ओली पक्राउविरुद्ध देशभर उग्र प्रदर्शन, काठमाडौँमा प्रहरी–एमाले कार्यकर्ता झडप

काठमाडौँ— पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध सुरु भएको आन्दोलन आइतबार थप उग्र बन्दै राजधानीका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेका एमाले कार्यकर्तालाई प्रहरीले बिजुलीबजारस्थित पुलमा रोक्न खोजेपछि स्थिति एकाएक तनावग्रस्त बनेको हो।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै लाठीचार्ज गरेपछि कम्तीमा आधा दर्जन कार्यकर्ता घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउको फुटेको छ। अन्यको अवस्था सामान्य रहेको जनाइएको छ। आन्दोलनकारीहरू अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै दोस्रो दिन पनि सडकमा उत्रिएका हुन्, र यसको प्रभाव देशभर फैलिएको छ।

यसैबीच बबरमहल क्षेत्र पनि झडपको केन्द्र बनेको छ, जहाँ अदालत परिसर अगाडि प्रदर्शन गरिरहेका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणबाहिर जान थालेको थियो। त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो। घटनाका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन् भने प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

एसपी पवन भट्टराईका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ। राजनीतिक तनावका बीच कानुनी प्रक्रिया भने तीव्र गतिमा अघि बढिरहेको छ। जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश आनन्द श्रेष्ठको इजलासले दिएको उक्त आदेश सरकारी वकिल कार्यालयको मागभन्दा आधा भए पनि अनुसन्धानका लागि पर्याप्त समय मानिएको छ। सरकारी पक्षले भने १० दिनको म्याद माग गरेको थियो।

पक्राउपछि लेखकलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराइएको थियो भने स्वास्थ्य अवस्थाका कारण ओलीलाई भर्चुअल माध्यमबाट इजलासमा प्रस्तुत गरिएको थियो। हाल ओली काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचाररत छन् भने लेखक महाराजगन्जस्थित प्रहरी हिरासतमा राखिएका छन्।

ओली र लेखकको गिरफ्तारी भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धानका क्रममा गठित गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा गरिएको हो। आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई ती घटनामा जिम्मेवार ठहर गर्दै फौजदारी अभियोगमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

सोही सिफारिसलाई आधार बनाएर प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै अनुसन्धान प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो। आयोगले सुरक्षा निकायसँग सम्बन्धित विषयमा छुट्टै अध्ययन समिति गठन गर्ने र अन्य सिफारिस तत्काल कार्यान्वयन गर्ने सुझाव दिएको थियो।

ओलीले भने आफूविरुद्ध आएको प्रतिवेदनलाई कडा शब्दमा अस्वीकार गर्दै ‘कुकर्म र भद्दा नाटक’ को संज्ञा दिएका छन्। उनको गिरफ्तारीपछि एमालेले देशव्यापी आन्दोलनको घोषणा गर्दै विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी राखेको छ। आइतबार मात्र देशभरका जिल्ला कमिटीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएका छन्।

राजधानीमा चर्किँदै गएको आन्दोलन र सडकमा बढ्दो तनावले राजनीतिक वातावरण थप अस्थिर बन्ने संकेत देखिएको छ। सरकार र प्रमुख प्रतिपक्षबीचको टकराव सडक र अदालत दुवै मोर्चामा उत्रिँदा आगामी दिनमा यसको प्रभाव अझ गहिरिने अनुमान गरिएको छ। अहिलेको परिस्थिति केवल कानुनी प्रक्रिया मात्र नभई गम्भीर राजनीतिक संघर्षको रूप लिँदै गएको स्पष्ट देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट