९ महिनाको गर्भ बोकेर चुनावी प्रचारमा रञ्जु दर्शनाः दोहोरो पराजयको बदला लिँदै संसद छिर्ने लालसा
काठमाडौँ— २०७४ को स्थानीय चुनावमा विवेकशील साझाबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार रहेकी रञ्जु दर्शना यो पटक काठमाडौँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व गर्दै संसदको चुनावी मैदानमा सक्रिय छिन्।
१७ वर्षकै उमेरदेखि राजनीतिमा लागेकी रञ्जु गर्भवती रहँदा पनि प्रचार–प्रसारमा एकछिन पनि रोकिएकी छैनन्। निर्वाचन आयोगले सोमबारदेखि १५ दिनको लागि प्रचार–प्रसार अनुमति दिएसँगै उनी आफ्नो श्रीमानसँगै प्रचार अभियानमा निस्किएकी छन्।
काठमाडौँ–१ मा पर्ने काठमाडौँ महानगरपालिकाका १०, ११, २९ र ३१ वडाका ४८ हजार ४८९ मतदातामध्ये २३ हजार २३७ पुरुष र २५ हजार २५२ महिला छन्। यस क्षेत्रमा १६ दलसम्बद्ध र १३ स्वतन्त्र गरी २९ उम्मेदवार छन्, तीमध्ये ४ महिला उम्मेदवारमा रञ्जु पनि एक हुन्।
२०७४ मा काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि उनले विवेकशील साझाबाट चुनाव लडेकी थिइन् र २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन्। २०७९ मा काठमाडौँ–५ बाट प्रतिनिधिसभाको उम्मेदवार हुँदा नतिजा उनका लागि अनुकूल रहेन। यसपटक रास्वपाको बढ्दो लोकप्रियता र स्थानीय मतदाताको विश्वासमा उनी उम्मेदवार बनेकी छन्।
समानुपातिक बन्द सूचीबाट नाम समावेश भए पनि चौतर्फी विरोधका कारण उनले नाम फिर्ता लिई प्रत्यक्ष उम्मेदवारीमा दर्ता गराइन्। रास्वपाको प्राइमरी चुनावमा महिला आकांक्षीहरूमा सर्वाधिक मत पाएकी रञ्जु बन्द सूचीमा राखिएको नम्बरबाट असन्तुष्ट भइ प्रत्यक्ष उम्मेदवार बनेकी हुन्।
रञ्जु केवल राजनीतिक व्यक्तित्व मात्र होइनन्। उनी सामाजिक, मानवअधिकार र लैंगिक समानताको मुद्दामा सक्रिय युवती हुन्। कक्षा १२ देखि नै डा. गोविन्द केसीको स्वास्थ्य सुधार अभियानमा संलग्न रहँदै अन्य नागरिक आन्दोलनमा भाग लिइन्। जातीय समानता, शिक्षा सुधार, सुशासन र लैंगिक समानताको विषयमा उनी आवाज उठाउँदै आएकी छन्। २०७२ को विनाशकारी भूकम्पका बेला टिचिङ अस्पतालमा स्वयंसेवकको रूपमा काम गर्दै उनले मानवीय संकटमा युवाको भूमिका व्यवहारमै उतारेकी छन्।
रञ्जु आफैंलाई उदार विचारधारामा विश्वास गर्ने बताउँछिन्। उनका अनुसार सामाजिक परिवर्तन क्रमिक हुन्छ र परिवार तथा समाजमा संवादमार्फत चेतना फैलाउनु आवश्यक छ। नागरिकता, पहिचान र समानताको सवालमा सक्रिय रहँदै उनी सार्वजनिक बहसको केन्द्रबिन्दु बनेकी छन्।
उनको पारिवारिक पृष्ठभूमि चुनौतीपूर्ण छ। जन्मअघि आमाबुवा अलग भए। बाबु विराटनगरमा बसोबास गर्छन्, उनी आमासँग काठमाडौँमा हुर्किइन्। नागरिकता बनाउने क्रममा प्रशासनिक अवरोध आएपछि कानुनी प्रक्रियाबाट बाबुको नाम जोडेर नागरिकता सुनिश्चित गर्न बाध्य भइन्। नागरिकता पत्रमा आमाको नाम उल्लेख नभएको अनुभवले उनलाई राज्यका संरचनागत लैंगिक असमानताबारे गहिरो प्रश्न उठाउन प्रेरित ग¥यो। ‘दर्शना’ उनको पारिवारिक थर होइन, सामाजिक सञ्जालबाट सुरु भएको नाम हो, जसले उनको सार्वजनिक पहिचान बनाएको छ। नागरिक्तामा भने थर ‘न्यौपाने’ उल्लेख छ।
रञ्जु प्राध्यापक केदारभक्त माथेमाको शिक्षा सुधार प्रतिवेदनमा प्रत्यक्ष संवादमा सहभागी भइन्। २०७२ को भूकम्पमा शव व्यवस्थापन र आपतकालीन सहयोगमा संलग्न भएर उनी मानवीय सेवा र युवाको सक्रियता प्रत्यक्ष देखाएकी छन्।
२०७४ को मेयर र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सफलता नपाए पनि रास्वपाको लोकप्रियता र महिला नेतृत्वको समर्थनले उनलाई काठमाडौँ–१ मा नयाँ राजनीतिक अवसर दिएको छ। ९ महिनाको गर्भवती भएर पनि चुनावी प्रचारमा सक्रिय रहँदै रञ्जु व्यक्तिगत संघर्ष, सामाजिक अभियान र युवा राजनीतिक शक्ति सबैको प्रतिक बनेकी छिन्।
रञ्जु दर्शना समकालीन नेपाली युवापुस्ताको प्रतिनिधि स्वर हुन—जसले व्यक्तिगत संघर्षलाई सामाजिक न्याय, समानता र नागरिक अधिकारसँग जोडेर सार्वजनिक बहस र सक्रिय नेतृत्वमा रूपान्तरण गरिरहेका छन्।
लोकप्रिय
जितेन्द्र नारायण देवको निरन्तर युटर्नले उठायो विश्वसनीयताको प्रश्नः ‘घर फिर्ता’को श्रृंखला कहिलेसम्म ?
