सिरहा अदालत छेउको बम विस्फोट घट्नामा लेखापढी व्यवसायी पक्राउ
लहान— सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ का गुमस्ता यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, गुमस्ता यादव जिल्ला अदालतको छेउमै आफ्नो लेखापढी व्यवसाय सञ्चालन गर्दै आएका थिए। शंकास्पद गतिविधिका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर चार दिनदेखि अनुसन्धान गरिरहेको छ।
डीएसपी रमेशबहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको स्पष्ट गर्दै भने, ‘हामीले शंकास्पद गतिविधिका आधारमा एक जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेका छौँ। अनुसन्धानको निष्कर्ष आएपछि मात्र थप विवरण सार्वजनिक गरिनेछ।’
गएको फागुन २७ गते बार एसोसिएसनको कार्यालयमा भएको कुकर बम विस्फोटमा सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको थियो। विस्फोटले कार्यालयमा रहेका कम्प्युटर तथा अन्य सामग्रीमा पनि क्षति पुगेको थियो।
प्रहरी अनुसन्धानमा घटनाको पृष्ठभूमि, विस्फोटको स्रोत र संलग्न व्यक्तिहरूको पहिचानसमेत समेटिने छ।
