झापा–५ मा बालेन्द्रको उम्मेदवारीले रास्वपामा विद्रोहः पुराना नेता–कार्यकर्ता पाखा, आयातित टोलीको भरमा चुनाव प्रचार
दमक– मुलुक चुनावमा होमिएको छ। प्रत्यक्षतर्फ १६५ सिटका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको केन्द्र भने झापा–५ भएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) बीचको टकरावले यो क्षेत्रलाई असाधारण राजनीतिक रणभूमि बनाएको छ।
बालेन्द्र साह ०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका हुन्। इन्जिनियरिङ अध्ययन गरेपनि ¥याप संगीतमार्फत चर्चामा आएका उनी एकाएक राजनीतिमा होमिए र अप्रत्यासित रूपमा मेयरमा विजयी भए। त्यसयता उनी निरन्तर चर्चा र विवादको केन्द्रमा रहँदै आएका छन्।
गत भदौ २३ र २४ गते मुलुकमा जेजनी आन्दोलन भयो। उक्त आन्दोलनलाई बालेन्द्रले फेसबुकमार्फत अग्रिम र औपचारिक समर्थन गरेका थिए। उमेरका हिसाबले आफू प्रत्यक्ष सहभागी हुन नसके पनि आन्दोलनप्रति समर्थन रहेको बताउँदै उनले सहभागिताका लागि आह्वान गरेका थिए।
त्यसपछिको परिणाम देशले केवल देखेन, आँखै अगाडि भोग्यो—देश जलिरहेको त्रासदीपूर्ण दृश्यमा परिणत भयो। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी भयो, संसद भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत जले। व्यापारिक प्रतिष्ठानहरूमा लुटपाट, तोडफोड र आगजनीका घटना भए।
यो भयावह परिस्थितिमा बालेन्द्रमाथि गम्भीर आरोप पनि लाग्यो। आरोप अनुसार उनले आफ्नो नियन्त्रणमा रहेका दमकलहरूलाई आगो निभाउन जान नदिएको मात्र होइन, आगजनी र तोडफोडमा संलग्न समूहलाई पानी वितरण गर्न महानगरका गाडी र कर्मचारी खटाएको भनियो। त्यो आरोपले उनलाई अझै छोडेको छैन। यद्यपि, घटनाबारे सत्य तथ्य सार्वजनिक हुन सकेको छैन, किनकि सरकारले गठन गरेको छानबिन आयोगले अझै पूर्ण प्रतिवेदन सार्वजनिक नगरेको कारण घटनाको यथार्थ स्पष्ट हुन बाँकी नै छ।
सोही आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिए। त्यसपछि बालेन्द्रकै सहमति र समर्थनमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। त्यही सरकारले संसद विघटन गर्दै फागुन २१ का लागि निर्वाचन घोषणा गरेको हो।
निर्वाचन घोषणापछि बालेन्द्र साह मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी चुनावी मैदानमा उत्रिएका छन्। वर्षौंसम्म देशको नेतृत्व गरेका ओली र जेनजी आन्दोलनपछिका हरेक घटनाक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मियो बनेका बालेन्द्रबीचको टकरावले झापा–५ को चुनावी प्रतिस्पर्धालाई चासोको उच्चतम राजनीतिक लेभलमा पु¥याएको छ।
बालेन्द्रले झापा–५ मा दिएको उम्मेदवारीले ओलीलाई समेत सोच्न बाध्य बनायो। उनकै कारण ओली अहिले झापा केन्द्रित भएका छन्। अघिल्ला निर्वाचनहरूमा एक–दुई आमसभालाई सम्बोधन गरेर देश दौडाहामा निस्कने ओलीलाई यसपटक भने बालेनकै चुनौतीका कारण निरन्तर घरदैलो अभियानमा लाग्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।
तर, पछिल्ला दृश्यहरूले भने रास्वपाभित्र गहिरिँदै गएको असन्तुष्टि, शक्ति संघर्ष र संगठनात्मक टकरावको खुला पर्दाफास हुन थालेको छ। विवादको केन्द्रमा उम्मेदवार बनेका बालेन्द्र साह रहेका छन्, जसको चुनावी शैली, निर्णय प्रक्रिया र अभियान सञ्चालनको ढाँचाले पार्टीभित्रै तीव्र हानथाप जन्माएको देखिएको छ।
स्थानीय स्तरमा तीन वर्षअघि घण्टी चिन्हमा मत माग्दै घरदैलो दौडिएका पुराना नेता–कार्यकर्ता अहिले चुनावी मैदानबाट लगभग गायब जस्तै देखिनु स्वयंमा ठूलो राजनीतिक संकेत बनेको छ। त्यही समयदेखि संगठन निर्माणमा सक्रिय रहेका र पार्टी सभापति रवि लामिछाने निकट मानिने टोली अहिले अभियानबाट टाढा देखिनु पार्टीभित्रको असन्तुष्टिको प्रत्यक्ष प्रमाणका रूपमा चर्चा भइरहेको छ।
स्थानीय सञ्चारकर्मी र कार्यकर्ताहरूका अनुसार झापा–५ मा अहिले देखिने चुनावी टोलीको ठूलो हिस्सा बाहिरबाट आएको वा नयाँ अनुहारहरूको समूह हो, जसले पुरानो संगठनलाई छायाँमा पारिदिएको छ।
२०७९ को निर्वाचनमा झापा जिल्लाभर सक्रिय भूमिका खेलेका र अहिले कोशी प्रदेश सदस्य रहेका सुरेशकुमार पोखरेलको मौनता नै पार्टीभित्रको असन्तुष्टिको सबैभन्दा बलियो संकेत मानिएको छ। संगठन निर्माणदेखि मतदातासम्म पुग्न महत्वपूर्ण भूमिका खेलेका उनी अहिले चुनावी अभियानमा लगभग निष्क्रिय देखिनु, पुराना नेता–कार्यकर्तालाई योजनाबद्ध रूपमा ‘बाइपास’ गरिएको आरोपसँग जोडेर हेरिएको छ। त्यस्तै, रास्वपाका झापा जिल्ला सभापति उमेश खरेल समेत सक्रिय रूपमा नदेखिनु स्थानीय राजनीतिक वृत्तमा ठूलो प्रश्न बनेको छ।
झापा–५ मा अहिले बालेनको चुनावी अभियान चलाउने अनुहारहरू पनि विवादको विषय बनेका छन्। दमक नगरपालिकाकी उपप्रमुखका श्रीमान् प्रकाश प्रसाईं प्रचार अभियानमा प्रमुख रूपमा देखिएका छन्, जसले यसअघि नेपाली कांग्रेसमा सक्रिय भूमिका खेलेका थिए। त्यस्तै दमकमा बालेन र उनको टोलीलाई बसोबासको व्यवस्था गराउने लक्की सिटौला पनि प्रचारप्रसारमा सक्रिय रहेको चर्चा छ, जसलाई लिएर विभिन्न आरोप र बहस स्थानीय तहमा चलिरहेका छन्।
गौरादहस्थित माउन्ट एभरेष्ट स्कूलका संस्थापक प्रिन्सिपल तथा रास्वपा प्रदेश कमिटी सचिवालय सदस्य नारायणप्रसाद घिमिरे समेत अभियानमा देखिएका व्यक्तिमध्ये एक मानिन्छन्। यी घटनाक्रमहरूले चुनावी अभियान स्थानीय संगठनभन्दा बढी बाहिरी संरचना र व्यक्तिगत नेटवर्कमा आधारित भइरहेको आरोपलाई थप बल दिएको छ।
पार्टीभित्रको असन्तुष्टि यत्तिमै सीमित छैन। झापा–५ मा करिब एक सयजति मानिस बाहिरबाट ल्याएर परिचालन गरिएको चर्चा घण्टी समर्थकहरूकै बीचमा फैलिएको छ। कालो चश्मा र कालो पहिरनमा देखिने समूह, सुरक्षादस्ता जस्तै देखिने टोली र युट्युबरहरूको सक्रिय उपस्थिति चुनावी अभियानको शैलीलाई पारम्परिक संगठनात्मक राजनीति भन्दा फरक र विवादास्पद बनाएको छ। धेरै पुराना कार्यकर्ताले आफूहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै अभियानबाट टाढा बस्न थालेपछि यो असन्तुष्टि अझ स्पष्ट रूपमा बाहिर आएको हो।
यसैबीच, रास्वपाको झापा–५ सम्पर्क कार्यालयमा सभापति लामिछानेको तस्बिर नराखिएको विषयले पनि विवाद झन् चर्काएको छ। संस्थापक नेतृत्वको प्रतीक मानिने तस्बिर हटाएर केवल बालेनको तस्बिर राखिनु पार्टीभित्र नेतृत्वको सन्तुलन बिग्रिएको संकेतका रूपमा धेरैले व्याख्या गरेका छन्। लामिछाने पक्षधर कार्यकर्ताहरूका अनुसार यसले पार्टीको पहिचानलाई ओझेलमा पार्ने मात्र होइन, संगठन निर्माण गर्ने आधारलाई कमजोर बनाउने सन्देश दिएको छ।
यस विवादको अर्को महत्वपूर्ण मोड त्यतिबेला आयो जब रास्वपाका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनालले पार्टी छाडेर एमाले प्रवेश गरे। उनले सार्वजनिक रूपमा बालेनको शैली, निर्णय प्रक्रियाको अपारदर्शिता र नेतृत्वप्रति बढ्दो वितृष्णालाई कारण देखाउँदै पार्टी त्यागेको बताएका थिए। यो घटनाले झापा–५ मा रास्वपाभित्रको असन्तुष्टि केवल भित्री असहमति मात्र नभई चुनावी परिणाममा प्रभाव पार्ने तहमा पुगेको संकेत दिएको छ।
पार्टीका क्षेत्रीय सभापति भेषराज भट्टराईले समेत बालेनको शैलीले पुराना नेता कार्यकर्ताको भावनामा ठेस पुगेको हुनसक्ने स्वीकार गरेका छन्। उनले अभियान सञ्चालनका क्रममा समन्वय र संवाद कम भएको संकेत दिएका छन्, जसले संगठनभित्र असन्तुष्टि बढेको देखाउँछ।
यता एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली स्वयं घरदैलो अभियानमा सक्रिय भएपछि चुनावी प्रतिस्पर्धा अझ कडा बनेको छ। तर झापा–५ को राजनीतिक बहस उम्मेदवारहरूको प्रतिस्पर्धाभन्दा बढी रास्वपाभित्रको विभाजनतर्फ केन्द्रित भएको छ। सुरुमा बालेनको आगमनसँगै देखिएको असाधारण उत्साह अहिले क्रमशः घट्दै गएको र त्यसको मुख्य कारण पुराना नेता–कार्यकर्तालाई पाखा लगाएर सीमित घेराभित्र अभियान चलाइएको आरोप रहेको स्थानीयहरू बताउँछन्।
झापा–५ मा अहिले देखिएको अवस्था रास्वपाका लागि केवल एक निर्वाचन क्षेत्रको चुनौती मात्र होइन, संगठन र लोकप्रियताबीचको टकरावको वास्तविक परीक्षण पनि बनेको छ। संगठन निर्माण गर्ने आधार तह असन्तुष्ट हुँदा चुनावी परिणाममा त्यसको प्रत्यक्ष असर पर्न सक्ने चिन्ता पार्टीभित्रै बढ्दै गएको छ। बालेनको शैलीले पार्टीलाई नयाँ दिशा दिने कि उल्टै संगठनलाई विभाजनतर्फ धकेल्ने भन्ने प्रश्न अहिले झापा–५ को चुनावी माहोलको सबैभन्दा ठूलो बहस बनेको छ।
लोकप्रिय
टिकटकर तुल्सी अधिकारी प्रकरणमा १६ करोड ट्रान्जेक्सनको विस्फोटः प्रहरीमाथि ‘प्रतिशोध’को आरोपले झन तातिँदै मुद्दा
झापा–५ मा बालेन्द्रको उम्मेदवारीले रास्वपामा विद्रोहः पुराना नेता–कार्यकर्ता पाखा, आयातित टोलीको भरमा चुनाव प्रचार
ताजा अपडेट
अमेरिकामा खुँडा प्रहार गरी श्रीमती र छोरीको हत्या गर्ने नेपाली उदयपुरका, प्रहरी कारबाहीमा आरोपी पनि मारिए
