सीके राउतलाई ठुलो झट्काः उम्मेदवारले नै पार्टी छोडे, नेतृत्वमाथि प्रश्नै प्रश्न

रौतहट — फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रौतहट–२ बाट जनमत पार्टीका उम्मेदवार २८ वर्षीय सोनु कुशवाहाले आइतबार राजिनामा दिएर पार्टी छोडेको घोषणा गरेका छन्। पार्टीभित्र बढ्दो व्यक्तिवाद र परिवारवादलाई देखाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन।

सोनुले पार्टीभित्र युवाको आवाज दबाउने प्रवृत्ति, जनताको समस्या सुन्ने वातावरणको अभाव, र नेतृत्वको एकलौटी निर्णयमाथि कडा आपत्ति जनाएका छन्। ‘परिवर्तनका लागि उम्मेदवारी दिएको थिएँ। तर जहाँ जनताको आवाजको सुनुवाई हुँदैन, त्यहाँ रहनुको अर्थ छैन,’ उनले भने। नेतृत्व आफु र दाइको चुनावी क्षेत्रमा मात्रै केन्द्रित भएको र अन्यत्र कुनै समन्वय नगरेको आरोपसमेत उनले लगाए।

उनको राजीनामा घोषणा पछि रौतहट–२ का अन्य स्थानीय नेताहरूले पनि सामूहिक रूपमा पार्टी छोडेका छन्। उनीहरूले नेतृत्वको निर्णय प्रक्रियामा स्थानीय जनभावनालाई बेवास्ता गरिएको, विकासका स्पष्ट योजना नदेखिएको र स्थानीय नेतृत्वको सहभागिता सीमित भएको बताउँदै असन्तोष व्यक्त गरेका छन्।

सोनुको पार्टी त्यागले निर्वाचन नजिकिँदै गर्दा रौतहट–२ सहित अन्यत्र पनि जनमत पार्टीको चुनावी समीकरणमा ठूलो असर पार्ने देखिएको छ। निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे उनी खुलेका छैनन्। यसपटक सो क्षेत्रमा २६ जना उम्मेदवार प्रतिनिधिसभाको सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन्।

उम्मेदवारकै पार्टी त्यागले मतदातामा असमञ्जस्यता सिर्जना भएको छ। राजनीतिक विश्लेषकहरू भन्छन्, यस्तो समयमा उम्मेदवारले पार्टी छोड्नु केवल व्यक्तिगत असन्तोष मात्र नभई पार्टीभित्रको कमजोर संरचना, नेतृत्वको केन्द्रीकरण र स्थानीय सहभागिताको अभावलाई उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट