‘घण्टीमा भोट नहाल्ने देशद्रोही हुन’ भन्दै अहंकार देखाएपछि सुनसरीमा रास्वपा उम्मेदवार लखेटिए

इटहरी — चुनाव नजिकिँदै जाँदा सुनसरीको निर्वाचन क्षेत्र २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू एकपछि अर्को विवादमा तानिँदै गएका छन्। ककस कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिका कारण सुनसरी–३ का प्रतिनिधिसभा उम्मेदवार अशोक चौधरी इटहरीमा जनताको प्रतिवादको घेरामा परे भने सुनसरी–२ का उम्मेदवार लालबिक्रम थापा भने मतदातासँग प्रत्यक्ष प्रश्न–उत्तर गर्ने कार्यक्रममै अनुपस्थित भएपछि राजनीतिक विश्वसनीयतामाथि गम्भीर प्रश्नको शिकार भएका छन्।

इटहरी जेसिसले आयोजना गरेको प्रत्यक्ष संवाद (ककस) कार्यक्रममा बोल्दै चौधरीले ‘घण्टीलाई भोट नहाल्ने मानिस देशविरोधी हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि कार्यक्रमस्थलमै वातावरण एकाएक तातिएको थियो। मतदाताको स्वतन्त्र निर्णयमाथि दबाब सिर्जना गर्ने किसिमको असहिष्णु अभिव्यक्ति भएको भन्दै कार्यक्रममा सहभागी युवाहरूले तत्काल प्रतिवाद गरेका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार हलभित्रै चर्को नाराबाजी सुरु भयो र ‘घण्टी मुर्दावाद’ जस्ता नारा गुन्जिएपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थिति थप बिग्रन सक्ने संकेत देखिएपछि प्रहरी परिचालन गरिएको थियो र प्रहरीले सुरक्षा घेरामा राख्दै चौधरीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको जनाएको छ।

चौधरीले देशमा परिवर्तन ल्याउन दुई तिहाइ सरकार आवश्यक रहेको तर्क अघि सारेका थिए। उनले नागरिकलाई सम्बोधन गर्दै परिवर्तन चाहिने हो भने दुई तिहाइ पु¥याउन सबैले सहयोग गर्नुपर्ने बताएका थिए। तर उनको भनाइको शैली र प्रयोग गरिएको शब्द चयनले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठाएको भन्दै कार्यक्रममै उपस्थित मतदाताहरूले कडा प्रतिक्रिया जनाएका थिए।

घटनापछि सामाजिक सञ्जालमा पनि उनको अभिव्यक्तिलाई लिएर तीव्र बहस सुरु भएको छ। केहीले यसलाई राजनीतिक आवेगको परिणाम भन्दै बचाउ गरेका छन् भने धेरैले लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको भाषण भन्दै आलोचना गरेका छन्।

यही विवादसँगै सुनसरी–२ मा अर्को प्रसंगले पनि चुनावी बहसलाई तातो बनाएको छ। निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित मतदाता–उम्मेदवार प्रत्यक्ष संवाद कार्यक्रमहरूमा उम्मेदवार लालबिक्रम थापा भने लगातार अनुपस्थित देखिए। बुधबार इटहरी–१६ हर्दियामा रहेको बालग्राम टोल विकास समितिले आयोजना गरेको उम्मेदवार–मतदाता अन्तरक्रिया कार्यक्रममा विभिन्न दलका १२ जना उम्मेदवार सहभागी भएर मतदाताका प्रश्नको सामना गरिरहेका बेला थापा उपस्थित भएनन्।

आयोजकका अनुसार उनलाई औपचारिक पत्राचार र फोनमार्फत कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको थियो। सुरुमा उनले पार्टीको निर्देशनका कारण नआउने बताएका थिए भने कार्यक्रमको अघिल्लो साँझ सहभागी हुने वाचा गरे पनि अन्ततः अनुपस्थित नै रहे।

निर्धारित चुनावी घरदैलोमा व्यस्तता देखाएर अन्तरक्रियामा सहभागी नभएपछि कार्यक्रममा उपस्थित मतदाताहरू र उनका समर्थकहरूमै निराशा देखिएको बताइएको छ। कार्यक्रममा सहभागी धेरैले उनको खोजी गरेका थिए भने सामाजिक सञ्जालमा लाइभ प्रसारण हेर्नेहरूले समेत उनको अनुपस्थितिबारे टिप्पणी गरेका थिए। स्थानीयस्तरमा यसलाई जनताको प्रश्नबाट भाग्ने प्रवृत्तिको संकेतका रूपमा व्याख्या गरिएको छ।

थापाको अनुपस्थितिसँग अर्को गम्भीर आरोप पनि जोडिएको छ। जिल्ला अदालत सुनसरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर ७४ लाख रुपैयाँभन्दा बढी रकम नतिरेको तथा अनियमितता गरेको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ, जुन हाल विचाराधीन अवस्थामा रहेको बताइएको छ।

यही विषय मतदाताबाट उठ्न सक्ने भएकाले उनले अन्तरक्रियाबाट दूरी बनाएको दाबी स्थानीय मतदाताहरूले गरेका छन्। बालग्राम टोल विकास समितिका निर्वतमान अध्यक्ष देविप्रसाद भट्टराईका अनुसार उक्त विषयमा सप्रमाण जनतासामु आफ्नो धारणा राख्ने उपयुक्त अवसर भए पनि थापाले त्यसलाई गुमाएका छन्।

इटहरीका जेनजी अभियन्ता अतित राईले उम्मेदवार स्वयं उपस्थित भएर आरोपबारे स्पष्टिकरण दिनुपर्ने अपेक्षा आफूहरूले राखेको बताए। उनका अनुसार चुनावअघि नै जनतासामु उपस्थित भएर प्रश्नको सामना गर्न नसक्ने नेताले चुनाव जितेपछि जनताको भरोसा कसरी जित्छ भन्ने गम्भीर प्रश्न उठेको छ। राईले यसले युवा मतदाताबीच रास्वपाप्रतिको विश्वास डगमगाएको प्रतिक्रिया दिएका छन्।

रोचक कुरा के छ भने, जेसिसले आयोजना गरेको ककस कार्यक्रममा पनि थापा सहभागी भएनन्। जेसिसले सुनसरी–२ र ३ का सबै उम्मेदवारलाई सार्वजनिक रूपमा सहभागिताका लागि आह्वान गरेको थियो। तर थापाले पार्टीको निर्देशन अनुसार सार्वजनिक ककसमा सहभागी नहुने र घरदैलोमार्फत मतदातासँग संवाद गर्ने नीति अपनाइएको बताएका थिए।

यही नीति देखाउँदै उनी कार्यक्रमबाट टाढा रहे पनि सोही दलका उम्मेदवार अशोक चौधरी भने कार्यक्रममा उपस्थित भई साढे तीन घण्टासम्म मतदातासँग प्रत्यक्ष संवादमा बसेका थिए। तर ककसको अन्तिमतिर दुई तिहाइको विषयमा दिएको विवादास्पद अभिव्यक्तिले उनी आफैं जनताको प्रतिवादको घेरामा परे र वातावरण तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै उनलाई सुरक्षा दिँदै बाहिर निकाल्नु परेको थियो।

चौधरी निकट नेताहरूले भने ककस कार्यक्रममा भएको विवादलाई पुराना दलका कार्यकर्ताले जानाजानी उचालेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा सुनसरीका यी निर्वाचन क्षेत्रमा रास्वपाले जित्ने सम्भावना बढेपछि राजनीतिक रूपमा आत्तिएका समूहहरूले विवाद सिर्जना गरेको हो। तर आलोचकहरूले उम्मेदवारको अभिव्यक्ति र जनतासँगको संवाद शैली नै विवादको मुख्य कारण बनेको बताएका छन्।

यसैबीच रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार उम्मेदवारहरू जनताको घरदैलोमै पुगेर प्रश्नको जवाफ दिन तयार रहेको दाबी गरेका छन्। लामिछानेले सुर्खेतमा आयोजित चुनावी आमसभामा सार्वजनिक बहसको ठेक्का कसैले नलिन आग्रह गर्दै घरदैलोमै संवाद गर्ने रणनीति पार्टीले अपनाएको बताएका थिए।

तर सुनसरीमा देखिएका यी घटनाहरूले चुनावी माहोललाई थप तताएको मात्र होइन, मतदातासँगको प्रत्यक्ष संवाद, अभिव्यक्तिको संयमता र राजनीतिक उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएको छ। सुनसरीका निर्वाचन क्षेत्र २ र ३ मा अहिले मतदाता र उम्मेदवारबीचको दूरी, आक्रोश र अविश्वास नै चुनावी बहसको केन्द्रमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट