सामाजिक सञ्जालमा भाईरल ‘नछोड चित्रे नछोड’ भीडीओको यस्तो छ बास्तविक्ता
राजविराज– धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज भइसकेपछि पनि उनको पक्षमा अस्वाभाविक रूपमा मत खस्नुले प्रतिनिधिसभा निर्वाचनको विश्वसनीयता र मतदाताको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठेको छ।
उम्मेदवारको उम्मेदवारी नै अमान्य भइसकेको अवस्थामा पनि मत खसिरहनुले चुनावी प्रक्रियामा ‘ह्विम’ (आवेग, भ्रम र राजनीतिक लहर) ले कस्तो प्रभाव पार्न सक्छ भन्ने स्पष्ट संकेत दिएको विश्लेषण हुन थालेको छ। यति मात्रै होईन, मतदाताले नामै नसुनेका र विभिन्न प्रकरणमा वदनाम भएकाहरु पनि चुनाव जित्नुले निर्वाचन ‘ह्विम’ मा परेको प्रमाणित हुन्छ।
रास्वपाले यसपटकको निर्वाचनमा देशभर उल्लेखनीय सफलता हासिल गरेको छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले चुनावी अभियानका क्रममा देशका विभिन्न जिल्लामा व्यापक प्रचार अभियान चलाएका थिए। उनीहरू चुनावी माहोल तताउन देशदौडाहामा निस्किएका थिए, जसको प्रभाव धेरै ठाउँमा देखिएको पनि बताइन्छ। तर केही क्षेत्रमा देखिएको अस्वाभाविक मतपरिणामले भने निर्वाचन प्रक्रियामै बहस सिर्जना गरेको छ।
यही चुनावी परिणामसँग जोडिएको प्रसंगमा उदयपुरका रास्वपा जिल्ला सभापति चित्रकुमार कार्कीले एउटा रोचक अनुभव सुनाएका छन्। उल्टो मोटरसाइकल यात्रा र टेनिस विधामा विश्व कीर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाइसकेका कार्कीले विगतमा आफूलाई हल्का रूपमा लिनेहरूसँग यसपटक आफूले ‘पैंचो तिरेको’ टिप्पणी गरेका छन्।
उदयपुरका दुईटै निर्वाचन क्षेत्रमा पार्टीले जितेपछि कार्कीले विगतको अनुभव सम्झँदै मतदाताको व्यवहारबारे व्यंग्यात्मक टिप्पणी गरेका हुन्। उनका अनुसार मतदाताको उत्साह, वाचा र वास्तविक मतदान व्यवहारबीचको दूरी कहिलेकाहीँ निकै ठूलो हुने अनुभव उनले आफैंले भोगेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला देशभर स्वतन्त्र उम्मेदवारको लहर चलेको थियो र परम्परागत दलप्रति निराशा व्यक्त गर्दै नयाँ अनुहारलाई अवसर दिनुपर्ने बहस चलिरहेको थियो। यही माहोलले आफूलाई पनि चुनावी मैदानमा उत्रन प्रेरित गरेको कार्की बताउँछन्।
उनले स्मरण गर्दै भने, ‘उमेरमा रहर लागेपछि मेयरमा उठौँ न त भनेर स्वतन्त्र उठेँ। त्यतिबेला पार्टीहरूको काम छैन, युवा र स्वतन्त्र चाहिन्छ भन्ने चर्चा थियो। बजारतिर डुल्दा जनताले पनि ‘नछोड् चित्रे, नछोड्, तँ जस्ता युवा चाहिएको छ’ भनेर उत्साहित बनाउँथे। म पनि सोझो मान्छे, पत्याइहालेँ।’
तर चुनावी परिणामले उनलाई बिल्कुलै फरक अनुभव गरायो। चुनावअघि समर्थन गर्ने वाचा गरेका धेरै मतदाताले अन्तिम समयमा मत नदिएको उनले अनुभव सुनाए। ‘अरूको कुरा सुनेर म पनि जुरुक्कै उठेँ। जितिसकेँ भन्दै गफ लगाउँदै हिँडेँ। तर अन्तिममा ढोक्सो त खाली’ उनले हाँस्दै विगत सम्झिए।
त्यसपछि भने उनले मतदाताको वाचा र वास्तविक व्यवहारबीचको अन्तरलाई नजिकबाट बुझेको बताउँछन्। स्वतन्त्र उम्मेदवारका रूपमा हार व्यहोरेपछि उनले पार्टी राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका थिए। उनी रास्वपामा आबद्ध भए र पार्टी संगठन विस्तारमा सक्रिय रूपमा लागे।
कार्कीका अनुसार त्यसपछि उनले राजनीतिक शैली पनि बदल्दै लगे। ‘त्यसपछि म पनि पार्टीमा लागेँ। पार्टीमा लागेर उनै मतदातालाई ‘हामीलाई नछोड है, नछोड’ भन्दै हिँड्न थालेँ,’ उनले भने।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा रास्वपाले सफलता हासिल गरेपछि कार्कीले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा लिएका छन्। उनी व्यंग्यात्मक शैलीमा भन्छन्, ‘अहिले दुई वटा निर्वाचन क्षेत्र खर्लप्प जितियो। म अहिले बाठो भएँ उनीहरुकै कारणले क्या!’ उनको यो अभिब्यक्तिसहितको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यसपटकको निर्वाचनले परम्परागत दलहरूको प्रभुत्वमा ठूलो धक्का त दिएको छ, तर मतदाताको निर्णय प्रक्रियामा अझै पनि भावनात्मक लहर, प्रचार प्रभाव र राजनीतिक प्रतीकहरूको गहिरो प्रभाव रहेको स्पष्ट भएको छ।
