‘प्रेमी’ भेट्न पटक–पटक जेल ब्रेक गरेकी सपना तामाङ फेरि भागिन, प्रहरीले समात्यो

काठमाडौँ— सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलको महिला बन्दीगृहबाट शुक्रबार मध्यराती फरार भएकी जन्मकैद सजाय भोगिरहेकी कैदी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। डाँका चोरी, अपहरण तथा बालिका हत्या जस्ता जघन्य अपराधमा दोषी ठहर भई २५ वर्ष कैद सजाय काटिरहेकी तामाङ कारागारको पर्खाल नाघेर फरार भएकी थिईन।

नुवाकोटको विदुर नगरपालिका–१३ स्पाङ काउले घर भएकी २५ वर्षीया तामाङ राति करिब १ बजेतिर महिला बन्दीगृहबाट फरार भएकी थिइन्। कारागार परिसरमा जडान गरिएको सिसिटिभी फुटेजमा उनी भुइँमा अग्ला वस्तुहरू थुपारेर त्यसकै सहायतामा पर्खाल चढ्दै बाहिर निस्किएको दृश्य देखिएको छ। कारागार प्रशासन र सुरक्षामा खटिएका प्रहरीलाई झुक्याउँदै उनी फरार हुन सफल भएपछि सुरक्षा संयन्त्रको कमजोरीबारे तीव्र आलोचना सुरु भएको थियो।

फरार भएकी तामाङलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष टोली परिचालन गरेको थियो। सोही टोलीले आइतबार राति उनलाई ठमेल क्षेत्रबाट पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार फरार कैदीलाई लुकाएर राखेको आरोपमा भोजपुर घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय समीर श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरी स्रोतका अनुसार सपना र समीरबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार समीरकी आमा पनि सुन्धारा कारागारमै बन्दी थिईन। आफ्नी आमालाई भेट्न पटक–पटक कारागार जाने क्रममा सपना र उनीबीच चिनजान भएको थियो। त्यो चिनजान विस्तारै प्रेम सम्बन्धमा बदलिएको प्रहरीको दाबी छ। समीरकी आमा अहिले भने उदयपुर कारागार सरुवा भइसकेकी छिन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार कारागारभित्रै रहँदा पनि सपना नियमित रूपमा समीरसँग फोन सम्पर्कमा रहने गर्थिन्। समीरका बुबासँग समेत उनको सम्पर्क रहेको खुलेको छ। प्रहरीका अनुसार शुक्रबार राति कारागारबाट भागेपछि सपनाले सुरुमा समीरलाई फोन गरेकी थिइन्, तर सम्पर्क हुन नसकेपछि उनले समीरका बुबालाई फोन गरेकी थिइन्। त्यसपछि उनी असनस्थित समीर बस्ने कोठामा पुगेको अनुसन्धानबाट खुलेको छ। समीर असन क्षेत्रमा भाँडाको पसलमा काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

प्रहरीले समीरमाथि फरार कैदीलाई लुकाएर राखेको आरोपमा अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार फरार कैदी आफ्नो सम्पर्कमा आएपछि सुरक्षानिकायलाई जानकारी गराउनुको सट्टा उनले लुकाउन सहयोग गरेका थिए। यही आधारमा उनलाई कानुनी दायरामा ल्याएर अनुसन्धान थालिएको हो।

सपना तामाङको आपराधिक पृष्ठभूमि अत्यन्त गम्भीर र क्रूर प्रकृतिको रहेको प्रहरी अभिलेखले देखाउँछ। उनी किशोरावस्थादेखि नै चोरी तथा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको प्रहरीको भनाइ छ। १७ वर्षकै उमेरदेखि उनी पटक–पटक पक्राउ पर्दै छुट्ने क्रम चलिरहेको थियो। तर २०७७ सालमा रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङमा भएको एक हृदयविदारक घटनापछि उनीमाथि जघन्य अपराधको अभियोग लाग्यो।

प्रहरीका अनुसार ६ वर्षीया बालिका सुमिना तामाङले कानमा लगाएको सुनको मुन्द्रा सपनाले लुटेकी थिइन्। ती बालिकाले घरमा गएर घटनाबारे बताउने डरले सपनाले उनलाई अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको थियो। विद्यालय गएकी बालिका घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसक्रममा कालिकाकै भिरमको ओडार क्षेत्रमा बालिकाको शव फेला परेको थियो। प्रहरीले बालिकाको घाँटीमा डोरीले कसेर हत्या गरिएको जनाएको थियो। यही घटनामा अदालतले सपनालाई जन्मकैद अर्थात् २५ वर्ष कैद सजाय सुनाएको थियो।

सुरुमा रसुवा कारागारमा राखिएकी उनलाई पछि सुन्धारास्थित केन्द्रीय कारागारमा सरुवा गरिएको थियो। तर जेल जीवनमा पनि उनी विवाद र फरारको श्रृंखलाबाट टाढा रहिनन्। गत २४ भदौमा भएको ‘जेन्जी आन्दोलन’ को मौका छोपेर उनी पहिलो पटक कारागारबाट फरार भएकी थिइन्। त्यसबेला पनि उनी आफ्ना प्रेमी समीरकै सम्पर्कमा पुगेको प्रहरी स्रोतको दाबी छ। त्यस बेला प्रहरीले उनलाई १६ कात्तिकमा रसुवाबाट पक्राउ गरी पुनः सुन्धारा कारागारमा ल्याएको थियो। तर कारागार प्रशासनले उनलाई पुनः नियन्त्रणमा लिए पनि उनको गतिविधि रोक्न सकेन । केही महिनामै उनले फेरि जेलको पर्खाल नाघेर फरार हुने दुस्साहस गरिन। लगातार दुई पटक एउटै कैदी फरार हुनु, त्यो पनि देशकै मुख्य कारागारबाट। यो घट्नाले कारागार प्रशासन, सुरक्षा संयन्त्र र निगरानी व्यवस्थामाथि गम्भीर प्रश्न बनेर उभिएको छ।

अहिले प्रहरीले फरार अभियुक्तलाई सहयोग पुगेको हुनसक्ने सम्भावित आन्तरिक संलग्नतासहित विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट