बालेनको धमाकेदार घोषणापत्रः १०० दिनमा आयोग, १००० दिनमा भूमि समाधानदेखि शिक्षा–स्वास्थ्यमा ठूलो रूपान्तरणको घोषणा
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले झापा क्षेत्र नम्बर–५ केन्द्रित आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले सार्वजनिक गरेको बाचापत्रमा संघीय संसद्को भूमिकादेखि स्थानीय स्तरको विकास, भूमि व्यवस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनसम्मका एजेन्डाहरूलाई समेट्दै आफूले चुनाव जितेपछि कार्यान्वयन गर्ने ठोस योजना प्रस्तुत गरेका छन्।
चुनावी प्रतिस्पर्धा चर्किँदै गएको बेला सार्वजनिक गरिएको यो बाचापत्रलाई राजनीतिक रूपमा अर्थपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। बालेनले आफ्नो बाचापत्रमार्फत झापा–५ मा वर्षौंदेखि जटिल बनेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई चरणबद्ध रूपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्।
उनले रास्वपाको नेतृत्वमा सरकार बनेको अवस्थामा पहिलो १०० दिनभित्र भूमि समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्र स्थायी समाधान निकाल्ने नीति अवलम्बन गर्ने घोषणा गरेका छन्। भूमि व्यवस्थापनसँगै बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न ‘ल्याण्ड बैंक’को अवधारणा अघि सारिएको छ, जसले जग्गा चक्लाबन्दी र एकीकरणलाई प्रोत्साहन गर्ने तथा ऐलानी तथा अभिलेखविहीन जमिनको नापी, नक्सांकन र अभिलेखीकरण प्रक्रिया अघि बढाउने लक्ष्य राखिएको छ।
स्वास्थ्य क्षेत्रलाई पनि उनले बाचापत्रको केन्द्रमा राखेका छन्। झापाको दमक अस्पताललाई पहिलो चरणमै ३०० शैय्याको अत्याधुनिक अस्पतालमा स्तरोन्नति गर्ने घोषणा गर्दै विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अस्पतालका कुल शैय्यामध्ये १० प्रतिशत अनिवार्य रूपमा निःशुल्क उपचारका लागि छुट्याउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै सार्वजनिक स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य पनि उनले व्यक्त गरेका छन्।
बालेनले सार्वजनिक गरेको बाचापत्र केवल स्थानीय विकास योजनामा सीमित छैन, बरु संघीय संसद्मा आफूले निर्वाह गर्ने भूमिकाबारे पनि स्पष्ट संकेत दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत अधिकार गाँस, आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणलाई व्यवहारमा लागू गराउन आवश्यक कानुन निर्माण, बजेट व्यवस्थापन र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
भ्रष्टाचार र बेथितिविरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर आवाज उठाउने अठोटसमेत बाचापत्रमा उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ उनले काठमाडौँ महानगरपालिकामा लागू गरिएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि विस्तार गर्ने योजना अघि सारेका छन्। विद्यालय तहदेखि नै सीपमूलक शिक्षा लागू गर्दै विद्यार्थीलाई आत्मनिर्भर बनाउने र वैदेशिक रोजगारीको बाध्यतालाई घटाउने लक्ष्य बाचापत्रमा प्रस्तुत गरिएको छ।
सामुदायिक विद्यालयहरूमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना गर्ने तथा ‘स्कुल रिटेन्सन प्रोग्राम’मार्फत विद्यालय छाड्ने दरलाई न्यूनतममा झार्ने योजना पनि उनले उल्लेख गरेका छन्।
स्थानीय भौतिक पूर्वाधार, शिक्षा र सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उनले आफ्नो बाचापत्रमा प्राथमिकता दिएका छन्। गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, कमल क्षेत्रमा कोशी आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने र दमकको बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना प्रस्तुत गरिएको छ।
दमक–१० स्थित साइन्स पार्कलाई थप व्यवस्थित गर्दै यस क्षेत्रलाई शैक्षिक र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने संकेत पनि बाचापत्रमा गरिएको छ। बालेनले झापा–५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गर्ने घोषणा पनि गरेका छन्, जसले सांसद र स्थानीय नागरिकबीचको दूरी घटाउने तथा जनताका समस्या सिधै संसद्सम्म पु¥याउने पुलको रूपमा काम गर्ने उनको विश्वास छ।
उनले आफ्नो राजनीतिक दर्शनलाई पनि बाचापत्रमा स्पष्ट रूपमा प्रस्तुत गर्दै राजनीतिलाई पेशा होइन सेवा बनाउने, राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउने तथा विकाससँगै प्रकृति संरक्षणलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
निर्वाचनको ठीक अघि सार्वजनिक भएको यो बाचापत्रलाई रास्वपाको ‘थिति बसाल्ने संकल्प’को स्थानीय रूपका रूपमा प्रस्तुत गरिएको छ। बालेनले मतदाताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने दाबी गर्दै आफ्नो राजनीति सेवा, इमानदारी र ठोस उपलब्धिमा आधारित हुने बताएका छन्। झापा–५ मा आफूलाई वैकल्पिक नेतृत्वका रूपमा स्थापित गर्ने रणनीतिसहित आएको यो घोषणापत्रले चुनावी मैदानमा नयाँ बहस र प्रतिस्पर्धालाई थप तीव्र बनाउने संकेत देखिएको छ।

