सेनाको ‘व्यावसायिकता’ दाबीमाथि प्रश्नः सिग्देलको अभिव्यक्ति र ओली–बादलको भनाइले चर्कियो विवाद

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा नेपाली सेनाले निर्वाह गरेको भूमिकाबारे प्रधानसेनापति अशोकराज सिग्देलले गरेको अभिव्यक्तिले नयाँ बहस जन्माएको छ। उनले आन्दोलनका चुनौतीपूर्ण परिस्थितिमा सेनाले उच्च व्यावसायिकता, अनुशासन र कार्यकुशलता प्रदर्शन गरेको दाबी गरेसँगै केही वृत्तमा त्यसलाई ‘बढाईचढाई’ को रूपमा व्याख्या गर्न थालिएको छ।

बुटवलमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले हालैका राष्ट्रिय घटनाक्रमहरूमा नेपाली सेनाले देखाएको भूमिका देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसित भएको बताएका थिए। उनले विशेषगरी जेनजी आन्दोलनको पृष्ठभूमिमा उत्पन्न अस्थिरताका बीच सेनाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै शान्ति र स्थायित्व कायम गर्न योगदान पुर्‍याएको जिकिर गरे।

उनको भनाइअनुसार नेपाली सेना सदैव अराजनीतिक, अनुशासित र चेन अफ कमान्डमा आधारित संस्था रहँदै आएको छ, जसले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षामा निरन्तर भूमिका खेलेको छ। उनले वीर पुर्खाहरूको त्याग र बलिदानबाट स्थापित परम्परालाई निरन्तरता दिँदै वर्तमान चुनौतीहरू सामना गर्न सेना सक्षम रहेको दाबी गरे।

तर, प्रधानसेनापतिको यही अभिव्यक्तिपछि केही विश्लेषक र राजनीतिक वृत्तले भने जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति, हिंसात्मक झडप र विवादास्पद घटनाहरूलाई बेवास्ता गर्दै सेनाको भूमिका मात्र सकारात्मक रूपमा प्रस्तुत गरिएको भन्दै प्रश्न उठाएका छन्। उनीहरूका अनुसार यस्तो एकपक्षीय प्रस्तुति घटनाको समग्र सत्य चित्रणभन्दा टाढा हुन सक्छ र यसले निष्पक्ष मूल्याङ्कनमा असर पार्न सक्छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा दिएको बयानले समेत निर्वाचित सरकारलाई सत्ताच्युत गराउन सेनाले भूमिका खेलेको खुलेको छ। उनले आपतकालीन अवस्थाबीच नेपाली सेनाबाट अपेक्षित सहयोग नपाएपछि बाध्य भएर राजीनामा दिनुपरेको दाबी गरेका छन्।

ओलीका अनुसार भदौ २४ गते उत्पन्न आपतकालीन परिस्थितिमा सेनासँग समन्वयका लागि पहल गरिए पनि अपेक्षित सहयोग नपाएको र त्यसले परिस्थितिलाई झन् जटिल बनाएको थियो। उनले उक्त अवस्थाले आफूलाई राजनीतिक रूपमा असहज बनाउँदै अन्ततः राजीनामा दिनुपर्ने अवस्थामा पुर्‍याएको उल्लेख गरेका छन्।

एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले त आईतबारको संसद वैठकमै सेनाको भूमिकाप्रति गम्भिर प्रश्न उठाएका थिए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक चुनावी सफलतालाई राजनीतिक प्रतिस्पर्धाको परिणाम नभई संगठित प्रभाव र योजनाको उपज भएको संकेत गरे। थापाले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, बारबरा फाउन्डेसन, हामी नेपाल र टीओवीजस्ता संस्थासम्मको नाम लिँदै ती सबैलाई व्यंग्यात्मक शैलीमा ‘बधाई’ दिएका थिए।

उनको भनाइमा यो विजय ‘जादूमयी’ शैलीमा निर्माण गरिएको थियो, जहाँ टीओबी, अल्गोरिदम र गोयबल्स शैलीको प्रचार रणनीति प्रयोग गरिएको आरोप उनले लगाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट