साउदीबाट फर्किएका सप्तरीका देवचन्द्रमाथि बर्बर हमलाः टेम्पो दुर्घटनामा पारेर लुटपाट, हात–खुट्टै काटियो

राजविराज — दुई वर्ष साउदीमा पसिना बगाएर ७० दिनको बिदा लिएर घर फर्किँदै गर्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखियाको मनमा एउटै उत्साह थियो—छोरा, श्रीमती र बुवासँगको भेट। माघ १२ को बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिँदा आँखामा सपना थियो, घर छिटो पुग्ने हतार थियो। तर त्यो हतार, त्यो भरोसा र त्यो सरलता नै उनका लागि जाल बन्यो।

विमानस्थलबाट बाहिर निस्कँदासम्म झण्डै १० बजिसकेको थियो। कोटेश्वर पुग्दा राजविराजका सवै गाडी निस्किसकेका थिए। साथमा रहेका दुई साथी लहान नपुग्दै ओर्लिनुपर्ने थियो। ‘लहानसम्म एउटा हाइस छ’ भन्ने आश्वासनमा उनले ३ हजार रुपैयाँ तिरेर टिकट काटे। राजविराजसम्म अर्को गाडी मिलाइदिने भनिएको थियो।

राति साढे १० बजे लहान पुग्दा भने त्यो आश्वासन कार्यान्वयन भएन। १ सय रुपैयाँ ‘मेल’ भाडा फिर्ता थमाइएर हाइस निस्कियो, उनी अँध्यारो बजारको छेउमा एक्लै भए। त्यही बेला एक महिला नजिक आइन—‘कहाँ जाने?’ भन्दै उनले देवचन्द्रसँग वेलिविस्तार लिईन, उनले आफनो समस्या सुनाए।

महिलाले ‘३ हजार रुपैयाँ दिए घरसम्म पुर्‍याइदिने’ प्रस्ताव गरिन। देवचन्द्रले ३ हजारमा ५ सय थपिदिन्छु भने। महिलाले इसारा गरेपछि अगाडि एउटा टेम्पो आयो। उनलाई चालकको छेउमा बसाईयो, महिलाका छोरा अर्को साईडको सिटमा बसे। अस्पताल चोक हुँदै ठाडी सडकखण्ड भएर घर पु¥याइदिने भनिएको थियो।

तर सखुवानन्कारकट्टी–५ नजिकै पुगेपछि दृश्य फेरियो। देवचन्द्रका अनुसार चालकले एक्कासी उनलाई टेम्पोबाट धक्का दिए। सडकमा लड्दा टाउको, हात–खुट्टामा चोट लाग्यो। उठ्न नपाउँदै टेम्पो ब्याक गरेर दायाँ हात र खुट्टामाथि चढाइयो। फेरि अगाडि बढाउँदा पनि त्यही अंगमाथि किचियो। केही क्षणमै उनी बेहोस भए।

आधा घण्टापछि होस खुल्दा दायाँ हात–खुट्टा चल्दैनथे। सुनसान सडक, रगत, पीडा र असहाय। संयोगले गस्तीबाट फर्किएको इलाका प्रहरी कार्यालय लहानको टोलीले देखेपछि उनको उद्धार गर्यो। प्रारम्भिक उपचारपछि उनलाई राजविराज हुँदै विराटनगर लगियो। गोल्डेन अस्पतालमा चिकित्सकले दायाँ हात–खुट्टा बचाउन नसकिने निष्कर्ष निकाले। अंग काटियो।

दुई साताको उपचारपछि घर फर्किँदा उनी शारीरिक रूपमा अपांग मात्र होइन, आर्थिक रूपमा पनि ढलेका छन्। अहिलेसम्म ७ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। जग्गा–जमिन नभएको मुखिया परिवार वैदेशिक रोजगारी र बटैया खेतीमा निर्भर थियो। दाजु ढाडको शल्यक्रियापछि काम गर्न सक्दैनन्। ४ वर्षको छोरा, श्रीमती, दाजु–भाउजु, ६ वर्षकी भतिजी र बुवासहित सात जनाको सहारा एउटै कमाउने हात थियो—त्यो हात अब छैन।

घाउ अझै निको भएको छैन, दुई–दुई सातामा अस्पताल धाउनुपर्छ। ऋणको भारी चढ्दैछ। घटनामा ७५ हजार रुपैयाँ नगद, नयाँ मोबाइल, दुई ब्याग र कपडासहितका सामान लुटिएको जाहेरी दर्ता भएको छ। इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योग र चोरी डाँकाको कसुरमा उजुरी परेपछि सिरहाको भगवानपुर–२ की ४५ वर्षीया सोमनीदेवी राम पक्राउ परेकी छन्। उनका छोरा र टेम्पो चालक फरार छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार केही सामान बरामद भएको छ र फरारको खोजी जारी छ। तर प्रश्न केवल पक्राउ र फरारको होइन। वैदेशिक रोजगारीबाट फर्किने श्रमिकहरूका लागि विमानस्थलदेखि गृहजिल्लासम्म सुरक्षित आवतजावत किन सुनिश्चित छैन? राति १० बजेपछि यात्रुहरूलाई सुनसानमा झार्ने यातायातका साधनलाई किन कार्वाही हुँदैन ?

थानीय यातायातमा अनौपचारिक ‘लिफ्ट’ नेटवर्क कसरी सक्रिय छ? एउटा श्रमिकले दुई वर्ष कमाएको पसिना एक रातमा अंग र अस्मिता दुवै गुमाउने गरी लुटिनु यो व्यक्तिगत दुर्घटना मात्र होइन, सुरक्षा र नियमनको गम्भीर विफलता हो।

देवचन्द्रको कथा आँसुको मात्र होइन, चेतावनीको पनि हो। बिदामा घर फर्किने युवालाई अपराधी जालले घर न घाटको वनाएको छ। जबसम्म यातायात, प्रहरी गस्ती र स्थानीय प्रशासनबीच समन्वय सुरक्षा घेरा मजबुत हुँदैन, अर्को देवचन्द्र अँध्यारो सडकमा एक्लै छोडिनेछन र अर्को परिवार ऋण, पीडा र अन्यायको भारी बोकेर बस्न बाध्य हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट