल राहत र दोषीमाथि कठोर कारबाही हो। अन्यथा, यो घटना सिराहामा भएको एक साधारण आगलागी होइन, ग्रामीण अर्थतन्त्र र किसानको भविष्यमा लागेको गहिरो आगोको संकेत हुनेछ।
लोकप्रिय
रविको ‘संगठित अपराध र शुद्धीकरण मुद्दा’ फिर्ता लिन कास्की अदालतको ठाडो अस्वीकारः सर्वोच्चको फैसला नआए चुनाव जिते पनि संसदको ढोका बन्द
