संसद्मा बादलको विस्फोटक सम्बोधनपछि एमालेमा भुकम्पः ६ घण्टे बैठकपछि अभिव्यक्ति ‘सच्च्याइयो’

काठमाडौँ— प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले गरेको विस्फोटक सम्बोधनले राष्ट्रिय राजनीतिमा मात्र होइन, आफ्नै दलभित्र समेत गहिरो कम्पन उत्पन्न गरेको छ।

भदौ २३ र २४ को जेनजी प्रदर्शनसँग जोडिएका संवेदनशील विषयहरू उठाउँदै उनले संसद्मा दिएको अभिव्यक्तिले तत्कालै सत्ता र प्रतिपक्षबीचको टकराव चर्किएको मात्र होइन, एमालेभित्रै असहज स्थिति सिर्जना गरेको हो।

संसद्मा उनले देशव्यापी हिंसा, आगजनी र जनधनको क्षतिसँग सम्बन्धित घटनाहरूलाई जोड्दै कडा भाषामा प्रश्न उठाएका थिए। उनले रास्वपालाई झण्डै दुई तिहाई वहुमत दिलाउन भूमिका खेलेको भन्दै नेपाली सेनालाई बधाई दिए। त्यस क्रममा उनले ‘टिओबी’ अर्थात् तिबेतियन ओरिजिनल ब्लडसम्बन्धीत सन्दर्भलाई ल्याएपछि सदनको वातावरण झन् तनावग्रस्त बनेको थियो। उनको उक्त अभिव्यक्तिपछि गृहमन्त्री सुधन गुरुङको प्रतिक्रिया समेत असामान्य देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भयो, जसको भिडियो क्लिप भाइरलसमेत बन्यो।

तर, संसद्भित्र उठेको यो तरंग चाँडै एमालेभित्रै भूकम्पमा परिणत भयो। बैठक सकिएलगत्तै पार्टीले आकस्मिक रूपमा सचिवालय बैठक बोलायो, जहाँ बादलको अभिव्यक्तिमाथि तीव्र आलोचना भएको स्रोतहरूले जनाएका छन्। करिब ६ घण्टा लामो छलफलपछि एमालेले औपचारिक रूपमा उनको भनाइ पार्टीको मूल्यमान्यताविपरीत र त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको थियो।

बैठकमा सहभागी नेताहरूका अनुसार यो बैठक असामान्य रूपमा खुला र बहसपूर्ण बनेको थियो। जहाँ नेतृत्वबाहेक अन्य सदस्यहरूको धारणा समेत स्पष्ट रूपमा सुन्ने वातावरण बनेको बताइन्छ। छलफलका क्रममा बादलले आफूले सो अभिव्यक्ति व्यक्तिगत आवेगमा नभई परामर्शपछि दिएको दाबी गरेका थिए।

स्रोतका अनुसार उनले संसद्मा जानुअघि त्रिवि शिक्षण अस्पताल पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए र सोही छलफलअनुसार आफूले धारणा राखेको बताएका थिए। तर, बैठकमा उनको पक्षमा उभिने कोही देखिएन।

महासचिव शंकर पोखरेल समेत प्रारम्भमा मौन रहेपछि अन्ततः पार्टी नेतृत्वले स्थिति नियन्त्रणमा लिन औपचारिक कदम चाल्यो। बैठकपछि पोखरेलमार्फत जारी गरिएको विज्ञप्तिमा बादलको अभिव्यक्तिलाई ‘करेक्सन’ गरिएको उल्लेख गरिएको छ, जसले एमालेभित्रको असन्तुलनलाई बाहिर ल्याएको विश्लेषण गरिएको छ।

समग्र घटनाक्रमले संसद्मा बोलेको एउटा अभिव्यक्तिले कति छिटो राजनीतिक र दलगत समीकरण हल्लाउन सक्छ भन्ने देखाएको छ। अझ महत्वपूर्ण कुरा, यसले एमालेभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्वप्रति निर्भरता र नीति–अनुशासनबीचको द्वन्द्वलाई समेत सतहमा ल्याएको छ। अब प्रश्न उठेको छ—के यो केवल एक अभिव्यक्तिको विवाद हो, वा एमालेभित्र गहिरिँदै गएको असन्तुष्टिको संकेत?

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट