बालेनको भाषणमा ठेकेदार झुण्ड्याउने चेतावनी, व्यवहारमा योजना अलपत्र पार्ने ठेक्केदारलाई टिकट
काठमाडौँ– धनगढीको चुनावी मञ्चमा उभिएर विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ‘रुखमा झुण्ड्याउनुपर्ने’ भन्दै आक्रोश पोखेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहलाई अहिले उनकै भाषण गलपासो वन्न थालेको छ। ‘रुखमा झुण्ड्याउनु पर्ने ठेकेदारलाई किन उम्मेदवार बनाएर पठाएको’ भन्दै प्रश्न आउन थालेपछि उनि रक्षात्मक बनेका छन्।
ठेकेदारलाई झुण््याउने र थुन्ने भाषण गर्ने नेता र त्यही दलले वर्षौँदेखि अधुरा परियोजनासँग जोडिएका ठेकेदारलाई उम्मेदवार बनाएको तथ्य बाहिरिएपछि रास्वपाको राजनीति फेरि कठघरामा उभिएको छ। सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको दाबी गर्दै आएको पार्टी भित्र देखिएको यो विरोधाभासले अहिले बहस मात्र होइन, गम्भीर प्रश्न पनि जन्माएको छ।
चुनावी माहोल तातिरहेका बेला फागुन ८ गते वरिष्ठ नेता बालेन्द्र साह धनगढी पुगेका थिए। करिब तीन मिनेटको भाषणमा उनले विकास निर्माणमा ढिलाइ गर्ने ठेकेदारप्रति कडा टिप्पणी गर्दै राज्य कमजोर भएको कारण काम अलपत्र परेको बताएका थिए। उनको आक्रोश सरकारप्रति लक्षित थियो, तर भाषणको शैली ठेकेदारलाई सीधै कठोर कारबाही गर्नुपर्ने दिशामा केन्द्रित थियो। भीडले ताली बजायो, तर केही दिनमै सार्वजनिक भएका तथ्यहरूले त्यो भाषणलाई उल्टै राजनीतिक विवादको केन्द्रमा ल्याइदियो।
रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीले उठाएको उम्मेदवार तौफिक खान बुटवल बजार क्षेत्रमा सडक विस्तारको ठेक्का लिएर काम अधुरै राखेको ठेकेदारका रूपमा चिनिन्छन्। बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक विस्तार परियोजना सुरुमा अर्को कम्पनीले अधुरो छाडेपछि दोस्रो पटक टेन्डर गरिएको थियो। त्यसपछि बाबुल दर्शन मालिका जेभी नामक कम्पनीले भ्याटसहित ३३ करोड रुपैयाँमा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। उक्त कम्पनी तौफिक खानसँग सम्बन्धित रहेको र उनले आफैँ ठेक्का सम्झौतामा हस्ताक्षर गरेको तथ्य पनि अभिलेखमा देखिन्छ।
सम्झौताअनुसार काम २०८१ असोजमै सकिनुपर्ने थियो। तर समयसीमा पार भएर पनि निर्माण प्रगति आधा जति मात्र पुगेको छ। सडक डिभिजन कार्यालयका अनुसार १६ महिना बित्दा करिब ५२ प्रतिशत मात्र काम सम्पन्न भएको छ भने थपिएको म्याद सकिन अझै डेढ महिना बाँकी हुँदा ४८ प्रतिशत काम बाँकी छ। परियोजनाबाट १७ करोड रुपैयाँ भुक्तानी समेत लिइसकेको तथ्यले स्थानीयमा थप असन्तोष बढाएको छ। चुनावी मञ्चमा ठेकेदारमाथि कडा भाषण गर्ने दलले त्यही प्रकारका ठेक्कासँग जोडिएका व्यक्तिलाई उम्मेदवार बनाएको दृश्यलाई धेरैले राजनीतिक विडम्बनाका रूपमा व्याख्या गर्न थालेका छन्।
यो विवाद केवल रुपन्देहीमा सीमित छैन। जनकपुर क्षेत्रमा पनि यस्तै अर्को उदाहरण चर्चामा आएको छ। धनुषा–१ मा उम्मेदवार बनेका किशोरी साह ‘कमल’सँग जोडिएको जलाद नदी पुल निर्माण परियोजना नौ वर्षदेखि अधुरो छ। दुई वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको पुल बारम्बार म्याद थपिँदै अहिले पनि पूर्ण हुन सकेको छैन। स्थानीय बासिन्दाले वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने अवस्था अझै कायम छ। निर्माण कम्पनीसँग उनको विगतको सम्बन्ध र अहिलेको राजनीतिक उम्मेदवारीले दलको नैतिक दाबीमाथि प्रश्न थप तीव्र बनाएको छ।
यो सबै घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—भाषणमा कठोर र व्यवहारमा फरक किन? चुनावी मञ्चमा भ्रष्टाचार, ढिलासुस्ती र पुराना प्रवृत्तिविरुद्ध कडा अभिव्यक्ति दिने दलभित्रै अधुरा परियोजनासँग जोडिएका व्यक्तिहरूलाई टिकट दिनु केवल राजनीतिक रणनीति हो कि सिद्धान्तको कमजोरी? विशेष गरी सहकारी प्रकरण, आर्थिक पारदर्शिता र नेतृत्वमाथि लागेका आरोपका बीच यस्तो विरोधाभास बाहिर आउँदा ‘हामी फरक छौँ’ भन्ने नारा थप दबाबमा परेको देखिन्छ।
अधुरा परियोजनाले दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा त्यही परियोजनासँग जोडिएका व्यक्तिहरूले विकासको नयाँ वाचा गर्नु धेरैलाई विडम्बनापूर्ण लागिरहेको छ। चुनावी भाषणमा व्यक्त आक्रोश र वास्तविक उम्मेदवारीबीच देखिएको दूरीले अहिले नयाँ राजनीतिक संस्कृतिको दाबी नै परीक्षणमा परेको छ।
यो प्रश्न एक वा दुई उम्मेदवारको हैन, प्रश्न राजनीतिक विश्वसनीयताको हो। यदि भाषण र निर्णयबीचको अन्तर बढ्दै गयो भने जनताले नयाँ विकल्प खोज्ने कारण झन् बलियो हुन सक्छ। सुशासनको नारा केवल शब्दमा होइन, कार्यशैलीसम्म देखिनुपर्ने दबाब अहिले यो दलमाथि बढिरहेको छ।
यो पनि,
