‘नेपो बेबी’को देउसी गाएर उदाएको सरकारका मन्त्रीमाथि उही आरोप—सुस्मितको २४ करोडको स्रोत के हो?

राजविराज– भ्रष्टाचारविरुद्ध भन्दै जेन–जी पुस्ताले थालेको सडक प्रदर्शनले भदौमा केपी शर्मा ओली नेतृत्वको निस्कन्टक सत्ता मात्रै ढालेन, देशको राजनीतिक संरचनामै उथलपुथल ल्यायो। ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि विजयोत्सव मनाउँदै सयौँ प्रदर्शनकारीहरू राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयहरूमा प्रवेश गरे।

तर त्यो उत्साह केही समयमै अराजकतामा बदलियो। अनपेक्षित रूपमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भए, जसले आन्दोलनको नैतिक धरातल कमजोर बनायो। त्यही आन्दोलनको सबैभन्दा चर्चित शब्द बन्यो—‘नेपो बेबी’। ‘नेपो बेबी’ अर्थात् ‘नेपटिजम बेबी’। प्रसिद्ध वा शक्तिशाली व्यक्तिका सन्तान, जसले आफ्नै क्षमता भन्दा बढी पारिवारिक पहुँचका आधारमा अवसर र सफलता प्राप्त गरेका हुन्छन्। सामाजिक सञ्जालमा यो शब्दले व्यापक बहस जन्मायो।

प्रदर्शनअघि नै जेन–जी पुस्ताले सामाजिक सञ्जालमा एउटा अभियान सुरु गरिसकेको थियो। कतिपय नेता र शक्तिशाली व्यक्तिका सन्तान र सामान्य जनताका छोराछोरीबीचको जीवनशैली तुलना गर्दै भिडियोहरू पोस्ट हुन थाले। ‘नेताका सन्तान विदेशबाट गुचीको ब्याग लिएर फर्कन्छन्, जनताका छोराछोरी बाकसमा’ भन्ने भावनात्मक सन्देशसहितको अभियानले व्यापक प्रभाव पा¥यो।

रेडिट, इन्स्टाग्राम र टिकटकमा फैलिएको यो लहर अन्ततः भदौ २३ गते सडकमा विस्फोट भयो। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विशेषगरी नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाको छोरा जयबीर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार, एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला खतिवडा लगायतका व्यक्तिहरूको जीवनशैली सार्वजनिक गर्दै प्रश्न उठाए। महंगा ब्राण्डेड वस्त्र, विलासी यात्रा, भव्य विवाह र सामाजिक सञ्जालमा देखिने तडकभडकले ‘आम्दानीको स्रोत के हो ?’ भन्ने प्रश्नलाई थप बलियो बनायो।

देउवा दम्पतीको राजनीतिक जीवन बाहेक उल्लेखनीय आम्दानीको स्रोत नदेखिँदा उनीहरूको पारिवारिक जीवनशैलीमाथि प्रश्न उठ्यो। जयबीर देउवाको विवाह, हनिमुन र विलासी जीवनशैलीका तस्बिरहरू अभियानको मुख्य सामग्री बने। प्रचण्ड परिवारको तडकभडक, छोरीहरू गंगा र रेणुको जीवनशैली, नातिनीहरूको महंगा ब्राण्ड प्रयोग—यी सबै सामाजिक सञ्जालमा बहसको विषय बने।

श्रृंखला खतिवडाले भने आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आफ्नो सफलता व्यक्तिगत मेहनतको परिणाम भएको बताइन्। उनले सामाजिक सञ्जालमार्फत आफू खुला किताब जस्तै रहेको र भ्रष्टाचारसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन्। ब्रान्ड इन्डोर्समेन्टबाट आम्दानी गर्ने, अध्ययन आफैंले फन्ड गर्ने लगायतका दाबी गर्दै उनले आफू ‘कोलाट्रल ड्यामेज’ बनेको प्रतिक्रिया दिइन्।

तर, प्रश्नहरू भने थामिएनन्। यसरी सुरु भएको आन्दोलन अन्ततः राज्यका संरचना नै नष्ट गर्दै सुस्तायो। तर विडम्बना के छ भने, त्यही आन्दोलनबाट उदाएको राजनीतिक शक्ति र त्यसका नयाँ अनुहारहरू पनि अहिले उस्तै ‘नेपो बेबी’ आरोपको दलदलमा फस्न थालेका छन्।

यही सन्दर्भमा सबैभन्दा धेरै प्रश्न उठिरहेको छ—२९ वर्षीय शिक्षामन्त्री सस्मित पोखरेलमाथि। काठमाडौं–५ बाट निर्वाचित भई मन्त्री बनेका पोखरेलले परिवारसहित कुल २४ करोड १६ लाख २७ हजार रुपैयाँको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। ७५ लाख रुपैयाँ ऋण देखाए पनि उनको खुद सम्पत्ति २३ करोड ४१ लाखभन्दा बढी छ। यो तथ्य सार्वजनिक भएसँगै ‘यति कम उमेरमा यत्रो सम्पत्ति कसरी ?’ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

उनको परिवारको नाममा काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा छ। काठमाडौंमै करोडौँ मूल्यका दुई घर, गोदावरीमा बहुमूल्य जग्गा, गोकर्णेश्वरमा प्लट, विराटनगरमा जग्गा। यी सबै सम्पत्तिको स्रोतका रूपमा उनले बुबाको राष्ट्र बैंकको जागिर, पैतृक सम्पत्ति र आमाको दाइजो देखाएका छन्। तर आलोचकहरू यत्तिमै सन्तुष्ट छैनन्।

२५ तोला सुन, १०० तोला चाँदी, बैंकमा लाखौँ मौज्दात, ३० लाख बराबरको शेयर, राष्ट्रिय बचतपत्रमा झण्डै डेढ करोड लगानी। यी सबै विवरणले उनको आर्थिक हैसियतलाई थप प्रश्नको घेरामा ल्याएको छ। त्यसमाथि, ३९ लाखभन्दा बढीको गाडी र पारिवारिक सवारी साधनले उनको जीवनशैलीलाई ‘सामान्य राजनीतिक पृष्ठभूमि’ भन्दा धेरै माथि देखाउँछ।

अझ गम्भीर प्रश्न उनको पारिवारिक नेटवर्क र पहुँचलाई लिएर उठेको छ। उनका बुबा रमेशकुमार पोखरेल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्, जसले अवकाशपछि राजनीतिक पहुँचका आधारमा स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक जस्तो जिम्मेवारी पाएका थिए। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा नियुक्ति, राजनीतिक नेताहरूसँगको निकटता, आर्थिक लेनदेनका आरोप। यी सबै तथ्यहरूले ‘नेपो बेबी’ बहसलाई थप बलियो बनाएको छ।

धुम्बाराहीमा बसोबास गर्ने सुनसरीका रमेश पोखरेल पछिल्लो समय सानिमा बैंकको सञ्चालक समितिमा ‘पब्लिक शेयर होल्डरहरु’ को तर्फबाट सञ्चालक बनाइएका छन्। रमेशलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री इश्वर पोखरेलको सिफारिसमा अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य बीमा बोर्डको सिइओ बनाइदिएका थिए। २०७५ साउन १७ गतेदेखि २०७७ चैत २२ गतेसम्म उनी उक्त जिम्मेवारीमा रहे।

अघिल्लो चुनावसम्म सुस्मितका पिता रमेश इश्वर पोखरेलको चुनावी प्रचारमा धुम्बाराही क्षेत्रतिर झुल्किएका थिए। त्यसमाथि, सुस्मित स्वयम् पनि प्रधानमन्त्री बालेन्द्र साह (बालेन) का ‘खास’ मानिन्छन्। बालेन काठमाडौँ महानगरको मेयर हुँदा उनी तीन वर्षभन्दा बढी एजुकेसन कन्सल्टेन्टको रूपमा काम गरेका थिए।

जेन जी विध्वंशपछि काठमाडौँ जिल्ला अदालतमा कोर्ट म्यारिज गरेलगत्तै हनिमुन मनाउन भियतनाम गएका उनी अचानक राष्ट्रिय राजनीतिमा उदाएर मन्त्री बन्नु पनि आलोचनाको विषय बनेको छ। ‘योग्यता कि पहुँच ?’—यो प्रश्न अहिले तीव्र रूपमा उठिरहेको छ।

सुस्मितको मामाघरका हजुरबा पवनकुमार ओझा हुन्। वकिल ओझालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि महान्यायाधिवक्ता र पछि सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त गरिएको थियो।

यता, सुस्मितले भने ‘नेपो बेबी’ विषयलाई वेवास्ता गर्दै आफ्नो सम्पत्ति पूर्ण रूपमा पारदर्शी र इमानदार कमाइ भएको दाबी गरेका छन्। ‘मलाई कुनै डर छैन’ भन्दै उनले सबै विवरण सार्वजनिक गरेको बताएका छन्। तर, आलोचकहरू भन्छन—पारदर्शिता देखाउनु मात्र पर्याप्त हुँदैन, स्रोतको विश्वसनीयता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यसैगरी, प्यान नम्बर गोप्य राख्नुजस्ता विषयले पनि उनको सम्पत्ति विवरणमा थप शंका जन्माएको छ।

जुन ‘नेपो बेबी’ विरुद्धको आन्दोलनले सत्ता परिवर्तन ग¥यो, आज त्यही आन्दोलनको परिणामस्वरूप बनेको सरकारका मन्त्रीमाथि उस्तै आरोप लाग्नु संयोग मात्र हो कि संरचनागत समस्या ? यो प्रश्न अहिले केवल सामाजिक सञ्जालमा मात्र होइन, राजनीतिक वृत्तमा पनि गुञ्जिन थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *