जापानबाट फर्केका युवकले गौरादहका मेयरलाई घरमै गएर कुटे
दमक– झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै कुटपिट भएको छ। मादक पदार्थ सेवन गरेर घरमै पुगेका एक युवकले गालीगलौज गर्दै कुटपिट गरेको जनाईएको छ।
प्रहरीका अनुसार गौरादह नगरपालिका–५ राजपति चोक, चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले आइतबार मेयर सुवेदीको घरमै पुगेर विवाद सिर्जना गरेका थिए। मादक पदार्थ सेवन गरेको अवस्थामा पुगेका उनले मेयरसँग एक्कासि गालीगलौज सुरु गर्दै हातपातसमेत गरेको बताइएको छ। प्रारम्भिक अनुसन्धानबाट सिटौला लामो समय जापान बसेर हालै नेपाल फर्किएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै मेयर सुवेदीले आफूलाई कुनै पूर्व जानकारी वा व्यक्तिगत विवादबिना नै सिटौला घरमै आएर झगडा सुरु गरेको बताएका छन्। उनका अनुसार सिटौलाले अचानक घरमा प्रवेश गरेर विवाद सुरु गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। ‘उहाँ किन घरमा आउनुभयो भन्ने पनि स्पष्ट छैन, के कारणले रिस उठ्यो भन्ने पनि थाहा छैन,’ सुवेदीले भने, ‘एक्कासि घरमा आएर विवाद गर्दै हातपात गर्नुभयो।’
नेकपा (एमाले) बाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित सुवेदीमाथि भएको यो घटनापछि स्थानीय सुरक्षा निकाय तत्काल सक्रिय भएको थियो। प्रहरी चौकी महारानीझोडाबाट असई चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले घटनास्थलमै पुगेर सिटौलालाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको छ। सार्वजनिक पदमा रहेका व्यक्तिमाथि घरमै पुगेर कुटपिट भएको घटनाले स्थानीय तहको सुरक्षा र सामाजिक वातावरणबारे समेत प्रश्न उठाएको भन्दै प्रहरीले यस विषयलाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ।
