ओखलढुंगा र दाङका तीन मतदान केन्द्र सुनसान, स्थानीयद्वारा चुनाव बहिष्कार

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदान भइरहेका बेला केही स्थानमा भने जनताले असन्तुष्टि जनाउँदै निर्वाचन वहिस्कार गरेका छन्। विकास, पूर्वाधार र जनजीविकासँग जोडिएका माग वर्षौँदेखि बेवास्ता गरिएको आरोप लगाउँदै ओखलढुंगा र दाङका विभिन्न मतदान केन्द्रमा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका हुन्।

बिहानदेखि सुरु भएको मतदान प्रक्रिया जारी रहँदा ती केन्द्रहरूमा मतदाताको उपस्थितिसमेत नदेखिनु स्थानीय असन्तुष्टिको स्पष्ट संकेत बनेको छ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा रहेको शहीद स्मृति आधारभूत विद्यालय मतदान केन्द्र बिहानैदेखि सुनसान देखिएको छ। सो केन्द्रमा ७०१ जना मतदाता रहे पनि बिहान १० बजेसम्म एक जनाले पनि मत खसालेका छैनन्।

सीडीओ मेखबहादुर मंग्रातीका अनुसार स्थानीयले सामूहिक रूपमा मतदान बहिष्कार गर्ने निर्णय लिएकाले मतदान केन्द्रमा मतदाताको उपस्थिति शून्य जस्तै बनेको हो। उनका अनुसार स्थानीयले लामो समयदेखि प्रादेशिक अस्पताल निर्माणको माग गर्दै आएका थिए, तर उक्त माग सम्बोधन नभएपछि चुनावी प्रक्रियाप्रति नै असन्तुष्टि व्यक्त गर्दै मतदान नगर्ने निर्णय गरेका हुन्।

स्थानीयको भनाइमा राज्यले बारम्बार आश्वासन दिए पनि अस्पताल निर्माणबारे कुनै ठोस पहल नभएकाले अन्ततः उनीहरूले मतदान बहिष्कारलाई दबाबको माध्यम बनाएका छन्।

यसैबीच बाँके राष्ट्रिय निकुञ्जबाट प्रभावित स्थानीय बासिन्दाले आफ्नो माग सम्बोधन नभएको भन्दै मतदान बहिष्कार गरेका छन्। दाङको बबइ गाउँपालिका–७ स्थित देउती माध्यमिक विद्यालय मलई मतदान केन्द्रमा बिहान साढे १० बजेसम्म एक जनाले पनि मतदान गरेका छैनन्।

सो केन्द्रमा ६८२ जना मतदाता रहे पनि मतदान केन्द्र पूर्ण रूपमा सुनसान देखिएको मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिए। यस्तै अवस्था बबइ गाउँपालिका–१ मा रहेको जनता आधारभूत विद्यालय मतदान केन्द्रमा पनि देखिएको छ, जहाँ ५३० जना मतदाता सूचीमा भए पनि मतदानमा कसैले भाग लिएका छैनन्।

निकुञ्ज प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर राङु मगरका अनुसार स्थानीय बासिन्दाले लामो समयदेखि बस्ती स्थानान्तरण र उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन गर्दै आएका छन्। उनका अनुसार राज्यले समस्या समाधानतर्फ गम्भीर चासो नदेखाएकाले अन्ततः निर्वाचन बहिष्कार गर्ने सामूहिक निर्णय गरिएको हो। ‘हामीले पहिल्यै माग पूरा नभए मतदान नगर्ने चेतावनी दिएका थियौँ, तर कसैले पनि हाम्रो आवाज सुनेन,’ उनले भने, ‘गाउँलेहरूबीच छलफल गरेरै चुनावमा मतदान नगर्ने निर्णय गरेका छौँ।’

दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू–भागलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएपछि स्थानीय बासिन्दाले विभिन्न समस्या झेल्दै आएको गुनासो गर्दै आएका छन्। निकुञ्ज घोषणा भएपछि वन्यजन्तुको संख्या बढ्दै जाँदा बाली नष्ट हुने, घरपालुवा पशुपन्छी मारिने र बाघलगायत जंगली जनावरको आतंक बढ्ने समस्या गम्भीर बनेको स्थानीयको भनाइ छ।

स्थानीय सञ्चारकर्मीका अनुसार वन्यजन्तुको त्रासले किसानहरू वर्षौँदेखि पीडित भइरहेका छन्, तर समस्या समाधानतर्फ ठोस कदम चालिएको छैन। दाङको यो क्षेत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पर्छ। यहाँ नेपाली कांग्रेसबाट दीपक गिरी, नेकपा एमालेका घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। तर स्थानीयको असन्तुष्टि र बहिष्कारले निर्वाचन प्रक्रिया नै प्रभावित हुने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट