हिजो ओलीलाई ‘हिटलर’ देख्ने रास्वपा, आज बालेनको मौनताको ढाल बन्दै !

काठमाडौँ— राजनीतिमा एउटा पुरानो भनाइ छ– सत्ताले मानिसलाई अन्धो बनाउँछ र प्रतिपक्षले उसलाई चस्मा लगाइदिन्छ। तर नेपालको समकालीन राजनीतिमा अहिले अर्को नयाँ यथार्थ थपिएको छ– प्रतिपक्षमा हुँदा अरूमाथि प्रहार गर्न प्रयोग गरिएका शब्दका तीरहरू सत्तामा पुगेपछि आफ्नै छातीतिर फर्किन थाल्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी अहिले ठीक त्यही अवस्थाबाट गुज्रिरहेको देखिन्छ।

प्रतिपक्षमा हुँदा पुराना दलजस्तो नबन्ने दाबी गर्दै उदाएका रास्वपाका सांसदहरू अहिले आफ्नै विगतका अभिव्यक्ति, भाषण र नैतिकताको पाठका अगाडि असहज बनेका छन्। संसदको रोष्ट्रमदेखि सामाजिक सञ्जालसम्म उनीहरूले विगतमा बनाएका मापदण्ड अहिले उनीहरूकै लागि राजनीतिक ऐना बनेका छन्, जहाँ हिजो अरूलाई देखाइएको अनुहार आज आफ्नै प्रतिबिम्बका रूपमा फर्किएको छ।

०८१ फागुन २१ गते संसदमा उभिएर रास्वपाका सांसद शिशिर खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै जर्मनीको इतिहास सुनाएका थिए। उनले हिटलर पनि निर्वाचन जितेरै सत्तामा पुगेको तर पछि लोकतान्त्रिक संस्थाहरू ध्वस्त बनाएको उदाहरण दिँदै ओलीतर्फ प्रश्न तेर्स्याएका थिए– ‘के प्रधानमन्त्रीज्यू, तपाईं हिटलर बन्दै हो ?’ त्यो भाषणले तत्कालीन सत्ता विरुद्ध रास्वपाको नैतिक आक्रामकता झल्काएको थियो।

तर, आज विडम्बना के देखिएको छ भने, त्यही प्रश्न रास्वपातर्फै फर्किएको छ। हिजो प्रधानमन्त्री संसदमा उपस्थित नभएको, प्रश्नबाट भागेको वा जवाफदेहिताबाट टाढिएको भन्दै चर्को आलोचना गर्ने रास्वपा अहिले आफ्नै दलबाट प्रधानमन्त्री बनेका बालेन्द्र साह संसदमा अनुपस्थित हुँदा मौन मात्र छैन, बरु त्यसको बचाउमा तर्क खोजिरहेको छ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनु संसदीय प्रणालीको आधारभूत संस्कार हो। तर प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित नभई अर्थमन्त्रीमार्फत जवाफ दिलाउँदा रास्वपाका नेताहरूले त्यसलाई सामान्य प्रक्रियाजस्तो चित्रण गरिरहेका छन्। यही बिन्दुमा रास्वपाको राजनीतिक नैतिकता सबैभन्दा बढी संकटमा परेको देखिन्छ।

हिजो संसदलाई लोकतन्त्रको सर्वोच्च मञ्च बताउनेहरूले आज त्यही संसदप्रति प्रधानमन्त्रीको उदासीनता किन स्वीकार गरिरहेका छन् ? यही प्रश्न अहिले सत्ता र प्रतिपक्ष दुवैतर्फबाट उठ्न थालेको छ।

रास्वपाका अर्का चर्चित सांसद मनिष झाले ०८२ चैत २३ गते संसदलाई ‘गुरुकुल’ को संज्ञा दिएका थिए। उनले संसद कुनै ‘चिया पसल’ वा ‘चौतारी’ नभएको भन्दै सांसदहरू मन लाग्दा आउने, मन लाग्दा बोल्ने र मन नलागे हिँड्ने प्रवृत्तिको आलोचना गरेका थिए। तर आज प्रश्न उठेको छ– संसदलाई गुरुकुल भन्नेहरूले आफ्नै प्रधानमन्त्रीलाई किन कक्षा छोड्न दिइरहेका छन् ?

प्रतिनिधिसभामा कांग्रेस सचेतक निस्कल राईले झाले विगतमा बोलेका शब्द नै उद्धृत गर्दै रास्वपामाथि व्यंग्य गरेपछि सदनभित्र असहज स्थिति बनेको थियो। संसदलाई अनुशासन, जवाफदेहिता र लोकतान्त्रिक संस्कारको केन्द्र भन्ने दल अहिले आफ्नै प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्य मान्न बाध्य देखिएको छ।

यही कारणले रास्वपाको ‘फरक राजनीति’ माथि गम्भीर प्रश्न उठ्न थालेका छन्। किनकि जनताले रास्वपालाई पुराना दलको पुनरावृत्ति गर्न होइन, पुराना गल्ती सच्याउन मत दिएका थिए। तर सत्ता सम्हालेपछि रास्वपाका व्यवहारमा पुरानै राजनीतिक रोग देखिन थालेको आलोचकहरूको टिप्पणी छ।

प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीमाथि प्रश्न उठ्दा रास्वपाका सांसदहरू जसरी रक्षात्मक बनेका छन्, त्यसले उनीहरूको दोहोरो चरित्रलाई सतहमा ल्याएको छ। हिजो ओलीले संसद छलेको भन्दै अधिनायकवाद देख्नेहरूले आज आफ्नै प्रधानमन्त्रीको अनुपस्थितिलाई ‘व्यस्तता’ र ‘सामान्य प्रशासनिक प्रक्रिया’ भन्दै व्याख्या गरिरहेका छन्। यही दोहोरो मापदण्ड अहिले रास्वपाको सबैभन्दा ठूलो राजनीतिक कमजोरी बनेको छ।

राजनीतिमा बोलेका शब्दहरू कहिल्यै हराउँदैनन्। ती अभिलेख बन्छन्, इतिहास बन्छन् र समय आएपछि प्रश्नका रूपमा फर्किन्छन्। अहिले सामाजिक सञ्जालमा रास्वपाका पुराना भाषण, भिडियो र स्टाटसहरू उत्खनन भइरहेका छन्। जनताले सोधिरहेका छन– ‘हिजो संसदप्रति यति धेरै संवेदनशील हुनेहरू आज किन मौन छन् ?’

लोकतन्त्र केवल निर्वाचन जितेर कायम रहने व्यवस्था होइन। लोकतन्त्र संस्थागत मर्यादा, जवाफदेहिता र सार्वजनिक उत्तरदायित्वले टिक्छ। संसदलाई सरकारको ‘रबर स्ट्याम्प’ बनाउने प्रवृत्ति जहाँ सुरु हुन्छ, त्यहीँबाट लोकतन्त्रको क्षयीकरण सुरु हुन्छ। रास्वपाले हिजो यही चेतावनी अरूलाई दिएको थियो। तर आज त्यही आरोपको केन्द्रमा स्वयं उभिएको छ।

शिशिर खनालले संसदमा उद्धृत गरेको पुस्तक ‘हाउ डेमोक्रेसीज डाइ’ को सार यही थियो– लोकतन्त्र बन्दुकको नालबाट मात्रै मर्दैन, निर्वाचित नेताहरूले संस्थागत संस्कार बिर्सिँदा पनि मर्छ। अहिले प्रश्न उठिरहेको छ– के रास्वपा आफैं त्यही बाटोमा हिंडिरहेको छ ?

आजको राजनीतिक वास्तविकता के हो भने, रास्वपा आफ्नै शब्दको भारीले थिचिन थालेको छ। हिजो नैतिकताको भाषण दिनेहरू आज सत्ताको बचाउमा आफ्नै अभिव्यक्तिमा टिकिरहन नसक्ने अवस्थामा पुगेका छन्। ओलीलाई ‘हिटलर’ देख्ने आँखाले आज आफ्नै प्रधानमन्त्रीमा देखिएको संसदीय उदासीनता किन देख्न सकेन ? यही प्रश्न अहिले रास्वपाको राजनीतिक भविष्य पछ्याइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट