सुधार केन्द्रबाट निस्किएर भेट्न बोलाए, त्यसपछि फर्किनन् रोमाः प्रेमीकाको हत्या आरोपमा प्रेमी पक्राउ
दमक– झापामा लागुऔषधको कुलतबाट मुक्त गराउन परिवारले सुधार केन्द्रमा राखेका एक युवकले बाहिर निस्किएको केही घण्टामै आफ्नी प्रेमीकाको हत्या गरेका छन्। दमक नगरपालिका–८ बसन्त टोलकी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। पक्राउ परेका युवक र मृतक रमाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले हालसम्म पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन।
परिवारका अनुसार ती युवक केही समयदेखि लागुऔषध दुव्र्यसनको समस्यामा परेका थिए। त्यसपछि परिवारले उनलाई सुधार केन्द्रमा राखेको थियो। जेठ १३ गते तोकिएको कोर्स पूरा गरेर सुधार केन्द्रबाट बाहिरिएलगत्तै उनले रमासँग सम्पर्क गरेका थिए। मोबाइलमा फोन गरी भेट्न बोलाएपछि रमा घरबाट निस्किएकी थिइन्।
मृतक रमाकी आमा मुना तिवारीका अनुसार घरबाट निस्किनुअघि उनले प्रेमी भेट्न जान लागेको बताएकी थिइन्। परिवारले पनि उनीहरूबीचको सम्बन्धलाई सामान्य प्रेम सम्बन्धकै रूपमा लिएको थियो। लामो समयसम्म प्रत्यक्ष भेटघाट हुन नसकेका कारण भेट्न जान लागेको कुरा परिवारका लागि अस्वाभाविक थिएन।
तर त्यो भेट नै रमाको जीवनको अन्तिम भेट बन्यो। घरबाट निस्किएपछि सम्पर्कविहीन बनेकी रमाको खोजी भइरहेका बेला पाँच दिनपछि उनको शव रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा फेला परेको थियो। शव भेटिएपछि परिवार शोकमा डुबेको थियो भने घटनाले सिंगो दमक क्षेत्रलाई स्तब्ध बनाएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या नियोजित ढंगले गरिएको संकेत गरेको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार हत्या गरेपछि शवलाई बोरामा हालिएको र रतुवा पुलमाथिबाट खोलामा फालिएको देखिन्छ। घटनास्थलको प्रकृति, शव फेला परेको अवस्था तथा अन्य प्रमाणहरूले अपराध लुकाउने प्रयास भएको आशंका बलियो बनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोबाइल सम्पर्क विवरण, उनीहरूको पछिल्लो गतिविधि, भेटघाटको समयक्रम, घटनास्थल आसपासका प्रमाण तथा अन्य प्राविधिक पक्षहरूलाई आधार बनाएर अनुसन्धान तीव्र बनाइएको छ।
प्रहरी स्रोतका अनुसार घटनाको वास्तविकता नजिक पुगिसकिएको छ र केही दिनभित्रै विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ। यद्यपि हत्या कसरी गरियो, घटनाको वास्तविक कारण के थियो, शव रतुवा खोलासम्म कसरी पु¥याइयो तथा घटनामा अन्य व्यक्तिको समेत संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन।
यो घटनाले एकपटक फेरि युवा पुस्तामा बढ्दो लागुऔषध समस्या, अस्वस्थ सम्बन्ध र त्यसबाट उत्पन्न हुन सक्ने गम्भीर सामाजिक तथा आपराधिक परिणामबारे प्रश्न उठाएको छ। सुधार केन्द्रबाट नयाँ जीवनको सुरुवात गर्ने अपेक्षासहित बाहिरिएका युवकमाथि अहिले आफ्नै प्रेमीकाको हत्या गरेको आरोप लागेको छ।
रमाको परिवार भने छोरीका लागि न्यायको प्रतीक्षामा छ। अनुसन्धान पूरा भएसँगै घटनाको सम्पूर्ण सत्य बाहिर आउने अपेक्षा गरिएको छ। प्रहरीले पनि प्रमाणका आधारमा निष्कर्षमा पुग्ने तयारी गरिरहेको जनाएको छ।
