महोत्तरीको मतदान केन्द्रमा झडपः वडाध्यक्ष घाइते, मतदान प्रक्रिया रोकियो
महोत्तरी– महोत्तरीको बर्दिबासमा मतदान प्रक्रियामै गम्भीर विवाद उत्पन्न भएपछि एक मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ। बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दोहो¥याएर मतदान गर्ने प्रयास भएको आरोप उठेपछि स्थिति तनावपूर्ण बनेको हो।
स्थानीय स्रोतका अनुसार केही मतदाताले नियमविपरीत एकभन्दा बढी पटक मतदान गर्न खोजेपछि मतदान केन्द्रमै विवाद चर्किएको थियो। प्रत्यक्षदर्शीले एक व्यक्तिले चार पटकसम्म मतदान गर्न खोजेको आरोप लगाएपछि स्थानीय मतदाताहरू आक्रोशित बनेका थिए। यही विषयलाई लिएर राजनीतिक कार्यकर्ताबीच भनाभन हुँदै झडपको स्थिति सिर्जना भएको थियो।
विवाद चर्किँदै जाँदा बर्दिबास–७ का वडाध्यक्ष भोरिल यादव र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग आवद्ध कार्यकर्ताबीच प्रत्यक्ष भिडन्त भएको बताइएको छ। झडपका क्रममा वडाध्यक्ष यादव घाइते भएका छन्।
प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार उनको नाकमा चोट लागेको छ। स्थानीयको आरोपअनुसार वडाध्यक्ष यादवले वारेस (प्रतिनिधि)को नाम प्रयोग गरी मतदान गर्न खोजेपछि विवादको सुरुवात भएको थियो।
घटनापछि मतदान केन्द्रको अवस्था तनावपूर्ण बनेको र थप झडपको सम्भावना देखिएपछि सुरक्षाकर्मीले तत्काल मतदान प्रक्रिया स्थगित गरेका छन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थिति नियन्त्रणमा लिनका लागि केही समय मतदान रोकिएको पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताए।
उनका अनुसार मतदान प्रक्रिया पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। विवादपछि मतदान केन्द्रमा सुरक्षाको अवस्था सुदृढ बनाउन सशस्त्र प्रहरी बलको थप २५ जनाको स्ट्राइकिङ टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले मतदान केन्द्र वरपरको अवस्था नियन्त्रणमा लिएर थप अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाएका छन्।
निर्वाचन अधिकृत र प्रशासनिक अधिकारीहरू घटनाबारे विस्तृत जानकारी संकलन गर्दै मतदान प्रक्रिया पुनः सुचारु गर्ने तयारीमा जुटेका छन्।
