टिकटकर तुल्सी अधिकारी प्रकरणमा १६ करोड ट्रान्जेक्सनको विस्फोटः प्रहरीमाथि ‘प्रतिशोध’को आरोपले झन तातिँदै मुद्दा

काठमाडौँ– व्यक्तिगत बैंक खातामै करिब १६ करोड रुपैयाँ बराबरको ट्रान्जेक्सन देखिएपछि टिकटकर तुल्सी अधिकारीविरुद्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोतबारे गम्भीर प्रश्न उठेको छ। यही असामान्य आर्थिक गतिविधिलाई केन्द्रमा राखेर प्रहरीले ठगी, आपराधिक लाभ (एक्सटर्सन) र सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी पाटोमा अनुसन्धान तीव्र बनाएको छ।

सामाजिक सञ्जालबाट चर्चामा आएकी ‘तुल्सा कलेक्सन’की सञ्चालिका अधिकारीको आर्थिक कारोबार, विदेशबाट भइरहेको टिकटक प्रतिवाद र प्रहरीमाथि लगाइएका आरोपबीच यो प्रकरण अहिले कानुनी तथा सार्वजनिक चासोको केन्द्र बनेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार व्यवसायी कुमार चिमोरियाको जाहेरीका आधारमा साउन २२ गते अधिकारीविरुद्ध ठगी र आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा आर्थिक गतिविधि र सम्पत्तिको स्रोतबीच असामान्य अन्तर देखिएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कोण पनि जोडिएको हो। फागुन १९ गते सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरी दर्ता भएपछि सम्बन्धित निकायसँग समन्वय गरेर अनुसन्धान थप फराकिलो बनाइएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानमा देखिएको प्रारम्भिक विवरणअनुसार अधिकारीले पाँच लाख रुपैयाँ चुक्ता पुँजी देखाएर आफनो कम्पनी दर्ता गरेकी भए पनि कम्पनीको आयस्रोत स्पष्ट छैन। कम्पनी घाटा देखिए पनि ठूलो परिमाणमा आर्थिक कारोबार भएको संकेत भेटिएको छ। अनुसन्धानकर्ताहरूले कर तिरेको स्पष्ट विवरण नदेखिएको, ऋण लिएको प्रमाण नभेटिएको र हुण्डीमार्फत विदेशमा रकम पठाइएको बारेमा समेत छानबिन गरिरहेका छन्।

प्रारम्भिक तथ्यअनुसार नेपालबाट करिब एक करोड रुपैयाँ हुण्डीमार्फत चीन पठाइएको देखिएको छ। चार करोडभन्दा बढीको आर्थिक कारोबारको विवरण अनुसन्धानमा देखिएको छ। व्यक्तिगत बैंक खातामा १६ करोड रुपैयाँ बराबरको ट्रान्जेक्सन र एक करोड रुपैयाँ ‘फिक्स्ड डिपोजिट’ रहेको विवरण पनि प्रहरीले अध्ययन गरिरहेको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले तुल्सा कलेक्सनको आम्दानी, खर्च र कारोबारबीच गम्भीर असन्तुलन देखिएकाले कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइएको बताए। अदालतको आदेश लिएर कम्पनी र सम्बन्धित कागजातहरूको जाँच गरिएको र सम्भावित गैरकानुनी गतिविधिबारे प्रमाण संकलन भइरहेको उनको भनाइ छ।

जाहेरीकर्ताको दाबीअनुसार आपसी सम्बन्ध बिग्रिएपछि ब्ल्याकमेलिङ गरेर करोडौँ रुपैयाँ र ठूलो परिमाणमा गहना लिएको आरोप पनि अनुसन्धानको मुख्य विषय बनेको छ। प्रहरीले यससम्बन्धी विवरणहरू समेत संकलन गरिरहेको र आवश्यक प्रमाणसहित अदालतमा पेश गर्ने तयारी भइरहेको जनाएको छ। अनुसन्धान अदालतमा पुगेपछि आवश्यक परे अन्तर्राष्ट्रिय समन्वयमार्फत अभियुक्तलाई नेपाल ल्याउने प्रक्रिया सुरु हुन सक्ने संकेत पनि गरिएको छ।

यसैबीच व्यापारको सिलसिलामा चीनमा रहेकी तुल्सी अधिकारीले भने सामाजिक सञ्जाल, विशेषतः टिकटकमार्फत आफूविरुद्ध भइरहेको अनुसन्धानलाई प्रश्न गर्दै निरन्तर भिडियो सार्वजनिक गरिरहेकी छिन्। उनले आफूलाई बिना जानकारी पक्राउ पुर्जी जारी गरिएको, प्रहरी बदनियतपूर्वक लागिपरेको र आफूलाई प्रतिशोधपूर्ण तरिकाले फसाउन खोजिएको आरोप लगाएकी छन्।

अधिकारीले एक प्रहरी अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको आरोप लगाएपछि विवाद थप चर्किएको छ। उनले सातदोबाटो प्रहरी वृत्तकी प्रमुख डीएसपी पूर्णिमा चन्दले विगतमा आफ्नो पसलबाट गहना किनेर भुक्तानी नगरेको र त्यही विषयबाट असन्तुष्ट भएर अहिले आफूविरुद्ध अनुसन्धान अघि बढाइएको दाबी गरेकी छन्।

तर प्रहरी स्रोतले उक्त आरोपलाई अस्वीकार गर्दै ती खरिदहरूको भुक्तानी भइसकेको र अनुसन्धान पहिले नै सुरु भइसकेको अवस्थामा डीएसपी चन्द सातदोबाटोमा सरुवा भएर आएको बताएको छ। प्रहरीका अनुसार केही समयअघि कुमारीपाटीस्थित तुल्सा कलेक्सनबाट बरामद गरिएका सामानहरू अदालतको आदेशअनुसार सुरक्षित राखिएको छ र ती सामानबारे अन्तिम निर्णय अदालतले गर्नेछ। अनुसन्धानको क्रममा आर्थिक कारोबार, सम्पत्तिको स्रोत र सम्भावित गैरकानुनी गतिविधिबारे प्रमाण संकलन भइरहेको छ।

टिकटकमा करिब तीन लाख फलोअर्स भएकी तुल्सी अधिकारी सामाजिक र सेलिब्रिटीसम्बन्धी विषयमा भिडियो बनाउँदै चर्चामा आएकी थिइन्। तर अहिले उनको आर्थिक कारोबार, सामाजिक सञ्जालबाट भइरहेको प्रतिवाद र प्रहरी अनुसन्धानबीचको टकरावले यो प्रकरणलाई राष्ट्रिय स्तरको बहसमा पुर्‍याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट