भोजपुरमा उम्मेदवारीअघि एमाले छाडेका ध्रुवराज राईले पूर्वमुख्यमन्त्री शेरधन राईलाई पछारे
भोजपुर– भोजपुरमा उम्मेदवारी दर्ता हुनुअघि मात्रै नेकपा (एमाले) परित्याग गरेका ध्रुवराज राईले आफ्नै पूर्वनेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका छन्। लामो समय एमाले संगठनभित्रै सक्रिय राजनीतिक यात्रा गरेका ध्रुवराज अन्तिम समयमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी रोज्दै चुनावी मैदानमा उत्रिएका थिए। अन्ततः प्रभावशाली पूर्वमुख्यमन्त्रीलाई पराजित गर्दै संसद् प्रवेशको ढोका खोलेका छन्।
निर्वाचनको अन्तिम परिणामअनुसार १६ हजार ६६३ मत प्राप्त गर्दै श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज विजयी भएका छन्। एमाले उम्मेदवार तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई १४ हजार ७५० मतमा सीमित भए। मतगणनाको अन्तिम चरणसम्म प्रतिस्पर्धा रोचक बने पनि अन्ततः ध्रुवराजले निर्णायक अग्रता कायम गर्दै जीत सुनिश्चित गरेका हुन्।
२०५७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका ध्रुवराज राईले आफ्नो राजनीतिक यात्रा अनेरास्ववियूबाट सुरु गरेका थिए। विद्यार्थी संगठनमा केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी सम्हालेका उनी पछि एमालेको कोशी प्रदेश कमिटी सदस्यसम्म पुगेका थिए। भोजपुरमा शेरधन राई पार्टी नेतृत्वमा रहँदा ध्रुवराज जिल्ला कमिटी सदस्यका रूपमा संगठन निर्माणमा सक्रिय थिए।
लामो समय एउटै पार्टीमा सहकार्य गरेका दुई नेताबीच अन्ततः निर्वाचनमै सीधा प्रतिस्पर्धा भयो र परिणाम ध्रुवराजको पक्षमा गयो। एमालेभित्र लामो समय बिताएका ध्रुवराजले आफू पद वा शक्ति प्राप्तिका लागि नभई राजनीतिक पद्धति सुधारका लागि संघर्षरत रहेको बताउँछन्। उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदै सफल कार्यकाल पूरा गरेका थिए।
गाउँपालिकाको नेतृत्व सम्हाल्दा उनले भ्रष्टाचारविरुद्ध कडा अडान लिने, विकास निर्माणलाई प्राथमिकता दिने र स्पष्ट वक्ताका रूपमा पहिचान बनाएका थिए, जसले उनलाई स्थानीय तहमा लोकप्रिय नेता बनाएको बताइन्छ।
यसपटकको निर्वाचन परिणामलाई ध्रुवराजले केवल व्यक्तिगत जीत नभई जनताको विश्वास र परिवर्तनको चाहनाको संकेतका रूपमा व्याख्या गरेका छन्। पूर्वमुख्यमन्त्री जस्तो प्रभावशाली नेतालाई पराजित गरे पनि उनले यो परिणामलाई कुनै व्यक्ति वा पार्टी विशेषको हारका रूपमा नभई मतदाताले काम गर्ने नेतृत्वलाई रोजेको सन्देशका रूपमा लिनुपर्ने बताएका छन्।
गत स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका कारण टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष पदमा पराजय भोग्नुपरेको अनुभव पनि उनले स्मरण गरेका छन्। त्यस अनुभवले आफूलाई अझ सुदृढ बनाएको भन्दै उनले मतदाताले विगतको कार्यसम्पादन, स्पष्ट वक्ता र विकासमुखी नेतृत्वको छविलाई अनुमोदन गरेको बताएका छन्।
संसद्मा पुगेर आफ्नो भूमिका प्रतिपक्षका रूपमा जनताको आवाज उठाउने रहने उनले स्पष्ट पारेका छन्। विशेष गरी भ्रष्टाचार नियन्त्रण, बजेटको न्यायोचित वितरण र विकासबाट वञ्चित क्षेत्रहरूलाई प्राथमिकतामा राख्ने आफ्नो मुख्य एजेन्डा हुने उनले बताएका छन्। राज्यको बजेट सीमित पहुँच भएका क्षेत्र र व्यक्तिहरूमा केन्द्रित हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता रहेको उनको धारणा छ।
‘पहुँचवालाका क्षेत्रमा मात्र बजेट थुप्रिने परिपाटीको अन्त्य गरी विकास नभएका ठाउँमा स्रोत पु¥याउन सदनमा सशक्त आवाज उठाउनेछु,’ ध्रुवराजले भनेका छन्। उनले हर्क साम्पाङले अघि सारेको ‘हर्कवाद’ र श्रम संस्कृतिको अवधारणाले जनतामा नयाँ राजनीतिक चेतना र ऊर्जा पैदा गरेको दाबी गर्दै त्यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याए।
उनका अनुसार परम्परागत राजनीतिक दलहरूभित्र देखिएको दम्भ, गुटबन्दी र कार्यकर्तामाथि हुने दमनकारी व्यवहारले नै नयाँ शक्तिहरूको उदयलाई गति दिएको हो। छोटो समयको तयारीका बाबजुद श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नु आफैंमा महत्वपूर्ण राजनीतिक संकेत भएको उनले बताएका छन्। यसले आगामी दिनमा पुराना दलहरूलाई गम्भीर चुनौती थप्ने उनको विश्लेषण छ।
भोजपुरका नागरिकका लागि सुशासन, पारदर्शिता र प्रभावकारी विकास नै आफ्नो प्राथमिकता रहने उल्लेख गर्दै ध्रुवराजले विकास निर्माणका काममा जनताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। जनताको विश्वास र साथलाई नै आफ्नो राजनीतिक यात्राको आधार बनाउने उनले संसद्मा पुगेर भोजपुरको आवाजलाई राष्ट्रिय स्तरमा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
