सिराहामा तीन जना सवार मोटरसाइकल दुर्घटनाः २२ वर्षीय रवि सदाको ज्यान गयो
लहान— सिराहाको कर्जन्हा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन्। दुर्घटनामा कर्जन्हा नगरपालिका–६ निवासी २२ वर्षीय रवि सदाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बडहर्वा मिर्चैयाबाट बन्दिपुरतर्फ जाँदै गरेको स.४ प ५५६६ नम्बरको मोटरसाइकल शुक्रबार कर्जन्हा नगरपालिका–६ स्थित तिनकुने क्षेत्रमा पुगेका बेला अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो।
मोटरसाइकलको पछाडि सवार रवि दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै स्थानीयले उद्धार गरी कर्जन्हास्थित फुल कुमारी मेमोरियल अस्पतालमा उपचारका लागि पु¥याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको र फुल कुमारी मेमोरियल अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटना कसरी भयो भन्ने विषयमा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्र सडक दुर्घटनाको दृष्टिले जोखिमपूर्ण मानिने स्थानमध्ये एक हो। पछिल्लो समय तीव्र गति, सडक अनुशासनको अभाव र सावधानी नअपनाउँदा यस्ता दुर्घटनाहरू बढ्दै गएको भन्दै स्थानीयले सडक सुरक्षामा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
