‘युटुब’बाट प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युवरलाई हत्कडी
विराटनगर– सामाजिक सञ्जाल युटुबमार्फत प्रधानमन्त्री बालेन्द्र साह (बालेन)सहित शीर्ष नेताहरूलाई लक्षित गर्दै अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गर्ने एक जना युट्युबर पाँचथरबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले गरेको प्राविधिक अनुसन्धान र निगरानीका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पोखरेलले ‘हेड्स’ नामक युटुब च्यानल सञ्चालन गर्दै आएका थिए, जसमा प्रसारित सामग्रीमार्फत प्रधानमन्त्री बालेन्द्र साहलगायतका सार्वजनिक पदाधिकारीहरूमाथि अपमानजनक अभिव्यक्ति, गालीगलौज र मर्यादाविहीन टिप्पणी गरिएको पाइएको छ। सोही सामग्रीलाई आधार बनाएर उनलाई पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ।
पक्राउपछि उनलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि १० दिनको म्याद थप अनुमति लिइएको छ। पाँचथरका डीएसपी अनिश कर्णका अनुसार हाल घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ र डिजिटल प्रमाणहरू संकलन गर्ने कार्य भईरहेको छ।
