जन्तीको बाजाले गौरमा भड्कियो साम्प्रदायिक विस्फोटः ढुंगामुढा र झडपपछि सेना उतारियो
रौतहट — रौतहटको गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा साम्प्रदायिक तनावले गम्भिर रुप लिएको छ। बिहीबार राति सुरु भएको सामान्य भनाभन शुक्रबार बिहानसम्म आइपुग्दा गम्भिर तनावमा रुपमान्तरण भएको थियो।
विवाहको जन्तीमा बजाइएको बाजागाजाबाट सुरु भएको विवाद दुवै समुदायबीच खुला झडपमा परिणत भएपछि गाउँ नै त्रसित वनेको छ। स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपरेको छ।
घटना गौर नगरपालिका–६ मा हिन्दू समुदायको वैवाहिक कार्यक्रम भइरहेका बेला सुरु भएको हो। जन्ती बाजागाजा बजाउँदै गाउँ हुँदै जाँदा सोही समयमा नजिकैको मस्जिदमा रात्री नमाज पढिरहेको मुस्लिम समुदायले आपत्ति जनाएको थियो।
त्यसपछि दुई पक्षबीच चर्को भनाभन भएको बताइएको छ। प्रारम्भिक विवाद त्यत्तिमै सीमित नभई केही व्यक्तिमाथि कुटपिटसम्म पुगेपछि परिस्थिति एकाएक तनावपूर्ण बनेको थियो। सो घटनापछि रातभरि नै गाउँमा असहज वातावरण कायम रह्यो।
शुक्रबार बिहानैदेखि स्थिति फेरि विस्फोटक बनेको बताइएको छ। रातिको विवादलाई लिएर दुवै पक्षका मानिसहरू आमनेसामने भएपछि गाउँमा ढुंगामुढा सुरु भएको थियो। स्थानीय बासिन्दाका अनुसार बिहानदेखि नै दुवै पक्षबीच झडप जारी रहेपछि गाउँमा भय र त्रास फैलिएको छ।
परिस्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ।
रौतहटका सीडीओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिएका छन्। उनका अनुसार घटनास्थलमा नेपाल प्रहरीका प्रमुख सीताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी समेत पुगेका थिए।
प्रशासनका अनुसार प्रारम्भिक रूपमा अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो भने पछिल्लो अवस्थालाई ध्यानमा राख्दै सुरक्षा संख्या थप बढाएर करिब पाँच सयभन्दा बढी सुरक्षाकर्मी क्षेत्रमा तैनाथ गरिएको छ। गाउँका संवेदनशील स्थानहरूमा निगरानी बढाइएको छ र थप झडप हुन नदिन सुरक्षा घेरा कडा पारिएको प्रशासनले जनाएको छ।
घटनामा घाइते वा पक्राउबारे आधिकारिक विवरण अझै सार्वजनिक भएको छैन। यद्यपि सुरक्षा निकायले घटनाको कारण, संलग्न व्यक्तिहरू र सम्भावित उक्साहटबारे विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
स्थानीय तहमा फैलिएको तनावले चुनावी माहोलसमेत प्रभावित हुनसक्ने आकलन गरिएको छ। राजनीतिक र सामाजिक रूपमा संवेदनशील मानिने क्षेत्रमा भएको यो घटनाले प्रशासनलाई मात्र होइन, स्थानीय समुदायलाई पनि सतर्क रहन बाध्य बनाएको छ। सुरक्षा निकायले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै अफवाह नफैलाउन चेतावनी दिएको छ।
