चुनावको मुखमा नेता पलायनको रोगले हल्लियो राष्ट्रिय स्वतन्त्र पार्टीः ठुलो राजनीतिक संकटमा रवि लामिछाने

काठमाडौँ— प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र असन्तुष्टि चुलिँदै गएको छ। चुनावी मैदानमा आफूलाई विकल्पका रूपमा प्रस्तुत गर्दै आएको पार्टीबाट पछिल्ला दिनहरूमा एकपछि अर्को नेता बाहिरिन थालेपछि पार्टीभित्र गम्भीर राजनीतिक संकटको संकेत देखिएको छ।

संस्थापकदेखि प्रदेश तथा जिल्ला तहका प्रभावशाली नेतासम्मले पार्टी परित्याग गर्दै नेतृत्वमाथि आर्थिक चलखेल, अपारदर्शिता, आन्तरिक लोकतन्त्रको अभाव र कार्यकर्ताको अवमूल्यनजस्ता गम्भीर आरोप लगाएका छन्।

पछिल्लो पटक धनगढी नगरपालिकाका संस्थापक सभापति इश्वरी विष्टले पार्टी छोडेको केही घण्टामै नुवाकोटका नेता अशोककुमार थापाले पनि पार्टी परित्याग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै गएको, नेतृत्व चयन ‘आशीर्वाद’का आधारमा हुन थालेको र संगठन निर्माणमा सक्रिय कार्यकर्तालाई पाखा लगाइँदै गएको आरोप लगाएका छन्। २०७९ सालको निर्वाचनदेखि उनी रास्वपा नुवाकोटको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा सक्रिय थिए र नुवाकोट क्षेत्र नम्बर–२ का उम्मेदवार सुमनबिक्रम पाण्डेसँग निकट मानिन्थे।

यसअघि मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गर्दै उम्मेदवार छनोटमा आर्थिक चलखेल भएको आरोप लगाएकी थिइन्। उनले संगठनमा योगदान गरेका कार्यकर्ताको मूल्यांकन नभएको र निर्णयहरू आर्थिक प्रभावमा आधारित भएको बताएकी छन्। पार्टी छोडेपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरिसकेकी छन्। ममतासँगै काठमाडौंकी संस्थापक नेता खेमकुमारी भुर्तेलले पनि आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको भन्दै पार्टी छाडेकी थिइन्।

उम्मेदवार छनोटमा आर्थिक प्रभाव परेको आरोप लगाउँदै बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं र केन्द्रीय गुनासो विभाग प्रमुख प्रणव शमशेर राणालगायत नेताले पनि पार्टीबाट बाहिरिने निर्णय गरेका छन्। हुमागाईंले पार्टी विधिअनुसार नचलेको, समर्पित कार्यकर्तालाई पाखा लगाइएको र बाहिरबाट आएका व्यक्तिलाई आर्थिक आधारमा अवसर दिइएको आरोप लगाएका छन्। उनले केन्द्रीय संरचना विस्तार, सदस्यता व्यवस्थापन र आर्थिक पारदर्शितामाथि पनि गम्भीर प्रश्न उठाएका छन्।

यस्तै, बारा जिल्लाका सह–सचिव तथा संगठन विभाग प्रमुख पवन चौधरीले पनि पार्टीको निर्णय प्रक्रिया स्थापना कालीन मूल्य र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। उनले उम्मेदवार छनोट प्रक्रियामा भएको चलखेल र संगठनमा खटिएका सदस्यहरूको योगदानको उचित मूल्यांकन नभएको आरोप लगाएका छन्।

मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पनि पार्टी छोड्दै पुनः कांग्रेसमा फर्किएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका पराजुलीले संगठन विस्तारमा आफूले ठूलो मेहनत गरेको तर पार्टीभित्र दुःख गर्नेहरूको सम्मान नभएको आरोप लगाएका छन्। उनका अनुसार रास्वपामा बसेर ‘सच्चा राजनीति’ गर्न नसकिने अवस्था सिर्जना भएपछि पुरानै पार्टीमा फर्किनु परेको हो। उनी कांग्रेस सभापति गगन कुमार थापाले सर्लाहीमा आयोजित कार्यक्रममा पुनः कांग्रेसमा स्वागत गरेका थिए।

रास्वपाबाट बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पनि पार्टी छाडेका छन्। नवलपरासी क्षेत्र नम्बर–१ बाट टिकट नपाएपछि उनले राजीनामा दिएको बताइएको छ। सो क्षेत्रमा रास्वपाले कांग्रेसबाट भित्रिएका विक्रम खनाललाई उम्मेदवार बनाएको छ। त्यस्तै रुपन्देही–१ का उम्मेदवार सिफारिस श्री कुँवरले पनि पार्टी नै छाडेका छन्।

उनले पार्टीले घोषणा गरेको ‘प्राइमरी इलेक्सन’ नगरी टिकट वितरण गरेको, उम्मेदवार आकांक्षीबाट रकम उठाइएको र निर्णय प्रक्रिया अपारदर्शी भएको आरोप लगाएका छन्। उनका अनुसार समानुपातिकमा नाम राखिदिने भन्दै ५० हजार रुपैयाँ र प्रत्यक्ष उम्मेदवारीका लागि २५ हजार रुपैयाँ उठाउने जस्तो भ्रष्ट अभ्यास पार्टीभित्र मौलाउँदै गएको छ।

यसअघि पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका प्रभावशाली नेताहरू पनि क्रमशः बाहिरिसकेका छन्। रास्वपाको सुरुवाती चरणमा सक्रिय रहेका डा. मुकुल ढकाल, पूर्वमन्त्री सुमना श्रेष्ठ, पूर्व डिआईजी रमेश खरेल, पूर्व प्रमुख सचेतक सन्तोष परियार, पूर्व सांसद ढाकाकुमार श्रेष्ठ, केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, केन्द्रीय कानुन विभाग सदस्य डा. नारायण घिमिरे तथा अनुसन्धान विभाग प्रमुख भरतमणि देवकोटाले पनि नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै पार्टी छाडेका थिए।

पार्टीभित्रको असन्तुष्टि यतिमै सीमित छैन। सम्मानजनक स्थान नपाएको र पूर्वसहमति पालना नभएको भन्दै एकता भएको १२ दिनमै पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङको ‘उज्यालो नेपाल’ पार्टी पनि रास्वपाबाट अलग भएको थियो। यसले रास्वपाभित्रको आन्तरिक द्वन्द्व झनै उजागर गरेको थियो।

यता पार्टीले भने आफूहरूको पक्षमा चुनावी लहर आएको दाबी गरिरहँदा वास्तविकता भने फरक देखिन थालेको छ। पार्टी निर्माणमा योगदान दिएका संस्थापक र प्रभावशाली नेताहरू क्रमशः बाहिरिन थालेपछि ‘नयाँ राजनीति’को नारासहित उदाएको रास्वपा आन्तरिक संकटमा फसेको विश्लेषण गर्न थालिएको छ।

पार्टी निर्माण गर्ने र अहिलेको नेतृत्वबीचको अन्तरविरोध बढ्दै जाँदा चुनावको ठीक अगाडि रास्वपाभित्र देखिएको यो ‘नेता पलायन’ले आगामी निर्वाचनमा पार्टीको शक्ति र संगठनात्मक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। विश्लेषकहरूका अनुसार नयाँ राजनीति र पारदर्शिताको नारासहित उदाएको पार्टीभित्रै आर्थिक चलखेल, अपारदर्शिता र नेतृत्व विवादको आरोप बलियो हुँदै जानु आगामी चुनावी परिणाममा निर्णायक असर पार्न सक्ने संकेत हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट