इनिसाको हत्या आरोपी किशोरको बयानः ‘२ वर्षदेखि शारीरिक सम्बन्ध थियो, बलात्कार गरेको होइन’

काठमाडौँ — सुर्खेतमा १६ वर्षीया छात्रा इनिसा विकको मृत्यु प्रकरणमा घटनामा संलग्न रहेको आरोप लागेका किशोरले प्रहरीसमक्ष दिएको बयान सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ। प्रहरी नियन्त्रणमा रहेका १६ वर्षीय किशोरले इनिसासँग आफूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र दुई वर्षदेखि सहमतिमै शारीरिक सम्बन्ध हुँदै आएको दाबी गरेका छन्।

प्रहरी स्रोतका अनुसार ती किशोरले फागुन २३ गते बिहान भएको घटनाबारे बयान दिँदै आफू र इनिसा आपसी सल्लाहमै वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकको जंगल क्षेत्रमा गएको बताएका छन्। उनले इनिसाका लागि काँटा, चुरा लगायत साना उपहार पनि ल्याएको बताएका छन्। त्यहाँ पुगेर लामो समयसम्म गफगाफ भएको र त्यसपछि दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको उनले बयानमा उल्लेख गरेका छन्।

किशोरका अनुसार सम्बन्धपछि अचानक इनिसाको यौनांगबाट अत्यधिक रक्तस्राव हुन थालेको थियो। ‘केहीबेरमै उनी बोल्न छोडिन, म एकदमै आत्तिएँ, उनलाई उठाउने प्रयास गरेँ, हातखुट्टा चलाएँ तर उनी बोलिनन्।’– उनले प्रहरीसमक्ष भनेको विवरणमा उल्लेख छ। त्यसपछि आफूले बिहान करिब ८ बजेर २५ मिनेटतिर आफ्ना केही साथीहरूलाई फोन गरेर सहयोग मागेको उनले बताएका छन्।

किशोरको भनाइ अनुसार सुरुमा साथीहरू आउन मानेनन्। पटकपटक फोन गरेपछि तीन जना साथी घटनास्थल पुगेका थिए र उनीहरूले नै नजिकैको गाउँमा खबर गरेका थिए। त्यसपछि गाउँले मार्फत नै प्रहरीले घट्नाबारे जानकारी पाएको थियो। प्रहरी घटनास्थलमा पुगेर इनिसालाई अस्पताल पु¥याउँदा बिहान करिब १० बजिसकेको थियो।

प्रहरीका अनुसार घटनास्थल पुग्दा इनिसा अचेत थिइन् र उनको शरीरको तल्लो भाग रगतले पूरै भिजेको थियो। इनिसाको शरीरमा कपडा पनि थिएन। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

पोस्टमार्टम रिपोर्टमा अत्यन्तै हिंसात्मक प्रकृतिको यौनसम्पर्कपछि अत्यधिक रक्तस्राव भएर मृत्यु भएको देखिएको चिकित्सकहरूले बताएका छन्। यौनांगको भित्री र बाहिरी भाग च्यातिएको कारण अत्यधिक रगत बगेको देखिएको उनिहरुले बताएका छन्। प्रारम्भिक रिपोर्टमा सामूहिक बलात्कार भएको पुष्टि गर्ने स्पष्ट प्रमाण नभेटिएको बताए पनि थप परीक्षणका रिपोर्ट आउन बाँकी रहेको जानकारी दिएका छन्।

नशालु पदार्थ प्रयोग गरिएको थियो वा थिएन भन्ने विषय पनि विधिविज्ञान प्रयोगशालामा भइरहेको परीक्षणपछि मात्रै खुल्ने बताइएको छ। मृतकका परिवारले आरोपीको दाबी अस्वीकार गर्दै यो सामूहिक बलात्कारपछि गरिएको हत्या भएको आरोप लगाएका छन्। इनिसाकी आमा तिला विकका अनुसार बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्केकी छोरी ९ बजेसम्म घर नफर्किएपछि उनले शिक्षक र साथीभाइलाई फोन गरेर खोजी सुरु गरेकी थिइन्।

त्यसपछि प्रहरीले सामुदायिक वन क्षेत्रमा इनिसा अचेत अवस्थामा भेटिएको जानकारी दिएको उनले बताइन्। इनिसाको सामूहिक बलात्कार गरेर हत्या गरिएको हो। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा अध्ययनका लागि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। उनी अध्ययनरत उषा बालवाटिका विद्यालय मा कक्षा ११ मा पढ्दै थिइन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाका अनुसार घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरिएको छ। उनिहरु विरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट