श्रीमतीको भिडियो रिलिज भएपछि फ्लप भयो बालेन्द्रको ‘गरिबको चमेली’ र्यापः भड्किलो जीवनशैलीमाथि तीव्र बहस
दमक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन्द्र साह झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेसँगै चुनावी माहोल एकाएक तातिएको छ।
नयाँ राजनीतिक संस्कार, परिवर्तन र सादा जीवनशैलीको सन्देश बोकेर देश दौडाहामा निस्किएका साह चुनावी सभाहरूमा सक्रिय देखिन्छन्। तर यहीबीच उनको व्यक्तिगत जीवन र परिवारसँग जोडिएका केही घटनाले भने उनले उठाइरहेको राजनीतिक सन्देश र व्यवहारबीचको दूरीबारे गम्भीर प्रश्न खडा गरेको छ।
साह देशभर चुनावी अभियानमा व्यस्त भइरहेका बेला उनकी पत्नी सबिना काफ्ले झापामा घरदैलो अभियानमा मत माग्दै देखिएकी छन्। तर सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले अहिले चुनावी वातावरणमै नयाँ बहस जन्माएको छ। उक्त भिडियोमा काफ्ले ब्युटी पार्लरमा पेडिक्योर–म्यानिक्योर गरिरहेको दृश्य देखिन्छ, जहाँ कर्मचारीहरूले उनको हातखुट्टाको सौन्दर्य हेरचाह गरिरहेका छन्।
यो दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ र स्थानीय स्तरमा समेत यसको व्यापक चर्चा भएको छ। धेरैले भिडियो हेरेपछि अनुहार खुम्च्याउँदै प्रतिक्रिया जनाएका छन्। यो भिडियो भाइरल हुनुको कारण केवल व्यक्तिगत जीवनशैली मात्र नभई त्यसले राजनीतिक सन्देशसँग देखिएको विरोधाभास हो।
गायक रामेश र मञ्जुल तथा शब्दकार श्याम तमोटको चर्चित जनवादी गीत ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन’ लाई र्याप शैलीमा गाएर चर्चामा आएका साहले गरिब र श्रमिक वर्गको आवाज उठाउने सन्देश दिएका थिए। यही गीतका कारण गरिब, भूमिहिन र सुकुम्बासीको समर्थन पाउँदै उनले चुनाव जितेको चर्चा धेरैले गर्ने गरेका छन्। तर मेयर बनेपछि राजधानी काठमाडौँमा सडक किनारमा पोलेको मकै बेचेर जीविकोपार्जन गरिरहेका निमुखा मानिसहरूलाई हटाइएको आरोप उनले पहिलेदेखि नै झेलिरहेका छन्।
मधेस क्षेत्रका केही व्यवसायी र सुकुम्बासी समूहले आफूहरूमाथि भएका कारबाहीका घटनालाई उदाहरण दिँदै साहको व्यवहार र सन्देशबीच असमानता रहेको आरोप लगाउँदै आएका छन्। नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीहरूको बासस्थानमा वैकल्पिक व्यवस्था नगरी डोजर चलाइएको विषय पनि आलोचनाको केन्द्र बनेको थियो।
यस्ता आरोपहरूबीच साहको परिवारसँग जोडिएको विलासी जीवनशैली देखिने दृश्य सार्वजनिक भएपछि ‘सादा जीवन, उच्च विचार’ भन्ने राजनीतिक सन्देश कति व्यवहारिक छ भन्ने प्रश्न मतदाताबीच झन् तीव्र रूपमा उठ्न थालेको देखिन्छ।
यसैबीच रास्वपाको समानुपातिक सूचीमा समावेश भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल का छोरा सचिन ढकाल, ‘गोल्डस्टार’ ब्रान्डको जुत्ता उत्पादन गर्ने कम्पनी किरण शूज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा, फिल्मकर्मी आसिफ शाह, दलित कोटामा गायक प्रकाश सपुत, मोडल एवं सञ्चारकर्मी रीमा विश्वकर्मा, तथा जनजाति कोटामा पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ र गायिका त्रिशला गुरुङ लगायतको नाम सार्वजनिक भएपछि पार्टीले आफूलाई गरिब र आमनागरिकको प्रतिनिधित्व गर्ने शक्ति भन्दै आएको दाबी कत्तिको यथार्थपरक छ भन्ने प्रश्न पनि उठाइएको छ।
सामाजिक सञ्जालमा कतिपयले यो सूचीलाई ‘सुकिलोमुकिलो अनुहारहरूको राजनीति’ भनेर टिप्पणी गरेका छन्। अहिले साह झापा–५ केन्द्रित चुनावी अभियानमा व्यस्त भइरहेका बेला उनकी पत्नीको पार्लर भिडियो सार्वजनिक भएपछि त्यहाँका मतदाताबीच पनि यो विषय चर्चा र बहसको केन्द्र बनेको छ।
झापा तराई–मधेस क्षेत्रको गर्मीका लागि परिचित जिल्ला हो, जहाँ गर्मीयाममा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने गरेको छ। यस्तो क्षेत्रमा दिनभर घाम, हिलो र खेतमा काम गर्ने ग्रामीण समुदायबीच चुनावी अभियान चलिरहेका बेला पार्लरको दृश्यले सामाजिक सन्देश कस्तो दिन्छ भन्ने प्रश्न स्थानीय स्तरमै उठिरहेको छ। कतिपय मतदाताले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ग्रामीण जीवनको कठिनाइ र नेताहरूको जीवनशैलीबीचको दूरीबारे चिन्ता व्यक्त गरेका छन्।
यो घटनाले केवल व्यक्तिगत जीवनशैलीको बहस मात्र होइन, राजनीतिक नेतृत्व र उनीहरूको परिवारले सार्वजनिक जीवनमा कस्तो व्यवहार देखाउनु पर्छ भन्ने व्यापक प्रश्न पनि उठाएको छ। विशेष गरी नयाँ राजनीतिक संस्कारको नारा लिएर आएका दलका नेताहरू र तिनका परिवारले प्रस्तुत गर्ने जीवनशैली कस्तो हुनुपर्छ भन्ने विषय अहिले सतहमा आएको देखिन्छ।
यसबीच साहसँग जोडिएको अर्को विवाद पनि पुनः चर्चामा आएको छ—सिंहदरबार प्रकरण। करिब दुई वर्षअघि भएको एउटा घटनाले अहिले फेरि राजनीतिक बहसमा स्थान पाएको छ। २०८० भदौ १६ गते उनकी पत्नी सबिना काफ्ले चढेको सरकारी नम्बर प्लेटको गाडी ललितपुरको बालकुमारी क्षेत्रबाट कोटेश्वर पुगेको थियो, जहाँ ट्राफिक चेकिङ चलिरहेको थियो। ट्राफिक प्रहरीले सेतो नम्बर प्लेट देखेपछि गाडी रोकेर कागजात र शनिबार सरकारी सवारी चलाउन आवश्यक पास मागेको थियो।
चालकले उक्त सवारीसाधन काठमाडौँ महानगरपालिकाका मेयरको भएको जानकारी दिए पनि गाडीमा मेयर नदेखिएपछि ट्राफिक प्रहरीले सोधपुछ गरेको थियो। चालकले मेयरकी पत्नी अस्पतालबाट फर्किँदै गरेको जानकारी दिएपछि ट्राफिक प्रहरीले सम्झाएर सवारीसाधन छाडिदिएको थियो। तर यही घटनालाई साहले संघीय सरकारद्वारा अपमान गरिएको रूपमा व्याख्या गर्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका थिए।
उनले लेखेको स्ट्याटसले ठूलो विवाद निम्त्याएको थियो, जसमा महानगरका सवारीसाधन रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए। चौतर्फी आलोचना भएपछि उक्त स्ट्याटस हटाइए पनि त्यसबारे औपचारिक रूपमा कुनै स्पष्टीकरण वा माफी मागिएको थिएन। यही कारणले अहिले पनि त्यो घटना बारम्बार राजनीतिक बहसमा तानिँदै आएको छ।
यसपछि भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबारसहित राज्यका केही महत्वपूर्ण संरचनामा आगजनी र तोडफोड भएको घटनाले पनि विवादलाई थप गहिरो बनाएको थियो। आन्दोलन हिंसात्मक बनेको घटनामा विभिन्न पक्षको भूमिका बारे बहस भइरहेका बेला साहको अघिल्लो अभिव्यक्ति र त्यसपछिको घटनालाई जोडेर आलोचना गर्नेहरू पनि देखिएका छन्। यसबीच महानगरपालिकाको दमकल आगो निभाउन नपुगेको विषय पनि विवादको केन्द्र बनेको थियो, जसलाई कतिपयले बालेन्द्रकै योजनामा सिंहदरबार जलेको प्रमाणको रूपमा व्याख्या गरेका छन्।
एकपछि अर्को विवादसँग नाम जोडिँदै गएपछि अहिले चुनावी मैदानमा उत्रिएका बालेन्द्र साहको छवि र उनको राजनीतिक सन्देश दुवै गहिरो बहसको विषय बनेका छन्। समर्थकहरूले उनलाई पुरानो राजनीतिक प्रणालीविरुद्ध उठेको नयाँ आवाजका रूपमा प्रस्तुत गरिरहेका छन् भने आलोचकहरूले उनका अभिव्यक्ति, निर्णय र घटनाक्रमहरूलाई उदाहरण दिँदै उनको नेतृत्वशैलीमाथि प्रश्न उठाइरहेका छन्।
झापा–५ को चुनावी मैदानमा यो बहसले मतदाताको धारणा कता मोड्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।
