पत्नी तीन वर्षदेखि दुवईमा, मानसिक तनावले विछिप्त बनेका पतिले झण्डै आफैलाई सिध्याए !

विराटनगर — मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा पारिवारिक दूरी, एक्लोपन र लामो समयदेखिको मानसिक तनावबीच ३३ वर्षीय आशकुमार राईले आफैंलाई घाँटी रेटेर आत्मघातको प्रयास गरेका छन्। पत्नी तीन वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुवईमा रहेपछि घरमा एक्लै बस्दै आएका राई पछिल्ला दिनहरूमा गहिरो मानसिक असन्तुलनबाट गुज्रिरहेको अवस्थामा यो घटना भएको हो।

सोमबार बिहान करिब ८ बजे घरभित्रै गम्भीर अवस्थामा फेला परेका राईले खुकुरी प्रयोग गरी आफ्नै घाँटीमा चोट पु¥याएको प्रहरीले जनाएको छ। तत्कालै उनलाई स्थानीयले उद्धार गरी उर्लाबारीस्थित अरनिको अस्पताल पु¥याएका थिए। तर अवस्था जटिल बनेपछि चिकित्सकको सिफारिसमा उनलाई थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अझै पनि गम्भीर रहेको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनामा कुनै बाह्य व्यक्तिको संलग्नता नदेखिएको र यो व्यक्तिगत तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित अवस्था हुनसक्ने संकेत देखिएको छ। प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि, पारिवारिक अवस्था र मानसिक स्वास्थ्य पक्षलाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाइरहेको छ।

स्थानीयवासीका अनुसार आशकुमार पछिल्लो महिनादेखि असामान्य व्यवहार देखाउँदै आएका थिए। उनी कहिलेकाहीँ एक्लै बोल्ने, अनावश्यक रूपमा आक्रोशित हुने, लामो समयसम्म चुपचाप बस्ने र सामान्य कुरामा पनि असन्तुलित प्रतिक्रिया दिने जस्ता लक्षण देखिन थालेको छिमेकीहरूले बताएका छन्। परिवार र छिमेकले उनको व्यवहारमा आएको परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै निगरानी समेत गर्दै आएका थिए।

घटना हुनुभन्दा अघिल्लो रात पनि स्थानीयले उनको अवस्थाप्रति शंका गर्दै घरमै निगरानी गरेको बताएका छन्। तर बिहानको समयमा उनी कोठाभित्र प्रवेश गरेलगत्तै गम्भीर आत्मघातको प्रयास गरेको अवस्थामा भेटिएका थिए। समयमै उद्धार नभएको भए घटना अझै भयावह हुनसक्ने स्थानीयको भनाइ छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। प्रहरीले मानसिक तनाव, पारिवारिक परिस्थिति र लामो समयको एक्लोपनलाई सम्भावित कारणका रूपमा अध्ययन गरिरहेको जनाएको छ।

आशकुमारकी पत्नी विगत तीन वर्षदेखि दुवईमा वैदेशिक रोजगारीमा रहेको र उनीहरूकी ७ वर्षीया छोरीसमेत रहेको खुलेको छ। लामो समयसम्मको पारिवारिक दूरी, भावनात्मक असन्तुलन र सामाजिक एक्लोपनले उनको मानसिक अवस्था बिग्रँदै गएको हुनसक्ने स्थानीयको अनुमान छ।

स्थानीयवासीका अनुसार पछिल्ला दिनहरूमा उनको व्यवहार झनै अस्थिर बन्दै गएको थियो। तर निरन्तर निगरानीका बाबजुद पनि घटना रोक्न नसकिएको भन्दै उनीहरूले मानसिक स्वास्थ्य समस्याप्रति समयमै ध्यान दिन नसकिएकोप्रति चिन्ता व्यक्त गरेका छन्। अहिले उनको उपचार जारी रहेको र चिकित्सकहरूले अवस्था नाजुक रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट