‘एमालेको शिर म हुँ’ भन्ने ओलीलाई ‘बैगुनी केटा’को कटाक्षः वृद्धको कथा सुनाउँदै मुर्ख भएको प्रमाणित गर्ने प्रयास
काठमाडौँ– नेकपा एमालेभित्र यतिबेला केवल चुनावी पराजयको समीक्षा मात्र भइरहेको छैन, पार्टीको भविष्य, नेतृत्वको निरन्तरता र पुनर्गठनको दिशाबारे पनि तीव्र बहस चलिरहेको छ। यही बहसका बीच अध्यक्ष केपी शर्मा ओलीले आफुनै पार्टी शिर भएको र आफूलाई हटाउँदैमा एमाले बलियो नहुने दाबी गरेपछि पार्टीभित्रैबाट व्यंग्य, असन्तुष्टि र नेतृत्व परिवर्तनको आवाज थप मुखर बन्न थालेको छ।
यही प्रशंगमा एमाले सचिव योगेश भट्टराई (केही समय अघि ओलीले उनलाई ब्यंग्य गर्दै वैगुनी केटाको उपनाम दिएका थिए’ ले कडा कटाक्ष गरेका छन्। उनले सातौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा एक वरिष्ठ नेताले सुनाएको एउटा पुरानो कथा अहिले फेसवुकमा लेखेका छन्। कथामा एक वृद्ध बसमा चढ्छन्। बसमा खाली सिट हुँदाहुँदै पनि उनी बस्दैनन्। बरु बसभित्रको फलामे डन्डी समातेर उभिन्छन्। उबडखाबड बाटोमा बस दायाँ ढल्किँदा डन्डी बायाँ तान्छन्, बायाँ ढल्किँदा दायाँ तान्छन्। गन्तव्यमा पुगेपछि उनी यात्रुलाई भेला गरेर आफूले डन्डी तानेर बस पल्टिनबाट जोगाएकाले सबै यात्रु बचेको दाबी गर्छन्।
उनले नाम नलिए पनि ओलीलाई सोही वृद्धसँग तुलाना गर्दै ओली नहुँदैमा एमाले नसक्निे जिकिर गरेका छन्। चुनावी परिणामपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अध्यक्ष ओलीले आफूलाई हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै आफु नै एमाले मेरुदण्ड भएको दावी गरेका थिए। आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्पष्ट शब्दमा भने, ‘शिर काटेर टेबलमा राख्दैमा पार्टी बलियो हुँदैन।’
उनको भनाइमा एमालेमाथि बाह्य र आन्तरिक दुवै प्रकारका चुनौती छन् र यस्तो अवस्थामा नेतृत्व परिवर्तनको बहस उठाउनु उपयुक्त होइन। उनले देशमा भएका घटनाक्रमलाई स्मरण गर्दै सिंहदरबार जल्दासमेत राज्यका सबै संयन्त्रले रोक्न नसकेको प्रसंग उल्लेख गरे र त्यसका लागि एमालेलाई मात्र दोष दिन नहुने तर्क गरे।
तर पार्टीभित्र सबै नेताहरू ओलीको विश्लेषणसँग सहमत देखिँदैनन्। उपाध्यक्ष विष्णु पौडेलले चुनावी पराजयलाई सामान्य रूपमा लिन नहुने भन्दै पार्टीले आफ्ना कमजोरीको निर्मम समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। संगठन विभागले आयोजना गरेको कार्यक्रममा उनले स्पष्ट शब्दमा भनेका थिए, ‘हामीबाट गल्ती भएको छ, गल्ती नगरी धक्का खाइँदैन।’
पौडेलले विश्व कम्युनिष्ट आन्दोलनका उदाहरण प्रस्तुत गर्दै गलत निर्णयका कारण शक्तिशाली दलहरू समेत इतिहासमा कमजोर बनेको स्मरण गराएका थिए। भारतीय कम्युनिष्ट पार्टीको उदाहरण दिँदै उनले समयअनुकूल परिवर्तन र पुनर्गठन नगर्ने दलहरू क्रमशः कमजोर हुने चेतावनी दिए।
उनको निष्कर्ष छ— एमालेलाई पुनः जीवन्त बनाउन व्यापक पुनर्गठन अपरिहार्य छ। तर अध्यक्ष ओलीले भने समीक्षा र पुनर्गठनलाई फरक विषयका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार समीक्षा आत्मसमीक्षाका लागि हो, पार्टीलाई बिथोल्न वा सार्वजनिक रूपमा कमजोर देखाउन होइन।
यद्यपि, एमालेभित्र अहिले दुईवटा समानान्तर बहस चलिरहेका छन— पार्टी पुनर्गठन र नेतृत्वको विकल्प। अध्यक्ष ओलीले १५ जेठमा जारी गरेको ४६ पृष्ठ लामो अन्तरपार्टी निर्देशनमा पनि पार्टी पुनर्गठन र कार्यकर्तालाई पार्टी नछोड्न गरिएको आग्रहलाई विशेष महत्व दिएका थिए। राजनीतिक विश्लेषकहरूका अनुसार यस्ता विषयलाई प्राथमिकता दिनु आफैंमा पार्टीभित्र बढ्दो असन्तुष्टिको संकेत हो।
सचिवालय बैठकहरूमा समेत नेतृत्वको विकल्पबारे अनौपचारिक र औपचारिक दुवै तहमा छलफल भएको बताइन्छ। केही नेताहरूले ओलीपछिको नेतृत्वबारे बहस सुरु गर्नुपर्ने धारणा राखेका छन्। उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, योगेश भट्टराई र शेरधन राईलगायत नेताहरू विभिन्न कोणबाट परिवर्तनको आवश्यकता औंल्याइरहेका छन्।
महासचिव शंकर पोखरेलको भूमिका पनि एमालेभित्र चासोको विषय बनेको छ। सुरुमा नेतृत्वको विकल्प खोज्ने बहसमा देखिएका उनी पछिल्ला दिनमा विधिसम्मत प्रक्रियाबाट मात्र नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा उभिएका छन्। यसले ओलीलाई तत्कालीन दबाबबाट केही राहत दिएको विश्लेषण भइरहेको छ।
तर एमालेभित्रको अर्को रोचक चर्चा भने अझ फरक छ। ओलीनिकट केही नेताहरूका अनुसार अध्यक्ष स्वयं पनि सम्मानजनक बहिर्गमनको विकल्पबारे सोच्न थालेका छन्। विशेष महाधिवेशनको सम्भावना कमजोर देखिएपछि राजीनामा दिएर कार्यवाहक नेतृत्वको मोडेलमा जान सकिने विषय आन्तरिक रूपमा छलफलमा रहेको दाबी गरिन्छ।
यद्यपि सार्वजनिक रूपमा ओली अझै दृढ देखिन्छन्। उनले पार्टी अप्ठ्यारोमा परेको बेला आफू नेतृत्व छाडेर भाग्ने प्रवृत्तिको व्यक्ति नभएको बताउँदै आएका छन्। यही कारण अहिले एमालेभित्र दुई फरक धार देखिएका छन्। एउटा धार ओलीकै नेतृत्वमा पार्टीलाई पुनर्गठन गर्नुपर्ने पक्षमा छ भने अर्को धार नेतृत्व परिवर्तनबिनाको पुनर्गठन सम्भव नहुने निष्कर्षमा पुगेको देखिन्छ।
विद्यादेवी भण्डारी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे जस्ता नेताहरूको नाम सम्भावित वैकल्पिक नेतृत्वका रूपमा चर्चामा आइरहेका बेला विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालजस्ता प्रभावशाली नेताहरूको गतिविधि पनि विशेष रूपमा हेरिएको छ।
यसबीच एमालेभित्र घुमिरहेको त्यो पुरानो ‘बस र वृद्ध’को कथाले अहिले नयाँ अर्थ ग्रहण गरेको छ। प्रश्न केवल नेतृत्वको होइन, पार्टीको भविष्यको हो। एमालेभित्र उठिरहेको बहसको सार पनि यही हो— पार्टीलाई जोगाएको दाबी गर्ने नेतृत्वको निरन्तरता आवश्यक छ कि अब नयाँ पुस्ता र नयाँ शैलीलाई अवसर दिनुपर्छ ?
यसको उत्तर आगामी केन्द्रीय कमिटी बैठक, पुनर्गठन प्रक्रिया र नेतृत्व हस्तान्तरणबारे हुने निर्णयले दिनेछ। तर यति भने स्पष्ट देखिएको छ कि एमालेभित्र नेतृत्वको प्रश्न अब बन्द कोठाको विषय मात्र रहेन, खुला राजनीतिक बहसको केन्द्र बनिसकेको छ।

