ट्युसन जान्छु भन्दै घरबाट निस्किएकी किशोरीको सामूहिक ब*लात्कारपछि हत्या, चार नाबालक पक्राउ

काठमाडौँ– सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया एक किशोरी मृत फेला परेकी छिन्। उनको सामूहिक बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। अनुसन्धानका क्रममा प्रहरीले चार जना नाबालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका चारै जना १८ वर्षभन्दा कम उमेरका छन्। प्रहरीका अनुसार गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी १६ वर्षीया इनिसा विक परिवारसँगै वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। विरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनसँग जोडिएको शहीद पार्क क्षेत्रको जङ्गलमा बेहोस अवस्थामा भेटिएकी उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर अस्पताल पु¥याउँदा चिकित्सकले उनको ज्यान गइसकेको पुष्टि गरेका थिए।

परिवारका अनुसार इनिसा बिहान करिब ६ बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। सामान्यतया ट्युसन सकेर बिहान ८ बजेसम्म घर फर्किने गरेकी इनिसा त्यो दिन ९ बजेसम्म पनि नआएपछि परिवार चिन्तित भएको थियो। आमाले फोन गर्दा उनको मोबाइल बन्द थियो।

केही समयपछि ‘तपाईंकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन्, छिटो आउनुहोस’ भन्दै अपरिचित नम्बरबाट फोन आएको मृतककी आमाले बताएकी छन्। सूचना पाएलगत्तै उनी घटनास्थलमा पुगिन। त्यहाँ पुग्दा इनिसा अचेत थिईन। शरीरभरि निलडाम देखिएको, कपाल लुछिएको, चुरा फुटेको र शरीरलाई केही दूरीसम्म घिसारिएको जस्तो देखिन्थ्यो।

छोरीको अवस्था देखेपछि आमा आफैँ घटनास्थलमा बेहोस भएकी थिईन। त्यसपछि स्थानीय इनिसालाई तत्काल अस्पताल पु¥याएका थिए।

होसमा आएपछि मृतककी आमाले भनिन्, ‘छोरीलाई तड्पाई–तड्पाई मारेका छन्, दोषीलाई कडा कारबाही हुनुपर्छ।’ मृतकको शव परीक्षणका लागि पोस्टमार्टम गरिएको छ। रिपोर्ट आएपछि घटनाको वास्तविक कारणबारे थप स्पष्ट हुने डिएसपी बुढथापाले बताए।

उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोही दिन दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानको दायरा फराकिलो बनाउँदै फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। पक्राउ परेका चारै जना नाबालक भएकाले कानुनी प्रक्रिया अनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकका परिवारले यो घटना सामूहिक बलात्कारपछि गरिएको हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट