सरकारले लखेटेका तेस्रो सुकुम्बासीको मृत्यु !
काठमाडौँ– राजधानीका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी अभियानका क्रममा विस्थापित भएका अर्का एक सुकुम्बासीको पनि मृत्यु भएको छ। शान्तिनगर–थापाथली क्षेत्रबाट हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका ३६ वर्षीय भेषराज दर्जीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो।
यससँगै बस्ती हटाइएपछि मृत्यु हुने सुकुम्बासीको संख्या तीन पुगेको छ। दर्जीको बिहीबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। फोक्सोसम्बन्धी दीर्घ रोगबाट पीडित दर्जीलाई स्वास्थ्य अवस्था जटिल बनेपछि जेठ १८ गते अस्पताल भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको परिवारले जनाएको छ।
मृतककी श्रीमती विमला सुनुवारका अनुसार दर्जी विगत आठ वर्षदेखि बिरामी थिए। आर्थिक अभावका कारण नियमित उपचार हुन नसकेको र बस्तीबाट हटाइएपछि स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उनले बताइन्। ‘उहाँ पहिलेदेखि नै बिरामी हुनुहुन्थ्यो। तर उपचार गर्न सक्ने अवस्था थिएन। होल्डिङ सेन्टरमा पुगेपछि झन् गाह्रो भयो। अन्ततः अस्पताल पु¥याइयो तर बचाउन सकिएन,’ उनले भनिन्।
नेपाल महिला एकता समाजकी अध्यक्ष बिना बुद्धाचार्यका अनुसार दर्जीको फोक्सोमा पानी जम्ने समस्या थियो। सुकुम्बासी बस्तीबाट हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएपछि बसोबास, मौसम र खानपानको वातावरण अनुकूल नभएका कारण स्वास्थ्य अवस्था थप बिग्रिएको उनको दाबी छ। ‘उहाँलाई पहिलेदेखि स्वास्थ्य समस्या थियो। यहाँ ल्याएपछि चिसो र असहज वातावरणले रोग झन् बढ्यो। अस्पताल लगिए पनि उपचारका क्रममा निधन भयो,’ बुद्धाचार्यले भनिन्।
वीर अस्पताल स्रोतका अनुसार दर्जीको बिहीबार दिउँसो करिब २ बजेर २६ मिनेटमा मृत्यु भएको हो। उनका दुई सन्तान छन्। परिवार अहिले आर्थिक तथा सामाजिक रूपमा गम्भीर संकटमा परेको छ। शव अस्पतालमै राखिएको छ भने काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूसँग समन्वयपछि अन्त्येष्टि प्रक्रिया अघि बढाइने जनाइएको छ।
भेषराज दर्जीको मृत्युले फेरि एकपटक सुकुम्बासी व्यवस्थापनको विषयलाई बहसको विषय बनाएको छ। अधिकारकर्मीहरूका अनुसार बस्ती हटाउने क्रममा वैकल्पिक व्यवस्थापन, स्वास्थ्य सुरक्षा र मानवीय पक्षलाई पर्याप्त ध्यान नदिँदा विस्थापित परिवारहरू थप जोखिममा परिरहेका छन्।
यसअघि पनि बस्ती हटाइएकामध्ये एक जनाले आत्महत्या गरेका थिए भने अर्का एक व्यक्तिको मृत्यु भएको थियो। अब भेषराज दर्जीको निधनसँगै विस्थापनपछि ज्यान गुमाउने सुकुम्बासीको संख्या तीन पुगेको छ।
सरकार र स्थानीय तहले सुकुम्बासी व्यवस्थापनलाई विकास र शहरी सौन्दर्यसँग जोडेर अघि बढाइरहेका बेला विस्थापित समुदाय भने आफूहरूलाई व्यवस्थित पुनस्र्थापना नगरी केवल हटाउने काम मात्र गरिएको गुनासो गर्दै आएका छन्।
