एक महिनादेखि बेपत्ता सशस्त्रका असई युवतीसहित सामुदायिक वनमा मृत भेटिए
काठमाडौँ– करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्। खोजीका क्रममा बुधबार बिहान विभत्स अवस्थामा उनिहरुको शव फेला परेको हो। एउटा रुखमा झुण्डिएका उनिहरुको शवको अधिकांश भाग कुहिएर जमिनमा खसेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
मृत भेटिनेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका सशस्त्र प्रहरी बलका असई शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी हुन। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुवै जनाको शव पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वनभित्र रहेको मौवाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। उनीहरू छुट्टाछुट्टै पासो प्रयोग गरी एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका डीएसपी रविन विष्टका अनुसार शव अत्यधिक सडेको अवस्थामा फेला परेकाले उनिहरुको मृत्यु लामो समयअघि भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीका अनुसार दुवै शवको टाउको बाहेक शरीरका अधिकांश भाग कुहिएर चुँडिँदै जमिनमा झरेको अवस्थामा थियो।
सामुदायिक वनका कर्मचारीहरू सल्लाको खोटो संकलनसम्बन्धी अनुगमनका लागि जंगल पुगेका बेला जंगलको बीचमा रहेको मौवाको रुखमा झुण्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक रूपमा शवको पहिचान गर्न कठिन भए पनि घटनास्थलबाट बरामद कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातका आधारमा पहिचान प्रक्रिया अघि बढाइएको थियो।
त्यसपछि परिवार र आफन्तसँग रुजु गर्दा मृतकहरू शक्ति राम र शर्मिला चौधरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ। शक्ति राम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए। उनी वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा निस्किएका थिए। तर त्यसपछि उनी कार्यालयमा फर्किएनन् र सम्पर्कविहीन बने।
यता शर्मिला चौधरी वैशाख १८ गते घरबाट काभ्रेपलाञ्चोक जाने भन्दै निस्किएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनी शक्ति रामलाई भेट्न जाने उद्देश्यले घरबाट हिँडेको खुलेको प्रहरीले जनाएको छ।
दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजी प्रक्रिया सुरु गरेका थिए। शक्ति रामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसैगरी शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दर्ता गराएका थिए।
एक महिनासम्म खोजी जारी रहे पनि उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको थिएन। अन्ततः खोजीको अन्त्य दुवै जनाको शव भेटिएसँगै भएको छ। घटनाले अहिले अनेक प्रश्न जन्माएको छ। दुवै जना कहिले वन क्षेत्रमा पुगे, त्यहाँ के भयो, मृत्युको वास्तविक कारण के हो र घटनामा अन्य कुनै पक्षको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीले घटनास्थलबाट प्राप्त प्रमाण, मोबाइल विवरण, पारिवारिक तथा व्यक्तिगत सम्बन्धका पक्ष र अन्य प्राविधिक प्रमाणहरूको अध्ययन गरिरहेको छ। पोष्टमार्टम प्रतिवेदनपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
हाल दुवै शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र निष्कर्षमा पुग्न थप समय लाग्ने जनाएको छ।
