इरानी सैनिकको नियन्त्रणमा परे उदयपुरका अमृत झाः हर्मुज जलघाटीमा फसेका नेपाली श्रमिकको अवस्था अज्ञात

काठमाडौँ— विश्वकै संवेदनशील जलमार्ग ‘हर्मुज’को बढ्दो तनावबीच उदयपुरको गाईघाटका ३० वर्षीय अमृत झा इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्। तेल ढुवानीसँग जोडिएको अत्यन्त जोखिमपूर्ण समुद्री मार्गमा कार्यरत झा इरानको बन्दर अब्बास बन्दरगाह नजिकै पक्राउ परेका हुन।

अमृतकी दिदी पूजा झाका अनुसार ह्वाट्सएपमा आएको भ्वाईस म्यासेजमार्फत घटनाको जानकारी आएको हो। करिब आठ दिनअघि अपरिचित नम्बरबाट आएको ह्वाट्सएप सन्देशमा अमृतले आफूलाई इरानी सेनाले नियन्त्रणमा लिएको र अन्य भारतीय नागरिकसमेत पक्राउ परेको जानकारी दिएका थिए।

त्यसपछि उक्त नम्बर सम्पर्कविहीन बनेको परिवारिक स्रोतले जानकारी दिएको छ। ‘त्यो सन्देशपछि हामीसँग कुनै सम्पर्क छैन, भाइको अवस्था के छ भन्ने थाहा छैन,’ पूजा झाले भनिन्। दुई वर्षअघि रोजगारीको खोजीमा दुबई गएका अमृत त्यहाँ ‘ब्ल्याक सी म्यारिन एलएलसी’ कम्पनीअन्तर्गत जहाजमा कार्यरत थिए।

पछिल्लो पटक जनवरी १२ मा परिवारसँग सम्पर्क हुँदा उनले आफू इरानमा रहेको र काम सकेर सिधै नेपाल फर्किने बताएका थिए। तर त्यसको केही समयमै पक्राउ परेको सन्देश आउनुले घटनालाई झन् रहस्यमय बनाएको छ।

घटनाबारे औपचारिक पुष्टि भने अझै भएको छैन। परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काले एक नेपाली इरानी सेनाको नियन्त्रणमा रहेको जानकारी आएको स्वीकार गरे पनि पक्राउ परेका व्यक्तिको विस्तृत विवरण इरानबाट आधिकारिक रूपमा प्राप्त नभएको बताएका छन्।

कतारस्थित नेपाली दूतावासमार्फत इरानसँग समन्वय गरी थप जानकारी जुटाउने प्रयास भइरहेको जनाइएको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने हर्मुज जलघाटी अहिले सैन्य तनावको केन्द्र बनेको छ। अमेरिका र इजरायलद्वारा इरानमाथि संयुक्त आक्रमण भएपछि इरानले पनि आफ्नो नियन्त्रण क्षेत्र हुँदै गुज्रने तेल बोकेका जहाजहरूलाई कडाइका साथ नियन्त्रण गर्न थालेको छ। यही रणनीतिक प्रतिक्रियाको चपेटामा अमृत झा परेका हुन सक्ने आशंका गरिएको छ।

अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार हाल हर्मुज क्षेत्रमा करिब ३२ सय जहाज अड्किएका छन्, जसमा कम्तीमा २० हजार समुद्री श्रमिक रहेका छन्। तीमध्ये धेरै भारतीय रहेको अनुमान गरिए पनि नेपालीहरूको यकिन विवरण भने उपलब्ध छैन। इरानी नियन्त्रण कडा भएपछि बिना अनुमति हर्मुज पार गर्न खोज्ने जहाजहरूलाई चेतावनी दिइएको र केही घटनामा ज्यानै गुमेको विवरणसमेत सार्वजनिक भइसकेको छ।

वैदेशिक रोजगार विभागले भने नेपाली श्रमिकहरू हर्मुज क्षेत्रमा रहेका छन् वा छैनन् भन्नेबारे स्पष्ट पुष्टि गर्न नसकेको जनाएको छ। विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार नेपालबाट श्रम स्वीकृति लिएका व्यक्तिहरू विभिन्न देशका जहाजमा कार्यरत हुन्छन्, तर ती जहाजहरू कहाँ सञ्चालन भइरहेका छन् भन्ने ट्रयाक गर्न समय लाग्ने बताइएको छ। इरानका लागि भने प्रत्यक्ष श्रम स्वीकृति दिइएको छैन।

यसबीच, हर्मुज क्षेत्रमा अड्किएका श्रमिकहरूको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पानी र खाद्यान्नको अभाव, निरन्तर तनाव र सैन्य निगरानीबीच उनीहरू बाँच्न संघर्ष गरिरहेका छन्। एक भारतीय श्रमिकले एएफपीसँगको कुराकानीमा ‘जहाजमा पानी सकिँदैछ, खाना नपाएर दिन काटिरहेका छौं’ भन्ने पीडादायी अवस्था बयान गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट