आफ्नै आमाको हत्या योजनामा छोराको कमाण्डः जेलभित्रै बसेर परिवार परिचालन गरी संगठित अपराध

काठमाडौँ– आमा र छोरा बीचको सम्बन्ध, जसलाई समाजमा सबैभन्दा पवित्र र सुरक्षित बन्धन मानिन्छ। त्यही सम्बन्धभित्र जन्मिएको एउटा षड्यन्त्रले पोखरालाई स्तब्ध बनाएको छ। चैत २५ गते साँझ सभागृह चोक नजिकै ४२ वर्षीया एकल महिला सिर्जना पौडेल केसीको खुँडा प्रहार गरी भएको जघन्य हत्यामा उनका सौतेनी छोरा गौरव केसी मुख्य योजनाकार रहेको खुलेपछि प्रहरी नै स्तब्ध भएको छ।

प्रहरीका अनुसार यो घटना क्षणिक आवेगमा नभई करिब ६ महिनादेखि कारागारभित्र बसेर बनाईएको योजनाको परिणाम हो। कारागारमा रहेका सौतेनी छोरा गौरव केसीले बाहिर रहेका आफन्तहरूलाई परिचालन गरी योजनाबद्ध रूपमा सिर्जनाको हत्या गराएको खुलासा कास्की प्रहरीले गरेको छ।

एसपी नवीन कार्कीका अनुसार घटनाको पर्दाफास भान्जा शिशिर भनिने सन्तोष केसी र स्कुटर चालक कुशल परियारको पक्राउसँगै भएको थियो। त्यसपछि थप अनुसन्धानमा भान्जा वसन्त केसी र ज्वाइँ नवराज पौडेल क्षेत्रीसमेत पक्राउ परे। तर अनुसन्धान जति गहिरिँदै गयो, घटनाको जरा परिवारभित्रै गाडिएको तथ्यहरू उजागर हुँदै गयो।

एसपी कार्कीका अनुसार कारागारभित्र रहेका गौरव केसी र भान्जा वसन्त केसीबीचको भेटपछि हत्या योजना औपचारिक रूपमा अघि बढेको देखिन्छ। गौरवले बाहिर रहेका वसन्तलाई आफ्नै स्कुटर प्रयोग गर्न दिएर हत्या गर्न उक्साएको अनुसन्धानमा देखिएको छ। ‘जसरी हुन्छ गर, म जे गर्नुपर्छ गर्छु’ भन्ने शैलीमा गौरवले जेलभित्रबाटै निर्देशन दिएको प्रहरीको भनाइ छ।

वसन्त केसी, जो यसअघि लागुऔषध मुद्दामा समेत कारागार बसेर छुटिसकेका थिए। उनि व्यक्तिगत रिस र पारिवारिक कलहका कारण यस घट्नामा संलग्न भएको अनुसन्धानले देखाएको छ। ‘इगो र पारिवारिक अपमानको भावना’ नै उनलाई अपराधतर्फ धकेल्ने प्रमुख कारण बनेको प्रहरी निष्कर्ष छ।

अंश विवाद, बकससम्बन्धी झगडा र सम्पत्तिको बाँडफाँडको दीर्घकालीन कलहले सिर्जनाको परिवारभित्र गहिरो दरार बनाएको थियो। मृतक सिर्जनाका श्रीमान् कृष्णले आफ्नो सम्पत्ति छोराछोरीका नाममा बकस गरिदिएपछि सुरु भएको विवाद पछि झनै चर्किएको थियो।

श्रीमतीको मृत्यु, पुनः विवाहपछि परिवारमा बढेको असन्तोष र सम्पत्ति विवादले अन्ततः सिर्जनालाई निशाना बनाएको देखिन्छ। प्रहरीका अनुसार सिर्जनालाई ‘परिवार विघटनको कारण’ ठान्दै योजनाकारले नै हत्या गर्न प्रेरित गरेका हुन्।

खुँडा प्रहारको दिन पोखराको व्यस्त बजारमा दिनदहाडै गरिएको आक्रमणले सुरक्षा अवस्था र अपराधको क्रूरता दुवै उजागर गरेको छ। आक्रमणपछि फरार भएका अभियुक्तहरूलाई प्रहरीले ४८ घण्टाभित्र नियन्त्रणमा लिए पनि अनुसन्धान अझै गहिरिँदै गएको छ।

यस घटनाले एउटै परिवारभित्र अंश, बकस र विश्वासघातले कसरी सम्पूर्ण जीवन र परिवार नै तहसनहस बनाउन सक्छ भन्ने गम्भीर प्रश्न उठाएको छ। प्रहरी प्रमुख कार्कीका अनुसार यो घटना हत्या मात्रै होइन, पारिवारिक कलहबाट जन्मिएको संगठित अपराधको भयावह उदाहरण हो।

‘आमाको हत्या गर्न छोराले नै योजना बनाउनु, भान्जा र ज्वाइँसम्म संलग्न हुनु र दिनदहाडै बजारमा खुँडा प्रहार हुनु अत्यन्त गम्भीर कुरा हो,’ एसपी कार्कीले भने, ‘हामीले छोटो समयमा अभियुक्तहरू पक्राउ गरेका छौं, तर यसको सामाजिक पाटो अझै गहिरो अध्ययनको विषय हो।’

अहिले सिर्जनाकी ४ वर्षीया छोरी बेसहारा बनेकी छिन् भने एकै घटनाले तीन परिवार ध्वस्त भएको प्रहरीको निष्कर्ष छ। अनुसन्धान अझै जारी छ र थप तथ्यहरू बाहिर आउने क्रममा छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट